+
+

किन वर्षेनी जलमग्न हुँदैछ झापा ?

नदीसँग जुहारी नखेलौं, आफ्नो ठाउँमा बग्न दिऔं

गौरव पोखरेल गौरव पोखरेल
२०७२ साउन ११ गते १३:०९

Jhapa-Duban

शनिबार दिउँसो झापाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, प्रहरी प्रमुख, नेपाल रेडक्रस सोसाइटीका सभापति लगायतको टोली बाढीले पारेको प्रभावबारे बुझ्न ‘फिल्ड’ भिजिटमा निस्किएको थियो ।

सरकारी अधिकारीहरुको टोली अन्दुवा खोलाको किनार हुँदै केही माथिसम्म पुग्यो । त्यहाँ एउटा ट्रयाक्टरले ढुङ्गा उठाइरहेको थियो । त्यो देखेर टोलीमा रहेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल जङ्गिए । उनले तत्कालै आफूसँगै रहेका प्रहरी प्रमुख उपरीक्षक शैलेश थापा क्षेत्रीलाई यसबारे सोधे ।

यसरी गिटी, बालुवा, ढुङ्गा झिकिरहेको अवस्थामा नियन्त्रण गर्न आउँदा प्रहरीमाथि उल्टै आक्रमणको प्रयास हुने गरेको अनुभव एसपीले सिडिओलाई सुनाए ।

जिल्ला विकास समितिले ढुङ्गा, गिटी, बालुवा झिक्न ठेक्का लाउँछ । तर, अहिले नदीहरुबाट ढुङ्गा, गिटी झिक्न प्रतिबन्ध लगाइएको छ । तैपनि क्रसर उद्योगीहरुले मनपरि रुपमा ढुङ्गा, गिटी, बालुवा झिक्ने गरेका छन् । बाढी आइरहेको छ, तर नदीमा दोहन रोकिएको छैन ।

प्रायः सबै गाविस प्रभावित

घरभित्र नदी पसेपछि गरामनी-३ को सुकुम्बासी टोलमा एक युवक रातभरि आँपको रुखमा चढेर बाँचे । झापाका विभिन्न गाउँहरु यसैगरी वर्षेनी जलमग्न हुने गरेका छन् । यो वर्ष पनि बाढीको प्रकोप दोहोरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका बेला आफ्नो निर्वाचन क्षेत्रअन्तरगत पर्ने रतुवा खोलालाई पाता फर्काउने (तटबन्ध गर्ने) बताएका थिए । तर, यहाँका जिल्लास्तरका नेता कार्यकर्ता हुन्, या राष्ट्रिय राजनीतिको मूलधारमा देखिएका झापाली नेताहरु नै किन नहुन्, उनीहरु वर्षेनी आफ्नो जिल्लामा आइपर्ने यो समस्याको स्थायी एवं दीर्घकालीन समाधान गर्ने उपाय खोज्नतिर कत्ति पनि तल्लीन नभएको देखिन्छ ।

झापाका प्रमुख नदीहरु कनकाई, विरिङ, रतुवा, हँडिया, निन्दा, मेची, देउनिया, कमल र सतासी लगायत हुन् । बर्खाको समयमा ती नदीहरुमा पानीको बहाव बढ्छ र मानव वस्तीमा नदी पस्छ । जनधनको क्षति हुन्छ । कनकाई नदीले शिवसताक्षी र कनकाई नगरपालिकासहित अन्य ६ गाविसलाई प्रभावित बनाउने गरेको छ ।

त्यस्तै, मेची, हँडिया, हर्चना, घाग्रा र देउनियाँ नदीसहित झिल्मिलिया पैनीमा पानीको बहाव बढ्दा भद्रपुर, केचना, चकचकी, गरामनी लगायतको क्षेत्र डुबानमा पर्ने गरेको छ ।

रतुवा खोलाले दमक, लखनपुर, गौरादह, खजुरगाछी लगायतका क्षेत्रलाई प्रभावित पार्ने गरेको छ । हँडिया र निन्दा खोलाले मेचीनगर, बाहुनडाँगी, ज्यामिरगढी, बुधबारे लगायतका क्षेत्रलाई प्रभावित बनाउने गरेको छ । त्यस्तै कमल खोलाले तोपगाछी, धरमपुर, पाँचगाछी, महाभारालगायतका क्षेत्रलाई प्रभावित पार्ने गरेको छ ।

नदीहरुको प्रभावक्षेत्र हेर्दाखेरि प्रायः कुनै पनि नगरपालिका र गाविसहरु बाढीको चपेटाबाट मुक्त छैनन् ।

नदी गाउँमा किन पस्छ ?

झापामा अहिले अधिकांश क्षेत्रमा अनियन्त्रित रुपमा प्लटिङ भइरहेको छ । जहाँ पायो त्यहीँ प्लटिङ गरिएका छन् । यतिसम्मकि खोलाको किनारलाई समेत बाँकी राखिएको छैन । अधिकांश क्षेत्रमा प्लटिङका कारण पानीको निकास बन्द छ ।

Gaurav-Pokharel
गौरव पोखरेल

झापा भएर बग्ने अधिकांश नदीहरु इलाम जिल्लाको चुरे र महाभारतबाट आएका छन् । त्यहाँका ढुङ्गा, गिटी र बालुवाहरु झापामा आइपुगेपछि थुप्रिन थाल्छन् । तर, यसको उचित व्यवस्थापन हुँदैन । फलतः गाउँको खेतीयोग्य जमिनको सतहभन्दा खोलाको उचाई धेरै हुन थाल्छ र नदी गाउँतिर बाटो लाग्छ ।

झापामा नदी नियन्त्रणका लागि काम हुँदै नभएको पनि होइन । नदी नियन्त्रण, प्रकोप व्यवस्थापन र जनताको तटबन्धन लगायतको क्षेत्रमा विभिन्न एनजीओ र आइएनजीओहरुले समेत काम गरिरहेका छन् । नेताहरुले भोट माग्दा तटबन्धनलाई मुख्य नारा बनाउँछन् ।

तर, त्यस्ता सम्पूर्ण कामहरु आ-आफ्नै हिसाबले भएका छन् । एउटा संस्थाले पूर्वमा नदी रोकथामका लागि बाँध लगाउँछ, त्यसपछि नदी पश्चिम किनारमा गएर ठोक्किन्छ । त्यस्तै, अर्कोले पश्चिममा बाँध लगाउँछ, त्यो पूर्वतिर गएर ठोक्किन्छ ।

यी कामहरु एकीकृतरुपमा सहकार्य गरेर गरिएका छैनन् । सबैलेे आफ्नै हिसाबले गरिरहेका छन्, एकीकृत एवं योजनावद्ध रुपमा काम भएको छैन । यो काम एकीकृत रुपमा नहुनु पनि नदी नियन्त्रणका लागि ठूलो समस्या बनेको देखिन्छ ।

नदी नियन्त्रणसँग सम्बन्धित कामहरु गर्दा सरकारी निकाय एवम् सम्पूर्ण संघ संस्थाहरुले एकीकृतरुपमा काम गर्नुपर्ने नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाका सभापति लोकराज ढकाल बताउँछन् । एकीकृतरुपमा काम नगरिएकै कारण खोला मानव वस्तीतिर पस्छ ।

अझै पनि मानिसहरुमा चेतनाको अभाव छ । खोला अतिक्रमण भइरहेको छ । खोलाको किनारमै घरहरु ठड्याइन्छन् । बिर्तामोडमा रहेको अन्दुवा खोलाको डिलमा लस्करै घरहरु छन् । आजभोलि ती घरहरु प्रायः डुबानमा छन् । खेती पनि नदीको छेउमै लगाइन्छ । एक दुई दिन अविरल वर्षा हुनेवित्तिकै त्यहाँ भूक्षय हुन थाल्छ र धानबाली बाली सखाप हुन्छ ।

स्थानीय स्तरबाट नदीको किनारमा बोटविरुवा रोप्न सकिन्छ । योसँगै त्यस क्षेत्रमा बुट्यानहरु रोप्न सकिन्छ । घाँसहरु लगाउन सकिन्छ । खोलाको नजिकमा रहेको वस्तीका सर्वसाधारणले खोलाको किनारमा गाईवस्तु चराउने गरेका छन् । त्यहाँको बुट्यानहरु खुवाइदिन्छन् । भर्खरै उम्रिँदै गरेका घाँसका मुनाहरु पनि सखाप पारिदिन्छन् । यसले गर्दा घाँस र बुट्यानहरु मासिन्छन् र खोलालाई गाउँ पस्न सजिलो हुन्छ ।

हामी नदीमै घर बनाउँछौैं । किनारमै बस्छौं । अनि, किन खोलाले हामीलाई विस्थापित बनाउँदैन त ? त्यसैले खोलाको आसपासमा वस्ती नबसाएकै राम्रो । मानिसहरुलाई खोलाको छेउमा घर बनाएपछि बर्खाको समयमा घर डुबानमा पर्छ भन्ने थाहा छ । तर, पनि किन मानिसहरु अटेर गर्छन् ? किन प्रकृतिसँग जुहारी खेल्न खोज्छन् ? किन खोलाकै किनारमा घर बनाउँछन् ? यसरी मानिसहरु आफैं विनाश निम्त्याइरहेका छन् ।

समाधान कसरी गर्ने ?

वर्षेनी मानववस्तीमा नदी पस्दा जनजीवन अस्तव्यस्त हुने गरेको छ । जनधनको ठूलो क्षति हुने गरेको छ । यसको नियन्त्रका लागि स्थानीयस्तरबाट चाहिँ के गर्न सकिन्छ त ?

सरकारी निकाय, स्थानीय संघसंस्था, एनजिओ एवम् आइएनजिओहरुले पनि नदी नियन्त्रणका लागि काम गर्दा एकीकृत रुपमा गर्नुपर्छ ।

योजना आयोगको योजना बेग्लै हुन्छ । जनताको तटबन्धनबाट योजना बनाइँदा वेग्लै योजना बन्छ । जिविसले अलग्गै योजना बनाउँछ । अरु निकायबाट योजना बन्दा समेत वेग्लावेग्लैै गरी योजना बन्छन् । यो तरिकाले स्थायी समाधान हुँदैन र त्यसले समस्या निम्त्याइरहेको पानीविज्ञहरु बताउँछन् । सबैले काम गर्दा एकीकृत रुपमा योजनाहरु बनाउन जरुरी छ । यदि एकीकृत र योजनाबद्ध रुपमा नदी नियन्त्रणका लागि सबैले मिलेर काम गर्न सक्ने हो भने नदीलाई क्रमशः नियन्त्रण गर्दै लान सकिन्छ ।

सरकारले चुरे क्षेत्रलाई संरक्षण गर्ने भनेर ल्याएको राष्ट्रपति चुरे संरक्षण योजना कागजमै सीमित भएको सम्बन्धित बताउँछन् । यसको पनि कार्यान्वयन हुनुपर्‍यो । जिल्ला वन कार्यालयले नदीको किनारमा वृक्षारोपण गर्नु पर्‍यो ।

स्थानीय स्तरबाट अतिक्रमण र अव्यवस्थित चरन रोक्नुपर्‍यो । खेती गर्दा नदीको लगभग ५ सय मिटर पर गर्दार् राम्रो हुने विज्ञहरुको भनाइ छ । त्यो ५ सय मिटरभित्र पनि मौसमी तरकारीहरु लगाउन सकिन्छ । जिल्ला कृषि विकास कार्यालयबाट यसका लागि परामर्श लिन पनि सकिन्छ ।

अनियन्त्रित एवम् अवैज्ञानिक प्लटिङ्ग या भनौं भू-उपयोग भइरहेको छ । अब योसँग सम्बन्धित राष्ट्रिय नीति सरकारले ल्याउनुपर्‍यो । र, त्यसको प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकियो भने नदी नियन्त्रण सम्भव छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?