Comments Add Comment

भरतपुर अस्पतालमा फार्मेसी सञ्चालनको तयारी तिव्र

१३ साउन, चितवन । चितवनको भरतपुर अस्पताल आफैले फार्मेसी सेवा सञ्चालन गर्ने तयारी तिव्र पारेको छ ।

Bharatpur-Hospital-Chitwan

सर्बोच्च अदालतले गत असार १३ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सहित अन्य सबै सरकारी अस्पतालहरुका नाममा आफैले फार्मेसी सन्चालन गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २९ गतेको मन्त्रीस्तरीय निर्णयले आफ्नै फार्मेसी सेवा सञ्चालन गराउन मुलुकका सबै अस्पतलालाई निर्देशन दिएको थियो ।

भरतपुर अस्पतालले अस्पताल परिसरमा रहेको फार्मेसी सञ्चालनको टेण्डर गरिसकेको थियो । तर, सर्वोच्च अदालत र मन्त्रालयको आदेशपछि टेण्डर प्रक्रिया स्थगित गरी आफैले फार्मेसी सञ्चालन गर्ने तयारी शुरु गरेको भरतपुर अस्पतालका अध्यक्ष विजय सुवेदीले जानकारी दिए ।

‘राज मेडिकलका नाममा सञ्चालित फार्मेसीसँगको सम्झौता असार मसान्तमा सकिएपछि नयाँ टेण्डर गरी बढाबढमा दिने तयारी गरेका थियौं तर एक्कासी मन्त्रालयको निर्देशन आएका आयो,’ भरतपुर अस्पतालका अध्यक्ष सुवेदीले भने, ‘फार्मेसी सञ्चालनका लागि आवश्यक प्रकृया अघि बढिसकेको छ ।’

यस्तो छ गृहकार्य

भरतपुर अस्पतालले अहिले सबै विभागहरुलाई अस्पतालमा अत्यधिक र निरन्तर प्रयोग हुने औषधिहरुको सूचि तयार गरी एक साता भित्र प्रशासनमा पेश गर्न निर्देशन दिइसकेको छ ।

अस्पतालले मेडिकल सुपरिटेण्डेण्ट डा. माणिकलाल मानन्धरको नेतृत्वमा फार्मेसी सञ्चालनका लागि एक समिति पनि गठन गरेको छ । समितिलाई फार्मेसी सञ्चालनको स्थानको तयारी गर्न, आवश्यक मेशिन तथा उपकरण र सफ्टवेयरको व्यवस्था मिलाउन, जनशक्तिको व्यवस्थापन गर्न, औषधीको सूचि तयार गरी बोलपत्र आह्वान गर्न र फार्मेसी सञ्चालन विनियमावली बनाइ प्रस्तुत गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै, हिरामान महर्जनलाई फार्मेसी सञ्चालनको फोकल ब्यक्तिको जिम्मेवारी दिइएको छ भने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीलाई अनुगमनको जिम्मेवारी प्रदान गरिएको अस्पताल बिकास समितिका अध्यक्ष सुवेदीले जानकारी दिए ।

सस्तोमा औषधि पाइने

अहिले तत्काल फार्मेसी बन्द हुदा बिरामीहरुलाई मर्का परेपनि अन्ततः अस्पताल आफैले फार्मेसी सञ्चालन गर्दा दीर्घकालमा राहत हुने सुवेदीले बताए । औषधिको खरिद मूल्यमा १० प्रतिशत मात्रै थप गरी बिक्री वितरण गरिने हुदा बिरामीहरुलाई राहात मिल्ने उनको दाबी छ । यसो हुँदा अन्य औषधि पसलहरु भन्दा सस्तो मूल्यमा अस्पताल परिसरको फार्मेसीबाट औषधि पाइने उनले बताए ।

फार्मेसीका लागि आवश्यक मानव संसाधन, सफ्टवेयर लगायतको माग मन्त्रालयसँग गरिएको छ । सार्वजनिक खरिद ऐन अनुरुप औषधी खरिद गरी फार्मेसी सञ्चालन गर्न कानुनी र नीतिगत समस्या आउने भएकाले यस बिषयमा खुकुलो नीति अख्तियार गर्न मन्त्रालयसँग आग्रह गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

सार्वजनिक खरिद ऐन र नियमावली ०६४ अन्तर्गत रहि औषधी तथा उपकरण खरिद गर्नुपर्ने भएकाले खरिद प्रकृया सम्पन्न गर्न कम्तीमा ४५ दिनको समय लाग्ने देखिएकाले पनि फार्मेसी सञ्चालनमा कानुनी र नीतिगत समस्या देखिएको अध्यक्ष सुवेदीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment