+
+

अखण्ड रुकुमको माग गर्दै मुसीकोटमा नाकाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ७ गते १७:५९

Rukum-Aandolan-final

७ भदौ, रुकुम । प्रदेशको सीमांकन गर्दा रुकुमलाई टुक्राइएको विरोधमा १६ औं दिनदेखि आन्दोलनरत रुकुमेलीहरुले सदरमुकामलाई नाकाबन्दी गरेका छन् । गाउँलेहरुले तरकारी र दूध सदरमुकाममा पठाउन बन्द गरेका छन् ।

सदरमुकाममा काउलेचौर, सादनचौर, मास्मी, सोलावाङ लगायतका स्थानबाट तरकारी र दूध आपूर्ति हुने गर्छ । गाउँलेहरुले सदरमुकाम मुसीकोट खलंगामा अहिले तरकारी र दूध अभाव भएको छ ।

निषेधाज्ञा कायमै

रुकुमको पश्चिमी भागलाई ६ नम्बर प्रदेशमा र पूर्वी भागलाई ५ नम्बर प्रदेशमा राखिएपछि रुकुमेली जनताले आन्दोलन चर्काउँदै लगेका छन् ।

एकीकृत रुकुम संघर्ष समिति गठन गरी आन्दोलनरत रुकुमेलीले सिंगो रुकुमलाई ५ नम्बर प्रदेशमा राख्न माग गरेका छन् । आन्दोलन चर्काउँदै लगेपछि स्थानीय प्रशासनले आइतबारदेखि जारी गरेको निषेधाज्ञा सोमबार पनि कायमै छ । मुसीकोट, सोलाबाङ, झुलनेटा, सिम्रतु, छिन्केत लगायतका बजार बन्द छन् । शिक्षण संस्था, उद्योग, यातायात पनि ठप्प छन् ।

अखण्ड रुकुममा दुई मत

अखण्ड रुकुमको विषयलाई लिएर रुकुमेली जनता बिभाजित भएका छन् । सदरमुकाम मुसीकोटका जनता अखण्ड रुकुमलाई ५ नम्बर प्रदेशमा राख्नुपर्ने पक्षमा छन् । तर, प्रमुख व्यापारिक केन्द्र चौरजहारीका केही जनता भने अखण्ड रुकुमलाई ६ नम्बर प्रदेशमा राख्नुपर्ने पक्षमा छन् । त्यसको नेतृत्व शिव आचार्यले गरेका छन् ।

आचार्य नेतृत्वको टोली सिंगो रुकुमलाई ६ नम्बर प्रदेशमा राख्न माग गर्दै काठमाडौंसम्म पुगेको स्थानीय बताउँछन् । तर, स्थानीय कांग्रेस नेता प्रेम ओली भने आचार्यको विपक्षमा छन् । यद्यपी चौरजहारीमा सदरमुकाम मुसीकोट खलंगा जस्तो बन्द हड्ताल र आन्दोलन भने भएको छैन ।

जनार्दन शर्माप्रति स्थानीयको आक्रोश

चौरजहारीमा एमाओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’को दबावका कारण स्थानीय जनता पाँच नम्बर प्रदेशको पक्षमा उभिन नसकेको बताइएको छ । प्रभाकरले कतिपय पत्रकारहरुलाई सदरमुकाममा जारी एकीकृत रुकुमको पक्षको आन्दोलनको समाचार नलेख्न समेत दबाव दिएको स्थानीयको गुनासो छ ।

प्रभाकरले भने ५ नम्बरको प्रदेशको सीमांकन बुटवल केन्द्र बनाउने गरी आएकाले रुकुमेली जनताले विद्रोह गरेर ६ नम्बर प्रदेशमा रहन खोजेको दाबी गर्दै आएका छन् ।

सरकारलाई ७२ घण्टे अल्टिमेटम

एकीकृत रुकुम संघर्ष समितिले रुकुमलाई अखण्ड राख्न माग गर्दै सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । आफ्ना माग सुनुवाइ नभए काठमाडौं केन्दि्रत आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ ।

रुकुमका सभासद एवं एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नो व्यक्तिगत स्वार्थका लागि जिल्लालाई २ टुक्रा पार्दा पनि अरु नेताहरु चुप लागेको भन्दै रुकुमेलीहरु आक्रोशित भएका छन् ।

नागरिक समाजका अगुवा डा. नवराज गौतमले रुकुम टुक्र्याएर निहित स्वार्थ पूरा हुने सपना नदेख्न आग्रह गरे । नागरिक समाजका अर्का अगुवा जीवन खड्काले रुकुमलाई प्रदेश नम्बर ५ मा कायम गराएरै छोडिने दावी गरे । रुकुमेली जनताको माग अनुसार रुकुम एक हुनुपर्ने उनको भनाइ छ ।

कांग्रेस, एमाले, एमाओवादी, नागरिक समाज, उद्योगी व्यवसायी मिलेर आन्दोलन गर्दै आएका छन् ।  यसअघि सिंगो रुकुमलाई पाँच नम्बर प्रदेशमा समावेश गर्न माग गर्दै रुकुम जिल्लाका नागरिकहरुको हस्ताक्षर संकलन गरी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाएका उनीहरुले अब चौबिसै घण्टा सडकमा बसेर आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?