+
+

बिराटनगर र इटहरीमा गच्छदारको शक्ति प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २१ गते १८:४३

Bijay-Gachhadar
२१ भदौ, बिराटनगर । प्रमुख तीन दलसँग असन्तुष्ट रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सोमबार बिराटनगरमा शक्ति देखाएका छन् । सुनसरीको इटहरीमा उनले सभालाई सम्बोधन गर्दै आन्दोलनको थालनी घोषणासमेत गरेका छन् ।

इटहरीमा आयोजित सभालाई सम्बोधन गर्न बिराटनगर विमानस्थलमा ओर्लिएका गच्छदारलाई कार्यकर्ताहरुले शक्ति प्रर्दशनसहित स्वागत गरेका छन् ।

मधेस बन्दका बावजुद सैयौंको संख्यामा मोटरसाइकलमा बिमानस्थल पुगेका कार्यकर्ताले गच्छदारलाई फूलमाला लगाएर नाराबाजी गर्दै विमानस्थलदेखि महेन्द्र चोकसम्म पुर्‍याएका थिए ।

Bijay-Gachhadar-Rally

नाराबाजीका क्रममा गच्छदारका समर्थकले मधेसी-जनजाति-मुस्लिम एक हौं भन्ने नारा लगाएका थिए । उनीहरुले सामान्य रुपमा खुलेका पसलहरुसमेत समेत बन्द गर्न लगाएका थिए ।

मंगलबार संविधानसभामा असहमति दर्ता गर्ने

विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गच्छदारले मंगलबार बस्ने संविधानसभा बैठकमा आफ्नो असहमति दर्ज गर्ने बताएका छन् ।

दलहरुवीच अधिकतम सहमति गरेर भए पनि संविधान सभावाटै मुलुकलाई संविधान दिनुपने उनले बताए । उनले भने- ‘हामी नेपाली जनताको सपना साकार हुने बिन्दु नजिकिँदैछ, यसका लागि प्रमुख दलहरुले फेरि राजनीतिक सहमति गर्न आवश्यक छ ।’

अबको केही दिनमा मुलुकले नयाँ संविधान पाउने बताउँदै उनले संविधानमा सबै नेपाली जनताको भावना समेटिन असम्भव भए पनि अधिकतम नेपाली जनताको भावना समेटेर संविधान जारी हुने उनले स्पष्ट पारे ।

तर,संविधान जारी गर्नपूर्व प्रमुख दलले आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरेर राजनीतक सहमति गर्नु आवश्यक रहेकोमा गच्छदारको जोड थियो ।

मधेसी, आदिवासी, जनजाति, थारुलगायतको माग सम्बोधन नगरी संविधान जारी गरिए मुलुक मुठभेडतर्फ जाने गच्छदारले चेतावनी दिएका छन् । आफू अझै पनि आन्दोलनरत सबै पक्षलाई समेटेर संविधान जारी गर्नुपर्छ भन्ने पक्षमै रहेको उल्लेख गर्दै उनले भने-‘अहिलेकै अवस्थामा संविधान जारी गरिए लागू हुन सक्दैन ।’

पूर्व मेचीदेखि महाकालीसम्मका जनताले उठाएका माग सम्बोधन गरिनुपर्छ,” उनले भने, “अहिलेको आवश्यकता पनि त्यही नै हो, यसका लागि राजनीतिक सहमति आवश्यक छ ।”

यदि सहमति नगरी ठूला दल अगाडि बढे मुलुकलाई गृहयुद्धमा जान कसैले रोक्न नसक्ने उनको कथन थियो । उनले थपे, “यदि मुलुक मुठभेड र गृहयुद्धतर्फ गयो भने त्यसको सम्पूर्ण जिम्मेवारी तीन दलका शीर्ष नेताले लिनुपर्छ ।”

‘नेपाली कांग्रेस, एमाले र एमाओवादीलाई एकै ठाउँमा मैले नै उभ्याएको हुँ,’ गच्छदारले भने, ‘भोलिदेखि बस्ने संविधानसभा बैठकमा मेरो पार्टीको असहमति दर्ज गराउँछु, त्यहाँबाट पनि सम्बोधन हुन नसके संविधान निर्माणका सबै प्रक्रियाबाट अलग हुन्छु ।’

सात प्रदेशको सीमांकनमा असहमति राख्दै आएका गच्छदारले आन्दोलनरत सबै दल र समूहको माग सम्बोधन गार्न ८ प्रदेश बनाउनुपर्नेमा जोड दिए ।

गच्छदारले प्रमुख तीन दल पेलेरै अगाडि बढ्न खोज्दा अहिलेको अवस्था सिर्जना भएको दाबी गरे । ‘सत्ता गम्भीर नहुँदा र बन्द हड्ताल लम्बिँदै जाँदा जनताले सास्ती पाइरहेका छन्,’ उनले भने, ‘तत्काल मुलुकलाई निकास दिन आन्दोलनरत पक्षसँग वार्ता गरेर सहमति खोजिनुपर्छ ।’

यदि तीन दलले अहिलेको अवस्थालाई सम्वोधन नगरी पेलेर लगेमा विजयकुमार गच्छदारलाई धोका नभई सम्पूर्ण नेपाली जनतालाई धोका हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?