+
+

परदेशीकी श्रीमती भन्छिन्: छोराले बा भनेर सोध्दा मन भक्कानिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ११ गते १९:१३

११ भदौ, कावासोती । दुई जीउको शरीर भएकी श्रीमती र काखे छोरा अनि बूढाबूढी भएका बाबुआमालाई छोडेर विदेश हिँडेका कोल्हुवा–४ का बोधबहादुर महतो छ वर्ष बित्दा पनि घर फर्केका छैनन् ।

 सुरुमा मेलेसियामा तीन वर्ष बसेर आएका उनी धेरै पैसा कमाउने भन्दै कुवेत पसे । कुवेत जाने चाँजोपाँचो मिलाउने काम गाउँकै तीर्थ गौतमले गरेको बुबा होमबहादुर महतोले बताए । “तर अहिले छोरा कहाँ छ के गरेको छ अत्तोपत्तो छैन”उनले भने ।

“काखमा हुर्कदै गरेको जेठो छोराले समेत राम्ररी बाबालाई चिन्न पाएन । यो सानो छोराले त झन देख्न पनि पाएको छैन” बोधबहादुरकी श्रीमती मञ्जु महतोले भनिन्–“यिनीहरुले हाम्रा बा खोई भन्दा मन छचल्किन्छ, बाहिर देखाउन सकिँदैन । परदेशीदाको सुरुको हप्ता त फोन आउँथ्यो अहिले त्यो पनि बन्द भो ।”

“अहिले यी दुई सन्तान हुर्काउन र सासूससुरा स्याहार्न धौधौ परेको छ । सानासाना चिचिला छन्, उनीहरुलाई पढाइलेखाइ गराउनसमेत पैसाको अभाव परेको छ” मञ्जुले गुनासो गरिन् ।

मलेसिया हुँदा हप्ताहप्तामा फोन हुने गरेको र पैसा पठाउने गरेका थिए । तर, कुवेत गएको एक महिनापछि फोन नै आएन । “कुवेत गएको दुई वर्षपछि बोधबहादुर फोन गरेर घर आउछु, ३० हजार पठाइ दिनु भनेर ५८ वर्षका बुबा होमबहादुर महतोलाई आग्रह गर्नुभयो” उनले भने, “बमोजिमको पैसा पनि घरबाट पठाएँ तर, पैसा पठाएको त छोराको फोन पनि आउन छोड्यो ।”

सुरुमा फोन हुँदा छोराले आउँछुआउँछु भन्दै भाका सारेको तर, अहिले फोन नै गर्न छाडको होमबहादुरले बताए ।

घर छिमेकका युवा धमाधम विदेश जाने लहर चलेको थियो त्यतिबेला । राम्रो कमाइ हुन्छ भन्दै घरबाट विदेश जाने सल्लाह गरेका उनलाई आमा गीता कुमारीले जुन देशमा राम्रो कमाइ छ त्यहाँ गए भइहाल्यो नि भनेर भनेकी थिइन ।

तर, आज छोरो नआउँदा उहाँलाई पछुतो लागेको छ । “छोरा नभएपछि बुहारी पनि खुसी देखिँदैन । भगवान्लाई पनि भाकल (प्रार्थना ) गरे तर छोरो आएको छैन, रोएर हिँड्न भएन हासे पागल भन्छन्” होमबहादुरले छोरा घर नआएकोमा दुःख व्यक्त गरे ।

उनको परिवारले अहिले एउटा मात्र अपेक्षा गरेका छन् पैसा नपठाए पनि उनी घर आएर बसे हुन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?