विजय थापा
वाशिंगटन डिसी । गैरआवासीय नेपाली संघको आगामी अक्टोबरमा काठमाडौँमा हुने विश्व सम्मेलनमा सन् २०१५-२०१७ को अन्तराष्ट्रिय कार्य समितिको लागि अफ्रिका क्षेत्रीय संयोजक हिक्मत थापाले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् |
एनआरएनए नाइजेरियाका संस्थापक अध्यक्ष थापा यसअघि दुई कार्यकाल अफ्रिकाको क्षेत्रीय संयोजक रहिसकेका छन् ।
अफ्रिका महादेशमा एनआरएनएको बिस्तारमा थापाले महत्वपूर्ण भूमिका खेलेका छन् ।
थापा एनआरएनएका विभिन्न समिति, उपसमिति र कल्याणकारी परियोजनाहरुमा समेत सदस्य रहि सक्रिय योगदान दिई रहेका छन् |
बिषेशतः अफ्रिकी मुलुकहरुमा दुःख पाएका नेपालीहरुको उद्धार कार्य र अफ्रिकाबाट नेपालमा कल्याणकारी र मानवीय सहयोग संयोजन गरी पठाउनमा थापाको योगदान रहेको छ । सन् २००७ देखि एनआरएनए अभियानमा थापा सक्रिय छन् ।
थापाले एनआरएनएलाई बैदेशिक रोजगारमा रहेका नेपालीहरुका समस्यामाथि बढी केन्द्रित र उनीहरुको सहभागिता बढाउने तर्फ सहज गर्न पहल गर्ने, नेपालमा बैदेशिक लगानी भित्र्याउन एनआरएनएलार्इ संस्थागत सहजीकरण केन्द्रको रुपमा बिकसित गर्नेतर्फ आफ्नो प्रयास रहने बताए ।
पुर्खौली घर सुदुरपश्चिम अछामका थापा टीकापुरका निवासी हुन् । धरान हात्तिसारबाट खाद्य प्रबिधिमा (बिटेक) गरेका थापा ९ बर्षदेखि अफ्रिकाको सबै भन्दा ठूलो ब्यबसाय तथा उद्योग डनगोटे समूहका महाप्रबन्धक छन् l