Comments Add Comment

विदेश होइन, स्वदेशमै व्यवसाय रोज्दै युवा

१४ साउन, तेह्रथुम । कृषि र पशुपालनको विकल्पका रुपमा घरेलु तथा साना उद्योगमा सर्वसाधारणको आकर्षण बढ्न थालेको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार जिल्लामा १ सय ७४ घरेलु र ३ सय ५० साना उद्योगहरु सञ्चालनमा छन् ।

ती उद्योगमा २ अर्ब १ करोड ८७ लाख २ हजार रुपैयाँ लगानी भएको कार्यालयका शिक्षक नरप्रसाद उप्रेतीले जानकारी दिए । जसमा ३ हजार ४ सय २४ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

आर्थिक वर्ष २०७१/०७२ मात्र ५८ वटा उद्योगहरु दर्ता भएका हुन् । यी उद्योगहरु मध्ये उत्पादन मुलक ८ वटा, कृषि तथा बन्ाजन्य २६ वटा, सेवा मुलक २० वटा र पर्यटनमुलक ४ वटा छन् ।

पछिल्लो पटक शिक्षित युवाहरु पनि वैदेशिक रोजगारीमा जानुभन्दा उद्योग-व्यापार तर्फ लाग्न थालेको कार्यालयका नासु विमललाल श्रेष्ठले बताउछन् । जिल्लाका ३२ वटै गाविसमा यातायातको सुविधा पुग्ने क्रम रहेकाले पनि व्यापार-व्यवसायमा युवाहरुको आकर्षण बढेको हो ।

जिल्लामा किराना पसल सबैभन्दा धेरै सञ्चालन एवं दर्ता भएका छन् । यस्तै फेन्सी पसल, भाडा पसल, कपडा पसल र आइरन स्टोरहरुको संख्या पनि बढ्दो रहेको कार्यालयले जनाएको छ । मुख्य बजारहरु म्याङ्गलुङ, वसन्तपुर, पोक्लाबाङ, शुक्रबारे र सक्रान्तिबजार क्षेत्रमा अत्यधिक संख्यामा व्यवसाय तथा पसलहरु सञ्चालनमा आएा छन् ।

घरेलु उद्योगतर्फ सिलाई कटाई, ढाका बुनाई, कुटानी पिसानी र होटलहरु पर्याप्त संख्यामा सञ्चालनमा आउन थालेका छन् । उप्रेतीका अनुसार यस्ता व्यवसायमा महिलाहरुको संलग्नता अत्यधिक छ । त्यसमा पनि ढाका वुनाई तथा सिलाई कटाई व्यवसाय महिलाहरुले घरमै सञ्चालन गरी उल्लेख्य कमाइ गर्दै आइरहेका छन् ।

घरेलु तथा साना उद्योग समितिको कार्यालयले जिल्लाका विभिन्न गाविसमा ढाका तथा सिलाई कटाई सम्बन्धि तािलमहरु सञ्चालन गरी सस्तो मूल्यमा मेसिन उपलब्ध गराएको उप्रेतीको भनाइ छ ।

खेतबारीमा काम गर्दा बढी परिश्रमका बाबजूद प्रतिफलको भर नहुने भएकाले सीप सिकेर घरमै व्यावसाय गर्न थालेको महिलाहरु बताउछन् । कार्यालयका अनुसार जिल्लाका तम्फुला, मोराहाङ, आम्बुङ, वसन्तपुर, पञ्चकन्या, सिम्ले, इसिवु, खाम्लालुङ्ग, थोक्लुङ र हृवाकु गाविसबाट घरेलु तथा साना उद्योग दर्ता बढी भइरहेको छ ।

एक वर्षमा ५८ उद्योग थपिए

आर्थिक वर्ष २०७१/०७२ भित्र जिल्लामा ५८ वटा घरेलु तथा साना उद्योग थपिएका छन् । घरेलु तथा साना उद्याग विकास समितिको कार्यालयका अनुसार उत्पादन मुलक ८ वटा, कृषि तथा बन्ा जन्य २६ वटा, सेवा मुलक २० वटा र पर्यटनमुलक ४ वटा उद्योगहरु दर्ता भएका हुन् ।

तीमध्ये पनि सबैभन्दा धेरै साना उद्योगहरु ४० वटा दर्ता भएको कार्यालयका शिक्षक नरप्रसाद उप्रेतीले जानकारी दिए । बाँकी १८ वटा घरेलु उद्योगहरु हुन् । नयाँ दर्ता भएका उद्योगहरु मध्ये सबैभन्दा धेरै सिलाई कटाई, ढाका बुनाई र राइसमिलहरु छन् । ती उद्योगहरुमा कुल ६ करोड ५१ लाख १८ हजार ६ सय ५१ रुपैयाँ बराबर लगानी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment