Comments Add Comment

‘प्रधानमन्त्रीज्यूको मनोबलले रोगलाई जितिरहेको छ’

त्रिवि शिक्षण अस्पतालकी नेफ्रोलोजी विभाग प्रमुख डा. दिव्या सिंह शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक पनि हुन् । उनले विगत सात वर्षदेखि ओलीको स्वास्थ्य हेर्दै आएकी छन् ।

उनी डा. गोविन्द केसीसँग पनि निकट छिन् । केसी बारम्बार अनसन बस्दा सहजकर्ताको भूमिका पनि खेलिन् । पछिल्लो अनसनमा भने उनले खासै सक्रियता देखाइनन् । केसीले विना सहमति एकतर्फी रुपमा अनसन तोडेका थिए । उनै डा. शाहसित प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र डा. केसीको अनसनका विषयमा केन्द्रित रहेर अनलाइनखबरकर्मी ऋचा अर्यालले गरेको कुराकानी:

प्रधानमन्त्री अस्पताल भर्ना हुनुभयो भन्ने खबर बेलाबेलामा आउने गर्छ । कहिले सीसीयूमै राखिएको कुरा आउँछ । खासमा उहाँको स्वास्थ्य अवस्था कस्तो छ ?

सबैलाई थाहा छ कि प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति हुनुहुन्छ । मिर्गौलाको प्रत्यारोपण गरिएका व्यक्तिको स्वास्थ्यमा समस्या नआउँदा पनि नियमित स्वास्थ्य परिक्षण गराउनु पर्छ ।

अन्य व्यक्तिले ६ महिनामा एकपटक स्वास्थ्य परीक्षण गराउनु उचित मानिन्छ भने प्रधानमन्त्रीले प्रत्येक तीन महिनामा स्वास्थ्य परीक्षण गराउनु पर्छ । तर कार्यव्यस्तताका कारण उहाँको समय मिलिरहेको हुँदैन । पछिल्ल्लोपटक चाहिँ होल बडी चेकअपका लागि उहाँ दिनभर अस्पतालमा बस्नु भएको हो ।

नियमित स्वास्थ्य परीक्षणका लागि पहिले प्रधानमन्त्री दिल्ली, बैंकक जानुहुन्थ्यो । अहिले नेपालमै उपचार गर्नुको कारण ?

उहाँँको होल बडी चेकअप गर्नुपर्ने थियो तर, त्यसमध्ये मुटुसम्बन्धी एउटा परीक्षण नेपालमा हुँदैनथ्यो । कारण त्यसको मेसिन नेपालमा थिएन ।

प्रधानमन्त्री भइसकेपछि कार्य व्यस्तताका कारण समय मिल्दैन भनेर पहिल्यै स्वास्थ्य परीक्षणका लागि बैंकक जानु भएको हो ।

रोग त एउटा कुरा भयो, उहाँको मनोबलबारे के भन्नुहुन्छ ?

अँ… उहाँको मनोबललाई त मान्नै पर्छ । उहाँको बलियो पक्ष भनेकै उच्च मनोबल हो । त्यसैले त, आज देशको प्रधानमन्त्री हुनु भएको छ । किनकी सानोतिनो कुुराले उहाँ विचलित हुनु हुन्न । त्यो नै उहाँको सबल पक्ष हो ।

उहाँ पूर्वाग्रह नराखी सबैसित कुरा गर्न सक्नुहुन्छ । आफूलाई सधै अपडेट राख्नुहुन्छ ।

तर, पछिल्लो अनसनका क्रममा डा. गोविन्द केसीले प्रधानमन्त्रीलाई औषधीको साइड इफेक्ट्सका कारण निर्णय क्षमता प्रभावित भएको अभिव्यक्ति दिनुभयो । तपाईं स्वय प्रधानमन्त्रीको चिकित्सक भएको नाताले के भन्नुहुन्छ ?

यो कुराले प्रधानमन्त्रीलाई त खासै फरक परेन । तर देशको नागरिक र मानवताको हिसाबले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ भन्ने मान्यता राख्छु ।

म डा. केसीको अभियानको पक्षधर हुँ । उहाँको विचारको पक्षधर हुँ । उहाँ जुन कुराका लागि लडिरहनु भएको छ, म त्यसको पक्षधर हुँ । तर, त्यसो भन्दैमा उहाँले गरेका गलत कामलाई पनि सही भन्न सकिदैन । त्यसलाई मैले गलत नै भनेँ ।

जहाँसम्म औषधीको असरको कुरा छ, प्रधानमन्त्रीले के औषधी खाइरहनु भएको छ भन्ने डा. केसीलाई थाहा पनि छैन होला । किनकी मिर्गौला प्रत्यारोपण भनेको एउटा जटिल उपचार विधि हो । यो उपचार विधि साधारण चिकित्सक तथा साधारण नेफ्रोलोजिस्टले गर्न सक्दैन । यसमा धेरै ज्ञान र अनुभवको आवश्यकता पर्छ ।

फेरि हामी चिकित्सक भनेका एक प्रकारका वैज्ञानिक हौं । हामीले कुनै पनि कुरा अन्दाजको भरमा भन्न मिल्दैन । हामीले बोलेका हरेक कुरा तथ्यमा आधारित हुनुपर्छ । अनुमानको भरमा एउटा चिकित्सकले बोल्न मिल्दैन । त्यही कुरा प्रत्यारोपण विशेषज्ञले बोलेको भए अर्कै हुन्थ्यो । उपचारका क्रममा औषधी खाएकै कारण धेरै विरामीको दिमाग खराब भएको पाइएको भए अर्कै कुरा हुन्थ्यो ।

त्यो पनि अहिलेको जमानामा बोल्न पाइँदैन । त्यसको लागि पनि विस्तृत अनुसन्धान गरेर, खाएका व्यक्ति र नखाएका व्यक्तिबीच तुलना गरेर मात्र बोल्न मिल्छ । त्यतिकै बोल्न मिल्दैन । यो कुरा उहाँ (डा. केसी)ले बोल्नुभयो वा भएन थाहा भएन । तर विज्ञप्ती आयो । त्यसको मैले खण्डन पनि गर्नुपर्‍यो  ।

मार्टिन लुथर किंगले भनेका छन्, ‘जो व्यक्ति नैतिक संकटमा पनि जाती बनेर बस्छ, उनीहरु नै बढी दोषी हुन्छन् ।’ यसमा पनि त्यही कुरा लागू हुन्छ ।

तपाईंलाई व्यक्तिगत रुपमा कत्तिको चित्त दुख्यो ?

यो उहाँले भन्न नहुने कुरा थियो । यति राम्रो अभियानमा लागेको मान्छेले कसैको बारेमा पनि नराम्रो कुरा बोल्नु हुँदैन भनेर मैले उहाँलाई पहिले पनि भनेको थिएँ । तर, आखिर, उहाँ पनि मान्छे नै हो । मान्छे भएपछि कमी–कमजोरी हुन्छ ।

उसो भए प्रधानमन्त्री केपी शर्मा ओलीप्रति डा. केसीले बढि नै नकारात्मक हुनुहुन्छ ?

प्रधानमन्त्रीको हकमा मात्र होइन, सबै नेताहरुप्रति उहाँको भावना उस्तै हो जस्तो लाग्छ । कांग्रेस सभापति शेरबहादु देउवा प्रधानमन्त्री हुँदा पनि उहाँले विरोध नै गर्नु भएको हो ।

उहाँको भाव, सबै नेता भ्रष्टाचारी हुन्छन्, बदमास हुन्छन्, बोलेका कुरा पूरा गर्दैनन् भन्ने नै हो ।

डा. केसीको मागलाई लिएर चाहिँ तपाईले प्रधानमन्त्रीलाई कस्तो सुझाव दिनुहुन्छ ?

प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर मैले उहाँलाई सुझाव दिनसक्छु । अरु विषयमा सुझाव दिने मेरो विशेषज्ञता हैन । म पहिलेदेखि त्यसैमा लागेको भए योग्य व्यक्ति हुन सक्थेँ । मलाई अनुभव नभएको कारण म सुझाव दिन सही व्यक्ति होइन ।

तर, गोविन्द केसीको हकमा सही कुरालाई मैले सही पनि भनेँ । अनसनका क्रममा केसीको स्वास्थ्य एकदम गिरेपछि मैले नै पहल गरेर प्रधानमन्त्रीलाई राति दश बजे समय लिएर कुरा गरेको थिएँ । त्यसपछि राति करिब तीन बजेसम्म काम गरेका थियौं ।

अनशन तोडाउन पहल गर्नभयो ?

यस पटक मात्र होइन, मैले धेरै पटक अनशन तोडाउन सहजकर्ताको भूमिका निर्वाह गरेको छु । उहाँ प्रधानमन्त्री नहुँदा र एमाले तथा कांग्रेसको सरकार हुँदा पनि मैले डा. केसीको तर्फबाट सहजकर्ताको भूमिका निर्वाह गरेकी हुँ ।

तर, १६ औं अनसन त वार्ताविनै तोडियो । यसमा तपाईको पहल नदेखिनुको कारण प्रधानमन्त्रीको स्वास्थ्यबारे डा. केसीले उठाएको प्रश्न कारण कि डा. केसीको मागहरुमा राजनीतिक एजेण्डा थपिएका कारण थियो ?

त्यस्तो केही हैन । म त मध्यस्तकर्ता नै होइन । पहल पहिले पनि गरेकी हुँ, यसपटक पनि गरेको हुँ ।

तर प्रधानमन्त्रीले यसपाली प्रत्यक्ष रुपमा हस्तक्षेप गर्न चाहनु भएन । उहाँलाई डा. केसीको कुराले चित्त दुखेको थियो ।

तपाईंको नजरमा चाहिँ प्रधानमन्त्री डा. केसीले भनेजस्तै खराब नै हुन् ?

त्यस्तो त मलाई थाहा भएन । जहाँसम्म मलाई थाहा छ, डा. केसीले पनि उहाँलाई प्रत्यक्ष भेटेर कुरा गर्नु भएको छैन । उहाँले पनि बीचको मान्छेले जे भन्यो त्यही पत्याउनु हुन्छ । उहाँ समक्ष पुग्ने व्यक्ति प्रधानमन्त्रीका विरोधीहरु भएका कारण उनीहरुले डा. केसीलाई उक्साउने गरेको हुनसक्छ ।

प्रधानमन्त्री ओली र डा. केसीलाई तुलना गर्नुपर्‍यो भने ?

व्यक्तिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली मात्र होइन, डा. गोविन्द केसी पनि एकदम राम्रो मान्छे हुन् । त्यसमा कुनै दुविधा छैन । उहाँको व्यक्तिगत र भित्री स्वार्थ छैन । उहाँले जे मनमा आयो त्यही बोल्नुहुन्छ, त्यो अर्को कुरा हो तर, उद्देश्य खराब छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment