Comments Add Comment

देश टुक्रिन सक्ने खुमबहादुरको चेतावनी (भिडियोसहित)

Khum Bahadur Khadka (2)

२० असार, काठमाडौं । हिन्दु राष्ट्र स्थापनाको अभियान सञ्चालन गर्दै आएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले देश टुक्रिन सक्ने चेतावनी दिएका छन् । खड्काले आफूलाई मधेसवादी दलको समर्थनमा दह्रोसँग उभ्याएका छन् ।

संविधानको मस्यौदा हिन्दु धर्म र मधेस विरोधी भएको भन्दै खड्काले देशमा ठूलो द्वन्द्व हुने र देशै टुक्रिने भविष्यवाणी गरे ।

‘राष्ट्रपतिले संविधान नमाने के हुन्छ ?’

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी खड्काले मधेसी समुदायको पक्षमा आफूलाई उभ्याउने प्रयास समेत गरे । संविधानको मस्यौदा मधेस विरोधी भएको भन्दै उनले त्यसलाई सच्याउन माग गरे ।

सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानका संयोजक समेत रहेका खड्काले कांग्रेसका आफूनिकट केन्द्रीय सदस्य र सभासदहरुलाई राखेर पत्रकार सम्मेलन गरेका थिए ।

‘मधेसका दाजुभाइ दिदीबहिनीहरु सन्तुष्ट हुनुभएन भने ठूलो द्वन्द्व निम्तिन्छ, अहिले त्यो सम्भावना म झलझली देखिरहेको छु,’ पत्रकार सम्मेलनमा खड्काले भने ।

उनले सर्बोच्च अदालतले दिएको आदेश पालना गरी नामांकन र सिमांकनसहितको संविधान जारी गर्न सुझाव दिए ।

‘म कम्युनिष्टहरुको विषयमा केही भन्न चाहादैन । तर हामी कांग्रेसहरु, लोकतन्त्रमा विश्वास गर्नेहरु, कानुनको राज्य भन्नेहरुले नै सुपि्रम कोर्टको आदेशलाई मान्दैनौं भन्छौं भने कस्ता मान्छे हौं हामी ? कस्तो पार्टी हो हाम्रो कांग्रेस ?’ खड्काले प्रश्न गर्दै भने, ‘यदि संविधानसभाले पारित गरेको संविधानलाई राष्ट्रपतिले मान्नुभएन भने हुन्छ के भोली यो देशमा ?’

संघीयता मधेसवादी दलको आन्दोलनबाटै भए पनि अहिले मधेसलाई नै उपेक्षा गरिएको उनले बताए । अहिलेको संविधानको मस्यौदाले धार्मिक द्वन्द्व हुने, सत्ता कम्युनिष्टको हातमा जाने र भविष्यमा देश पनि नरहने उनले चेतावनी दिए ।

देश द्वन्द्वमा गए त्यसको जिम्मेवारी नेपाली कांग्रेसले लिनुपर्ने खड्काले चेतावनी दिए । उनले भने, ‘त्यसैले सबै दलका नेता, सभासद र विशेष गरी नेपाली कांग्रेसलाई भन्छु, समयमै सदबुद्धि आओस् ।’

संशोधन प्रस्ताव दर्ता गराउने

खुमबहादुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी कांग्रेस नेताहरु
खुमबहादुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी कांग्रेस नेताहरु

द्वन्द्वलाई रोक्न नयाँ संविधानमा राज्यको परिभाषामा ‘धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ राख्न उनले माग गरे । प्रधानमन्त्री सुशील कोइरालाले संविधानमा हिन्दु राष्ट्र राख्छु भनेर आफूलाई आश्वासन दिएको तर नराखेको खड्काले आरोप लगाए ।

त्यसैगरी बहुदलीय संसदीय शासन व्यवस्थालाई मस्यौदा संविधानको अपरिवर्तनीय धारणामा समावेश गर्न, प्रस्तावनामा बहुलवाद अनिवार्यरुपमा राख्न पनि खड्काले माग गरे ।

धारा ३१ (१) मा कुनै धर्मबाट अलग रहने स्वतन्त्रता हुनेछ’ भन्ने शब्दावली हटाउन उनले माग गरे ।

खड्काले नयाँ संविधानको मस्यौदामा सुझावसहितको विरोधपत्र सोमबार संविधानसभामा बुझाउने तयारी गरेका छन् । दिउँसो २ बजे माइतीघर मण्डलाबाट जुलुससहित नयाँबानेश्वरस्थित संविधानसभामा पुगेर विरोधपत्र बुझाउने कार्यक्रम छ । जुलुसमा सहभागीहरुले राष्ट्रिय झण्डा मात्रै बोक्ने खड्काले प्रष्ट्याए ।

पत्रकार सम्मेलनमा कांग्रेस नेताहरु लक्ष्मणप्रसाद घिमिरे, तारानाथ रानाभाट, शंकर भण्डारी, मोहन बस्नेत, पुष्पा भुसाल, शिवराज जोशी, काठमाडौंका पूर्वमेयर हरिबोल भट्टराई लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment