Comments Add Comment

निर्देशक बन्न अव चलचित्रमा स्नातक गर्नुपर्ने

header_direction4काठमाडौं । नेपाली चलचित्रमा गुणस्तर ल्याउने भन्दै चलचित्र विकास बोर्डले संसोधन सहितको नयाँ मापदण्ड ल्याएको छ । बोर्डको मापदण्डको विषयमा केही चलचित्रकर्मीले आपत्ति जनाएपछि सुरुका मापदण्डमा संसोधन गरेको हो ।

बोर्डले बनाएको नयाँ मापदण्ड अनुसार अब कुनै पनि नयाँ ब्यक्तिले चलचित्र निर्देशन गर्न चाहेमा चलचित्र विषयमा स्नातक उत्तिर्ण गरेको वा तीन फिचर फिल्ममा सहायक निर्देशक भएर काम गरेको प्रमाण पेश गर्नुपर्ने छ ।

त्यस्तै ५ वटा भिडियो निर्देशन गरेका र ५१ भागको सिरियल बनाएका ब्यक्ति पनि निर्देशनका लागि योग्य ठहरिने छन् । चलचित्रको कुनै विधामा १० वर्ष काम गरेको ब्यक्तिका हकमा यो नियम लागु हुने छैन । आम सर्वसाधारणले निर्माता बन्न चाहेमा कुनै एक चलचित्रमा सहायक निर्माता भएर काम गरेको प्रमाण पेश गर्नुपर्ने छ । तर, कर्पोरेट हाउसले सिधै निर्माण इजाजत पाउने छन् ।

चलचित्र प्रदर्शनलाई ब्यबस्थित बनाउने भन्दै आउदो मंसिर १ गतेदेखी ई-टिकेटको ब्यबस्था गर्ने जनाएको छ ।

बिकास बोर्डले जारी गरेको नयाँ नियम र मापदण्ड कार्यविधि यस्ते छ:

“चलचित्र निर्माता तथा निर्देशकका लागि मापदण्ड सम्बन्धी कार्यविधि, २०७२”

प्रस्तावनाः चलचित्रका बारेमा प्राप्त शिक्षा, ज्ञान, अनुभव, कार्यक्षमता र निरन्तररूपमा क्रियाशील रही प्राप्त गरेको विधागतरूपमा अभ्यस्त व्यक्तिहरूको संलग्नताबाट यसको गुणस्तर र व्यवसायिक स्तर माथि उठाउन मद्दत पुग्ने र चलचित्र क्षेत्रको विकासमा उपलब्धिमुलक कार्य गर्ने तथा विकास विस्तार र प्रवद्र्धनका लागि लक्षित उद्देश्य हाँसिल गर्न बोर्डले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ को नियम २६ बमोजिम यो कार्यविधि बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस कार्यविधिको नाम ‘चलचित्र निर्माता तथा निर्देशकका लागि मापदण्ड सम्बन्धी कार्यविधि २०७२’ रहेको छ ।

(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा, –

(क) ‘बोर्ड’ भन्नाले चलचित्र विकास बोर्ड सम्झनु पर्छ ।

(ख) ‘चलचित्र’ भन्नाले जुनसुकै प्रविधिमा बनेको चलायमान चित्र सम्झनु पर्छ ।

(ग) ‘नियमावली’ भन्नाले ‘चलचित्र (निर्माण,प्रदर्शन तथा वितरण) नियमावली, २०५७’ सम्झनु पर्छ । (घ) ‘नव प्रवेशी’ भन्नाले प्रचलित कानून बमोजिम कम्पनी, उद्योग वा संस्था दर्ता गरी पहिलो पटक चलचित्र क्षेत्रमा आवद्ध हुने र यस कार्यविधि बमोजिमको मापदण्ड पूरा भएको व्यक्ति वा संस्था सम्झनु पर्छ ।

(ङ) ‘निर्माता’ भन्नाले चलचित्र निर्माण गर्न इजाजत प्राप्त व्यक्ति वा संस्था सम्झनु पर्छ ।

(च) ‘निर्देशक’ भन्नाले चलचित्र निर्देशन गर्ने व्यक्ति सम्झनु पर्छ ।

(छ) ‘प्रदर्शक’ भन्नाले चलचित्र प्रदर्शन गर्न इजाजत प्राप्त व्यक्ति वा संस्था सम्झनु पर्छ ।

(ज) ‘वितरक’ भन्नाले चलचित्र वितरण गर्न इजाजत प्राप्त व्यक्ति वा संस्था सम्झनु पर्छ ।

(झ) ‘चलचित्रको विधा’ भन्नाले निर्माण, निर्देशन, प्रदर्शन, वितरण, प्राविधिक, द्वन्द्व, गीत, संगीत, गायन, लेखन, नृत्य, पत्रकारिता, कलाकारिता लगायतका चलचित्रका विधा सम्झनु पर्छ ।

३. उद्देश्य एवं लक्ष्य :  चलचित्र निर्माणको संख्यात्मक वृद्धि र प्रतिस्पर्धात्मक रूपमा चलचित्र प्रदर्शन गर्ने होडबाजीले गर्दा चलचित्रमा लगानी गर्ने निर्माता र प्रदर्शकको व्यवसाय सुरक्षित हुन नसकिरहेको स्थित विद्यमान छ । नव प्रवेशी चलचित्र निर्माता तथा निर्देशकहरू चलचित्र व्यवसायको यथार्थ वस्तुस्थिति, वास्तविकताको अध्ययन र विश्लेषण नगरी यस क्षेत्रमा लाग्ने र अरुको अनुशरण गर्ने एवं यथार्थ भन्दा फरक वस्तुस्थितिका बारेमा अनर्गल रूपमा प्रलोभनमा पारी चलचित्र निर्माण र निर्देशनमा संलग्न गर्ने, गराउने र प्राप्त हुन सक्ने प्रतिफलको यथार्थ विश्लेषण नगरी हचुवाका भरमा लगानी गर्ने परिपाटी रहेको छ । यस्ता किसिमको परिपाटीलाई निरुत्साहित गर्न र गुणस्तरीय चलचित्र निर्माण तथा सोही अनुरूपको प्रदर्शनीबाट लगानी सुरक्षित हुने वातावरण र यसको व्यवसायिक स्तर माथि उठाउन नव प्रवेशी चलचित्र निर्माता तथा निर्देशकका लागि न्यूनतम मापदण्डको आधारमा चलचित्र निर्माण र निर्देशन हुने भएबाट यसको गुणस्तरमा सुधार ल्याउन, लगानी सुरक्षित गर्न र व्यवसायिक स्तर माथि उठाउने वातावरण सिर्जना गर्ने उद्देश्य एवं लक्ष्य हाँसिल गर्न सकिन्छ । ४. नव प्रवेशी चलचित्र निर्माताका लागि न्यूनतम मापदण्डहरू :

पहिलो पटक चलचित्र निर्माणका लागि इजाजत लिने निर्माताका लागि देहायका मापदण्डहरू पूरा गरेको हुनुपर्नेछ : –

(क) पहिलो पटक चलचित्र निर्माण गर्न दर्ता भएको कम्पनी वा संस्थाले कम्तीमा एउटा चलचित्र निर्माण गरी जाँचपास (सेन्सर) गरेको अर्को कम्पनी वा संस्थासँग सह–निर्माण (बोर्डबाट संयुक्तरूपमा चलचित्र निर्माण इजाजत पत्र प्राप्त) गरेको हुनुपर्नेछ; वा बोर्डले तोकेको चलचित्र क्षेत्रको कुनै एक विधामा कम्तीमा १० (दश) वर्ष निरन्तर रूपमा क्रियाशील व्यक्ति;

(ख) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै चलचित्र निर्माताले पहिले नै कम्पनी वा संस्था दर्ता गरी सो संस्थाबाट चलचित्र निर्माण गर्ने इजाजत लिई चलचित्र जाँच पास गरेको रहेछ र त्यस्तो कम्पनी वा संस्था विविध कारणबाट बन्द भई निजले नयाँ कम्पनी वा संस्था दर्ता गरी बोर्डमा चलचित्र निर्माण इजाजत लिनका लागि त्यस्तो मापदण्ड आवश्यक पर्ने छैन ।

(ग) नव प्रवेशी निर्माताले चलचित्र निर्माण इजाजतपत्र हस्तान्तरण गरी लिन चाहेमा सो हस्तास्तरण गरी लिनु अघि चलचित्र परामर्श डेस्कमा अनिवार्य रूपमा सहभागी भई सो समितिको सिफारिस पश्चात मात्र बोर्डले इजाजत पत्र हस्तान्तरण गरिदिन सक्नेछ ।

(घ) खण्ड (ग) बमोजिम हस्तान्तरण गरिएको इजाजत पत्र बमोजिमका निर्मातालाई खण्ड (क) बमोजिमको मापदण्ड लागू हुनेछ ।

(ङ) चलचित्र निर्माण गर्नका लागि उमेरको हदबन्दी लाग्ने छैन ।

(च) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा जुनसुकै कुरा लेखिएको भएतापनि राष्ट्रिय स्तरमा सक्रिय कुनै औद्योगिक घरानाले चलचित्र निर्माण गर्न निर्माण इजाजतपत्र माग गरेमा बोर्डले आवश्यक छानबिन गरी उचित लागेमा निर्माण इजाजत पत्र दिन सक्नेछ ।

(छ) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा जुनसुकै कुरा लेखिएको भएतापनि चलचित्रको कुनै एक विधामा स्वीकृत प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तिर्ण गरेको व्यक्तिले चलचित्र निर्माण गर्न चाहेमा त्यस्तो मापदण्डहरु लागू हुने छैन । (ज) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा जुनसुकै कुरा लेखिएको भएतापनि कम्तीमा ३ (तीन) वटा भिडियो कथानक चलचित्र निर्माण गरी सो चलचित्र जाँचपास गरेको निर्माताको हकमा डिजिटल वा सेल्युलाईड कथानक चलचित्र निर्माण गर्न चाहेमा त्यस्तो मापदण्डहरु लागू हुने छैन ।

(झ) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै एउटा चलचित्र निर्देशन गरी सो चलचित्र जाँचपास गरिसकेको निर्देशकका हकमा कथानक चलचित्र निर्माण गर्न त्यस्तो मापदण्डहरु लागू हुनेछैन ।

५. नव प्रवेशी चलचित्र निर्देशकका लागि न्यूनतम मापदण्डहरू :

नव प्रवेशी चलचित्र निर्देशकका लागि न्यूनतम मापदण्डहरू देहाय बमोजिम हुनेछ –

(क) चलचित्र सम्बन्धी औपचारिक शिक्षा हासिल गरेको हुनुपर्ने, (स्वीकृत प्राप्त शिक्षण संस्थाबाट चलचित्र  सम्बन्धी मूल विषय लिई कम्तीमा स्नातक तह उत्तिर्ण गरेको (शैक्षिक प्रमाण पत्र आवश्यक); वा कम्तीमा ३ (तीन) वटा नेपाली चलचित्रमा मुख्य सहायक वा सहायक निर्देशकका रूपमा काम गरेको र ती चलचित्रमा नाम उल्लेख भई जाँचपास समेत भएको हुनुपर्ने; वा  कम्तीमा ५ (पाँच) वटा भिडियो चलचित्र वा डकुमेन्ट्री निर्देशन गरेको हुनुपर्ने र उक्त चलचित्रको बोर्डबाट चलचित्र निर्माण इजाजत पत्र लिएको र जाँच पास भएको हुनुपर्नेछ;

(ख) कम्तीमा १० (दश) वर्ष चलचित्र क्षेत्रको कुनै एक विधामा निरन्तर क्रियाशिल भएको व्यक्ति ।

(ग) कुनै विदेशी नागरिकले नेपाली चलचित्र निर्देशन गर्न चाहेमा समेत यस कार्यविधिको खण्ड (क) र (ख) मध्ये कुनै एक मापदण्ड पूरा गरेको हुनुपर्नेछ । (घ) कुनै व्यक्तिले नयाँ विश्व कीर्तिमान राख्ने उद्देश्यका लागि चलचित्र निर्देशन विधा छनोट गरी चलचित्र निर्देशन गर्न चाहन्छ भने त्यस्ता व्यक्तिसँग बोर्डबाट गठित चलचित्र परामर्श समितिले सोको वास्तविकता र यथार्थताका सम्बन्धमा अध्ययन, अनुसन्धान र मूल्याङ्कन सहितको सिफारिस बोर्ड समक्ष गरेपछि मात्र बोर्डबाट त्यस्ता व्यक्तिलाई चलचित्र निर्देशनका लागि अनुमति दिन सक्नेछ । (ङ) चलचित्र निर्देशन गर्नका लागि उमेरको हदबन्दी लाग्ने छैन ।

(च) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा जुनसुकै कुरा लेखिएको भएतापनि चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिई जाँचपास गरेको कुनै एउटा वृत्तचित्र वा लघुचलचित्र विदेश स्थित महोत्सव तथा अवार्ड कार्यक्रममा पुरस्कृत भएको रहेछ भने त्यस्तो वृत्तचित्र वा लघुचलचित्रका निर्देशकको हकमा कथानक चलचित्र निर्देशन गर्न त्यस्तो मापदण्डहरु लागू हुने छैन ।

(छ) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा जुनसुकै कुरा लेखिएको भएतापनि कम्तीमा ५ (पाँच) वटा टेलिचलचित्र वा कम्तीमा ५१ (एकाउन्न) श्रृंखलाको टेलिसिरियल निर्देशन गरेको निर्देशकले चलचित्र निर्देशन गर्न चाहेमा त्यस्तो मापदण्डहरु लागू हुने छैन ।

५ क. विशेष व्यवस्था ः दफा ४ र ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि आदिवासी, जनजाति तथा विभिन्न मातृभाषामा चलचित्र तथा भिडियो कथानक चलचित्र निर्माण र निर्देशन गर्नका लागि त्यस्तो मापदण्डहरु लागू हुने छैन ।

६. नव प्रवेशी चलचित्र निर्माता तथा निर्देशकका लागि आवश्यक कागजात र प्रमाण :

(क) निर्माताका लागि नेपाली नागरिकता प्राप्त गरेको व्यक्ति ।

(ख) चलचित्र निर्माण गर्नका लागि कम्पनी वा संस्था दर्ता गर्दाका बखत कम्पनीको शेयर सदस्य÷संचालक भएको प्रमाणित कागजात । जस्तैः कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा नाम उल्लेख भएको हुनुपर्ने; वा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता प्रमाण पत्रमा प्रोपाइटरको नाम उल्लेख भई फोटो टाँस गरेको हुनुपर्ने; वा प्रचलित कानून बमोजिम दर्ता हुने निकायबाट चलचित्र निर्माण सम्बन्धी उद्देश्य स्पष्ट रूपमा खुलेको र शेयर सदस्य भएको प्रमाण वा प्रोपाइटरको नाम उल्लेख भएको कागजात ।

(ग) नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गर्ने उमेर नपुगेका निर्देशकका हकमा नेपाल सरकारबाट जारी गरिएको नाबालिक वा अन्य प्रमाण खुल्ने कागजात ।

(घ) विदेशी निर्देशकका लागि सम्बन्धित देशबाट जारी गरिएको नागरिकताको प्रमाण पत्र वा राहदानी ।

(ङ) दफा ६ को खण्ड (ख) का अतिरिक्त नव प्रवेशी सम्बन्धमा सरोकारवाला संघ संस्थाबाट प्रमाणित कागजातलाई आधार मान्न सकिनेछ । जस्तैः निर्माता भए नेपाल चलचित्र निर्माता संघको सिफारिस, निर्देशक भए नेपाल चलचित्र निर्देशक समाजको सिफारिस र प्रदर्शक तथा वितरक भए नेपाल चलचित्र संघको सिफारिस । तर, विदेशी नागरिकको हकमा सम्बन्धित देशको चलचित्र सम्बन्धी आधिकारिक निकायबाट जारी प्रमाण खुल्ने कागजात ।

७. कागजात माग गर्न सक्ने :  नव प्रवेशी चलचित्र निर्माता तथा निर्देशकका लागि न्यूनतम मापदण्डहरूका सम्बन्धमा आवश्यक पर्ने प्रमाणित कागजातहरू सरोकारवाला संघ, संस्था र आधिकारिक निकायसँग माग गर्न सक्नेछ ।

८. उजुरी तथा गुनासो :  यस कार्यविधिमा उल्लेखित मापदण्ड लागू वा कार्यान्वयन गर्ने क्रममा कुनै उजुरी वा गुनासो प्राप्त हुन आएमा त्यसको सुनुवाई चलचित्र विकास बोर्डले गर्नेछ ।

९. उजुरी गुनासोको किनारा लगाउने :  यस कार्यविधिको दफा

(८) बमोजिम प्राप्त उजुरी तथा गुनासोहरूको किनारा बोर्डले लगाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment