Comments Add Comment

हिन्दुराष्ट्र धर्मभिरुहरुको माग हो, निरपेक्ष नै हुनुपर्छ

महिलाको जस्तै लामो कपाल, ऋषिमुनिहरुको जस्तै लामो दाह्री, निधारमा तेसो चन्दन अनि गलामा तुलसीको माला लगाएका यी व्यक्तिलाई झट्ट हेर्दा धेरैलाई लाग्छ, उनी ठुलै सन्त माहात्मा हुन् । र, धेरैलाई लाग्न सक्छ, अहिले भइरहेको धर्मसम्बन्धी बसहमा यी माहात्माले पक्कै पनि धर्म सापेक्ष राज्यकै पक्षमा वकालत गर्लान् । तर, कुरो बेग्लै छ ।

न्युरोडस्थित संकटामन्दिर नजिकै सेर्माले खोलेको किरात ज्योतिषको कार्यालयमा पुग्दा मुन्धुमविद् एवं किरात ज्योतिष चन्द्रकुमार सेर्मा आफ्ना केही चेलासँग गफ गरिरहेका थिए । छेउमा किरात धर्मगुरु स्व. फाल्गुन्द र जीवित किरात धर्मगुरु आत्मानन्द लिङदेनको तस्वीर सजिएको थियो । कुराकानीका क्रममा उनले आफूहरुलाई कतिपय आदिवासी जनजातिले ‘हिन्दु’को आरोप लगाएकोमा गुनासो गरे । उनले भने- हामी हिन्दुकृत पनि होइन, हामी क्रिश्चियनकृत पनि होइन, वुद्धकृत पनि होइन, किरातहरु आफैंकृत हो । मुन्धुमकृत हो, फाल्नुनन्दकृत हो ।’

Chandra Kumar Sherma (4)

तपाई डाक्टर चन्द्रकुमार सेर्मा । के विषयमा डाक्टर गर्नुभएको ?
-किरात ज्योतिष एक अध्ययन ।

ज्योतिष पनि किरात र अकिरात भन्ने हुन्छ र ?
-यो त संज्ञामात्रै हो । तपाई अरुण भनेजस्तै हो । तपाई अरुण नदी त हैन नि ।

किन किरात ज्योतिष भनेको ? ज्योतिषमात्रै भनेको भए हुँदैनथ्यो ?
-ज्योतिषको उत्थान क्रममा किरात जातिहरुको मुन्धुम ज्योतिष लोप हुने अवस्थामा थियो । मभन्दा पूर्व रणध्वजले चार पाँचवटा कृतिहरु लेखेको बाहेक नेपाली साहित्यमा झण्डै झण्डै भानुभक्तभन्दा पनि मुनि नै थियो ।

महागुरु फाल्गुनन्दले ०२० सालदेखि उता ९०/१०० सालमा कर्‍याङ कुरुङ ज्योतिषको प्रारम्भिक आधारहरु तयार गरेका थिए । त्यसलाई शुन्य अवस्थामै भन्दा पनि हुन्छ । मैले पनि सुख सयल आनन्दमा बस्ने इच्छा गरेको थिएँ, एकदम परमानन्दमा बस्ने लक्षमा थिएँ । तर, मेरै गुरु आत्मानन्द लिङदेनले उहाँकै आश्रममा बोलाएर तिमी किरात विभूति हुन्छौ भने किरात ज्योतिषलाई उठाऊ भन्नुभयो । मेरा गुरु मलाई २१ वर्ष साधाना दिएर यो उचाइमा पुर्‍याउने सिद्ध पुरुष हुन् । मैले नो भन्न सकिँन । त्यसपछि मैले किरात ज्योतिष उत्थान संघ मैले चन्द्रगढीमा स्थापना गरें ।

त्यसपछि एउटा पञ्चाङ्ग पात्रो निकाल्न मलाई ८ वर्ष लाग्यो । ८ वर्षको अभ्यासमा ज्योतिष सिक्दासिक्दै आचार्य गरें, अनि पीएचडी भएँ ।

हिन्दुशास्त्रमा जस्तै किरातहरुको मुन्धुममा पनि ज्योतिषको कुरा छ ?
-मुन्धुममा पनि छ । मुन्धुममा ज्योतिषलाई खाइक् भन्छन् । गणित गरेर, बटारेर सोध गर्नुलाई मुन्धुममा खाइक् भन्छ ।

बाटामा बसेर हात हेर्ने ब्राह्मण ज्योतिष र तपाईमा के फरक छ ?
-त्यो पनि ज्योतिष हो । तर, फरक के हो भने तिनीहरु पेट पाल्नका लागि हुन् विचराहरु । हैसियत कम भएर हो ।

सामान्य पेट पाल्न सिकेपछि बस्नुपर्‍यो खाली ठाउँमा । पेटको समस्या हो त्यो । हस्तरेखाबाट पीएचडी गर्ने, ठूला ठूला गणित, ज्योतिषशास्त्र, फलित शास्त्र, सिद्धान्तशास्त्र जान्नेहरु त्यसरी बस्दैनन् । मैले त झन् पैसा त नतोकी बसेको छु ।

तर, काठमाडौंमा अफिस खोल्नुभएको रहेछ….
-यो पनि संगठनको मात्रै हो । किरात ज्योतिष हेरेर यति लिन्छु भनेर काहीँ देख्नुभएको छ ? अरु बाहुनहरुको जस्तो देख्नुभएको छ ? कान्तिपुरमा काहीँ देख्नुभएको छ ? जबकि मैले ज्योतिष अध्ययन गरेको ४० वर्षभयो, अहिलेसम्म सूचना आउट छैन । र, कसैलाई यति रुपैयाँ चाहिन्छ भनेर बोलेको छैन ।

चिना पनि हेर्नुहुन्छ ?
-ज्योतिष भनेको नै तीनवटा हो नि त । गणित ज्योतिष, जो गणतामात्रै हुन्छ, त्यो म्याथम्याटिक्स हो । फलित ज्योतिष, जसले रिजल्टहरु बताइरहन्छ । र, सिद्धान्त ज्योतिष, दर्शनशास्त्रहरुको अध्ययन गर्ने । यी तीनवटै विषयको ज्ञान अलि अलि नहुने त ज्योतिषै हुँदैन नि । एसएलसी गर्नेले अलिअलि अंग्रेजी, अलिअलि गणित, व्याकरण जान्दछ नि, त्यस्तै हो ।

तर, म पैसा र टाइम तोकेर बस्दिँन । म कस्तो त भन्दा सेवामूलक । म सेवाको हिसाबले ज्योतिष हेर्छु । पेवा र व्यवसायको हिसाबले होइन ।

फाल्गुनन्द पछाडिका स्वामी प्रपन्नाचार्य र त्यसपछिका किरात विद्वान चन्द्रकुमार सेर्मा हुन् भनेर बुझ्दा हुन्छ ?
-अहिलेसम्म चाँहि त्यसरी नै हो । प्रपन्नाचार्यको खाली सीटमा जाने मैमात्रै एउटा किराती हुँ । उनले वेदान्तबाट पीएचडी गरे, उनी मेरै जिल्लाबासी हुन् । मेराबारे उनी पनि बोलेर टुंग्याउँदैनन्, उनका बारे म पनि बोलेर टुंग्याउँदिन ।

यसमा किरात धर्मगुरु आत्मानन्द लिङदेनको स्थानचाँहि कहाँ त ?
-उहाँ भनेको त इलामको लारुम्बा । उहाँत सिद्ध पुरुष हो नि त । अलि उचाइ फरक पर्‍यो । उहाँसँग तुलना गर्न मिलेन ।

उहाँ अक्षर पढेको हैन, निरक्षर हो । ओढारमा बसेर सिद्ध प्राप्त गरेको । बुद्धजस्तो, कृष्ण भगवानजस्तो । नपढीकन सोझै परमेश्वरसँग ध्यान शक्तिबाट आत्माज्ञान पाएर त्रिकालदर्शी उहाँबाट वाणी हुन्छ, हामीबाट प्रवचन हुन्छ ।

किरात धर्ममा मुन्धुमभित्र पनि दुईवटा सम्प्रदाय छन् हैन ? एउटा सम्प्रदायले मासुसमेत खाँदैन, अर्कोले रक्सी नभई देउता खुशी हुँदैनन् भन्छ, यसको कारण के हो ?
-यसलाई यसरी बुझौं न, मानव सभ्यताको विकासक्रममा हामी सबै वनचर अवस्थामा थियौं । त्यो बेला ज्ञान, धर्म जन्मिएकै थिएन । हामी वन जंगलमा बस्थ्यौं । शिकार मारेर खान्थ्यौं । त्यही चढाउँथ्यो । त्यसलाई वनमार्गी भनिन्छ ।

त्यस्तो हिन्दुमा पनि छ, किरातमा पनि छ । हिन्दुमा पनि मासु खाने पनि छन्, नखाने पनि छन् । क्रिश्चियनमा पनि खाने पनि छन्, नखाने पनि छन् । बुद्धमा पनि त्यस्तै छन् । त्यस्तै किरातमा पनि खाने पनि छौं, नखाने पनि छौं ।

तर, किन किरातमा यसको चर्चा भयो भने हिजो फाल्गुनन्दको उदयपूर्व जम्मै त्यही खाने सनातनीमा व्याप्त थियो ।

राँगा, सुँगुर, कुखुरा, बोका, परेवा आदिले हाम्रो इष्ट देवको पूजा गरिन्थ्यो । त्यसलाई पञ्चबली भन्थ्यौं । पञ्चबली मैले पनि गरेको हो । तर, महागुरु फाल्गुनन्दले यो अमुक्तिको बाटो हो है भन्नुभयो । योबाट तिमीहरुको राज विद्या पनि शुन्य हुन्छ, देऊ विद्या पनि कोल्याप्स हुन्छ भन्नुभयो । यो चाँहि दानवी, राक्षसी संस्कार हो भन्नुभयो । यो कुकर्म, कुलत र कुसंस्कारलाई छाड भन्नुभयो । सात्विकी बाटोबाट गयौ भने तिमीहरु विद्वान हुन्छौं भन्नुभयो ।

तर, तपाईहरुलाई हिन्दुकरण भएको भन्ने आरोप छ नि ?
-फाल्गुनन्दले भन्नुभएको यो परम्परा हिन्दुसँग ठ्याक्कै मिल्न गएकाले हामीलाई हिन्दुकृत भन्न थालियो । वास्तवमा यो अज्ञानतावस भनिएको हो । हामी हिन्दुकृत पनि होइन, हामी क्रिश्चियनकृत पनि होइन, वुद्धकृत पनि होइन, किरातहरु आफैंकृत हो । मुन्धुमकृत हो, फाल्नुनन्दकृत हो ।

अब राजनीतिको कुरा गरौं, संघीयतासँगै पूर्वी नेपालमा लिम्बुहरुले लिम्बुवान चाहियो भन्दैछन्, यसमा तपाई के भन्नुहुन्छ ?
-लिम्बुवानको मात्रै होइन, हाम्रो सिद्धान्त के छ भने भोकालाई भोजन देऊ, नांगालाई पोशाक देऊ, प्यासीलाई जल देऊ ।

कुनै पनि सार्वभौम नेपाली नागरिकले आफूले इच्छाएको ध्येय के हो, त्यो राज्यले दिनुपर्छ । त्यो दिएन भने विवाद सुरु हुन्छ । अहिले विवाद भएको छ, अब त्यसलाई सम्वादद्वारा निराकरण गर्नुपर्छ ।

लिम्बुवान भूमिको नाम हो । नेपाल पनि भूमिको नाम हैन ? भूमिको ऐतिहासिक पृष्ठभूमिलाई राज्यले स्वीकार गर्नुपर्छ । जाति भनेको याक्थुङबा हो, लिम्बुवान भनेको ठाउँको नाम हो । थाक्थुङबा प्रान्त माग्यो भने त्यो जातीय हुन्छ, लिम्बुवान भन्दा जातीय हुँदैन ।

उसोभए लिम्बुवान प्रदेश चाहिन्छ भन्ने तपाईको मत रहेछ हैन ?
-लिम्बुवान दिँदा मलाई आपत पर्नेजस्तो लाग्दैन । मेरो आफ्नै मान्यता छ, मलाई त बरालवान दिए पनि हुन्छ, कोइरालावान दिए पनि हुन्छ । तर, त्यहाँ मुन्थुम विश्वविद्यालय चाहियो । अंग्रेजी र संस्कृतलाई जलाएर होइन, सबैलाई समान व्यवहार गरेर मुन्धुम विश्व विद्यालय हुनुपर्छ । प्रान्तको नाममा अरुणपूर्व बरालवान दिए पनि म मञ्जुर छु । त्यो एउटा पहिचान, संज्ञामात्रै हो । म संज्ञामा अल्मलिँदिन, तर नेताहरु संज्ञामा अल्मलिएका छन् ।

नेपालमा धर्म निरपेक्ष भन्नुपर्छ र भन्नु हुँदैन भन्ने विवाद भइरहेको छ । हिन्दुराष्ट्रको पनि माग भइरहेको छ, यसमा तपाई के भन्नुहुन्छ ?
-यो अन्धभक्त धर्मभिरुहरुको माग हो । धर्मसापेक्ष कि निरपेक्ष भन्नेबारे मेरो एउटा ग्रन्थ नै आउँदैछ । धर्म निरपेक्ष भनेको १८१७-१९०६ मा इङ्लैण्डका जर्ज जेबोहकले ल्याएका हुन् । रोमन क्याथोलिकले आफ्नो छाँयामा राख्न खोज्दा धर्मलाई राज्यबाट निरपेक्ष राख्नुपर्छ भन्ने आवाज उठेको हो । धर्म सापेक्ष र धार्मिक स्वतन्त्रता भनेको मेरो अधीनमा मात्रै तिमीहरुले अरु धर्म चलाउन पाउँछौ भनेको हो ।

निरपेक्ष भनेको कुनै पनि धर्म साक्षी बस्नुपर्दैन, कुनै पनि राज्य साक्षी बस्नुपर्दैन भन्ने हो । यो निरपेक्षवादमा मात्रै अट्छ ।

भनेपछि संविधानबाट धर्म निरपेक्षता हटाउनु हुँदैन ?
-यो राजनीतिजसरी ७ वर्षमा टुंगिनेवाला छैन । यो चाँहि ख्याल गर्नु होला । यसमा मेरो सुझाव के छ भने संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दा, राजा खेद्दा धर्म निरपेक्ष भनियो, अहिले सापेक्ष कि निरपेक्ष भनेर राज्यलाई द्वन्द्व फसाउन पाइँदैन । अन्तरिम संविधानले भनेजस्तो धर्म निरपेक्ष नै हुनुपर्छ ।

अन्तरिम संविधानको प्रस्तावनामा लेखिएको धर्म निरपेक्षलाई तल पेटबोलीमा राख्न पाइँदैन, प्रस्तावनामै धर्म निरपेक्ष लेखिनुपर्छ । अहिले जसरी धर्म निरपेक्ष कि सापेक्ष भनेर विवाद निकालिएको छ, यो दुर्भाग्य हो ।

तपाई ज्योतिषी मान्छे, देशको भविश्य कस्तो देखिरहनुभएको छ ?
-मैले नेपाल आमाको अवस्था त्यति राम्रो हुने देखिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment