Comments Add Comment

पुस्तक वार्ता : गर्भवती हुँदैमा मिस्टिकाले बच्चा जन्माउने के ग्यारेन्टी ?

लेखक कुमार नगरकोटी नयाँ पुस्तक लिएर पाठकमाझ हाजिर छन् । ‘मिस्टिका’ यो उनको पाँच वर्षमा पाचौं कृति एवं पहिलो उपन्यास हो ।
असाधारण लेखनशैलीका नगरकोटी नेपाली साहित्यको जंगलमा छिटोछिटो हाँगा फैलाइरहेका छन् । यसअघि उनका दुई कथासंग्रह मोक्षान्तः काठमाडौं फिबर र फोसिल, लेखहरुको संगालो अक्षरगञ्ज र नाटक कोमाः अ पोलिटिकल सेक्स प्रकाशित छन् ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा मिस्टिकाको विमोचन गरिएको थियो । बुक्स हिलले प्रकाशित गरेको ४ सय आठ पेजको पुस्तकको मूल्य चार सय ९० रुपैयाँ तोकिएको छ । पुस्तकका बारेमा नगरकोटीसित गरिएको संक्षिप्त संवाद :

मिस्टिकाको अर्थ के हो ?
केही पनि होइन । किताबभित्रकी पात्रको नाम मात्र हो । अंग्रेजी शब्द मिस्टिक (गूप्त) मा आकार थपेर मिस्टिका राखिदिएको हुँ ।

पात्रको नाम त नेपाली नै राखेको भए पनि फरक पर्दैनथ्यो होला नि ?
अंग्रेजीभन्दा पनि यो ‘अनयुजल’ नाम हो । म यस्तै नाम राख्न रुचाउँछु । यो किताबमा अरु नामहरु पनि बिचित्रका छन् । जस्तै, दिवंगत बुढाथोकी, देहान्त कायस्त, साष्टाङ्ग शास्त्री, कलब्रेक गोदार ।

कभरमा किताबको नाम सानो र आफ्नो नाम ठूलो राख्नुको कारण ?

यो विदेशी स्टाइल कपी गरेको हुँ । लेखक बुद्धिसागरले मलाई यस्तो डिजाइनका लागि सुझाव दिएका थिए । मलाई पनि एकचोटी यस्तै प्रयोग गरौं न त भन्ने लाग्यो । विदेशमा भने यो स्टाइल पुरानै हो ।

किताबको विषयवस्तु के हो त ?
कल्पना गर्नुस, काठमाडौंमा पूरा कुहिरो लागेको छ । त्यो कुहिरोभित्र के-के रहस्यमय चिज हुन सक्छन् ? यसरी रहस्य खोतल्दै जाँदा विभिन्न चरित्रहरु जन्मिछन् । प्लटहरु निस्किन्छन् ।

मिस्टिका भन्ने केटी यो किताबकी मुख्य पात्र हो । उसले सिनेमामा मुख्य हिरोइन भएर खेल्दैछे । कुहिरोले गर्दा उसको सुटिङ रोकिएको छ ।

ऊ गर्भवती हुँदैछे । तर, गर्भवती हुँदा बच्चै जन्माउँछिन् भन्ने के ग्यारेन्टी छ ?
यसमा अर्को समानान्तर कथा छ, जहाँ स्वप्नील भ्यालीको कुरा आउँछ । त्यहाँ आकाशमा बच्चाहरु उडिरहेका हुन्छन् । बाँदरहरु नशिलो चिज खाएर देवदारको रुखमा परिणत हुन्छन् ।

कति समय लाग्यो किताब लेख्न ?
नौ महिनाअघि लेख्न सुरु गरेको हुँ । भुईंचालोले गर्दा अलिकति ढिला भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment