+

मलद्वारमा हुने सबै समस्या पायल्स हो ?

२०८१ जेठ  ६ गते १३:५७ २०८१ जेठ ६ गते १३:५७
मलद्वारमा हुने सबै समस्या पायल्स हो ?

पायल्स मलद्वारमा हुने समस्यामध्ये एक हो । मुख्यतया मलद्वार वरपर अर्थात मलद्वारको भित्री वा बाहिर नसाहरु फुल्ने वा सुन्निएको अवस्थालाई पायल्स भनिन्छ ।

पाचन प्रणालीमा समस्या आउँदा पायल्स हुने सम्भावना हुन्छ । मुखबाट खानेकुरा खाएपछि खाने नली हुँदै पेट, सानो आन्द्रा, ठूलो आन्द्रादेखि मलद्वारसम्म पुग्ने प्रकियामा प्यानक्रियाज र कलेजोको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसले खानेकुरा खाएपछि शरीरलाई चाहिने पोषक तत्व लिन्छ र नचाहिने कुराहरु बाहिर निस्किन्छ ।

पाचन प्रणाली कमजोर वा गडबडी भएमा र ठूलो आन्द्राले राम्ररी काम नगर्दा पायल्स हुन्छ । पायल्सको जोखिम बालबालिका, वयस्क, वृद्धवृद्धालाई  सबैलाई उत्तिकै हुन्छ ।

पायल्सका लक्षण

सामान्यतया दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने लक्षण देखापर्छ । पायल्स भित्री र बाहिरी गरी दुई प्रकारका हुन्छन् । मलद्वारको बाहिरको नसा फुल्नुलाई बाहिरी पायल्स भनिन्छ भने भित्री पायल्समा भने चार चरण हुने गर्छ ।

पहिलो चरणमा दिसामा रगत देखिन्छ । दोस्रो चरणमा दिसा गर्दा मलद्वारबाट बाहिर निस्किने र भित्र पस्ने हुन्छ । तेस्रो चरणमा पायल्स मलद्वारबाट बाहिर निस्कन्छ आफैंभित्र पस्दैन, औंलाले धकेलेर भित्र पसाउनुपर्ने हुन्छ । चौथो अवस्थालाई पोल्याप्स स्टेज पनि भनिन्छ । जुन अवस्थामा मानिसले दिसा गरेर उठेर औंलाले धकेलर भित्र पसाउँदा पनि नपस्ने बाहिर नै निस्किरहने हुन्छ । कहिलेकाहीं पायल्स फुटेर रगत बग्ने गर्छ ।

पायल्स हुनुको प्रमुख कारण कब्जियत हो । जंकफुड खाने बानी, मैदाजन्य खानेकुरा धेरै खाने, तारेका, भुटेका, पटकपटक तताइएका, पिरो खाना, चटपटे, पानीपुरी, तितौरा, प्याकेटबन्द तथा बोतलका खानेकुराले पाचनक्रिया गडबड हुन्छ र कब्जियतको समस्या हुन्छ । माछा, मासु, अण्डा, तारेको, भुटेका, मसालेदार खाना, मैदाको परिकार, अदुवा, मरिज, खुर्सानी, मसालेदार, रक्सी, चुरोट, अम्बा, अनार, आँपजस्ता खानेकुरा शरीरले सजिलै पचाउन सक्दैन ।

त्यसैगरी चिया, कफी, कोल्ड ड्रिंक, पाउडरजन्य खानेकुराले पनि गर्मी गराई कब्जियत बढाउँछ । त्यस्तै ढाडको शल्यक्रिया, पाचनसम्बन्धी समस्या, आन्द्राको समस्या भएकालाई पायल्सको जोखिम बढी हुन्छ । साथै केहीलाई वंशाणुगत कारणले पनि हुनसक्छ । सेकेन्डरी जीवनशैली अर्थात् बसेर मात्र काम गर्दा पनि व्यायामको कमीले पायल्स हुनसक्छ । शौचालयमा लामो समय बस्ने व्यक्तिलाई पायल्सको जोखिम हुन्छ ।

मलद्वारमा हुने सबै समस्या पायल्स हो ?

मलद्वारको समस्या हुनेबित्तिकै मानिसहरु पायल्स भन्ने बुझिन्छ । मलद्वारको सबै समस्या पायल्स हुँदैन । मलद्वारमा दुखाइ छैन, रगत मात्रा गएमा पायल्स हुनसक्छ । तर मलद्वारमा दुख्ने, रगत जाने, अझ दिसा कडा हुँदा झन् बढी रगत जाने र सँगै अत्याधिक दुख्ने भएमा फिसर अर्थात् मलद्वारको मुख च्यातिएको हुनसक्छ ।

मलद्वार वरिपरि गिर्खा पलाएको छ वा घाउ भएको छ भने त्यसबाट रगत निस्किने, पिप निस्किने र कहिले पाक्ने कहिले सञ्चो हुने भएजस्तो भएमा फिस्टुला हुनसक्छ ।

त्यस्तै मलद्वारबाट पिप बग्ने, रगत बग्ने, रगत मिसिएको पखाला हुने र सिंगान मिसिएको दिसा जाने भएको छ भने अल्सरेटिम कोलाइटिस वा क्रोन्स डिजिज हुनसक्छ । यो आन्द्रा र मलासयमा देखापर्ने एक दीर्घकालीन स्वास्थ्य समस्या हो ।

उपचार

उपचार भन्दा सर्वप्रथम समस्या के हो, त्यो पत्ता लगाउन जरुरी हुन्छ । रोग पहिचान गरिसकेपछि समस्या के हो, कुन चरणमा छ, बिरामीको अवस्था बुझेर त्यसअनुसार उपचार विधि अगाडि बढाउनुपर्छ । कतिपय अवस्थामा सामान्य मलम लगाएर निको हुन्छ, जटिल अवस्थमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।

पूर्णरुपमा निको हुन्छ ?

सम्बन्धित विशेषज्ञलाई समयमा जाँच गराउन सकेमा मलद्वारको समस्या सजिलै पूर्ण रुपमा निको पार्न सकिन्छ । गम्भीर अवस्थामा उपचार अवधि लामो हुनसक्छ तर चिकित्सकको सल्लाहअनुरुप चल्ने सकेमा निको हुन्छ । यद्यपि कहिलेकाहीं समय-समयमा दु:ख दिनसक्छ । जस्तै फिसर निको भइसकेपछि पनि बीचबीचमा बल्झिने गर्छ ।

जटिलता

मलद्वारको जटिलता दुई कारणले हुन्छ, उपचार नगर्नाले र गलत उपचार गराउनाले । यी दुई कारण पायल्स वा अन्य मलद्वारको चरण बढ्दै जाने हुन्छ । उदाहरणका लागि भित्री पायल्सको समस्या छ भने उपचार नगराउँदा वा गलत उपचार गर्नाले भित्री र बाहिरी पायल्सको समस्या हुनसक्छ । अन्य मलद्वारको समस्या पनि गम्भीर हुनसक्छ ।

के पायल्स बिग्रिएर क्यान्सर हुन्छ ?

धेरै मानिसमा पायल्स बिग्रिएपछि क्यान्सर हुन्छ भन्ने मानसिकता छ, जुन भ्रम मात्र हो । क्यान्सर मलद्वारको एउटा छुट्टै रोग हो । बरु क्यान्सर भएको बिरामीलाई कब्जियतका कारण पायल्स हुनसक्छ ।

मुख बार्नुपर्छ ?

पायल्स र अन्य मलद्वारको समयमा मुख बार्नुपर्छ भन्ने सोच छ । जुन एकदम गलत हो । यसले शरीरमा विभिन्न तत्वको कमी हुन्छ । जसकारण शरीर कमजोर हुने, रोगप्रतिरोधात्मक क्षमता घट्दै गएर अन्य रोग लाग्ने सम्भावना बढी हुन्छ ।

पायल्सको समस्या हुन नदिन के गर्ने ?

पायल्स वा अन्य मलद्वारको समस्यामा जंकफुड, कोल्ड डिक्स, प्याकेजिङ खाने र बाहिरको चटपटे, पानीपुरी खानुहुँदैन । यसबाहेक घरमा बनाएका सबै खानेकुरा खान सकिन्छ । घरमा पाइने खानेकुरा दाल, भात, माछा, मासु शरीरलाई चाहिने कुरा हुँदा यी कुरामा नबार्ने, सलाद अनिवार्य खाने, मासु खाएको दिन मासु कम र सलाद समावेश गरेर खानेकुरा खान सकिन्छ ।

रेस्टुरेन्टमा खाने बानीलाई कम गर्ने, पर्याप्त रुपमा पानी पिउने, सागपात र दैनिक फलफूललाई प्राथमिकता दिनुपर्छ । बाहिरी खानेकुरा सकेसम्म नखाने, मैदाबाट बनेका खानेकुराको मात्रा घटाउने, शारीरिक कसरत बढाउने गर्नुपर्छ ।

डा. प्रभाकर शाह पाचन प्रक्रिया मलद्वार
डा. प्रभाकर शाह
लेखक
डा. प्रभाकर शाह
जनरल तथा ल्याप्रोस्कोपिक सर्जन

जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. शाह सिनामंगलको होप अस्पतालमा कार्यरत छन् । उनले काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सबाट एबीबीएस र किङ एडवार्ड मेडिकल युनिभर्सिटी, मायो अस्पतालबाट जनरल एण्ड ल्याप्रोस्कोपिक सर्जरीमा एमएस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय