+

अहिले २०-३० वर्षका युवामा किन देखिँदैछ मधुमेह ?

२०८२ कात्तिक  २७ गते ११:५७ २०८२ कात्तिक २७ गते ११:५७

कसैलाई मधुमेह भयो भने घरेलु उपाय अपनाउनुपर्छ, डाक्टरकहाँ जानु हुँदैन नत्र जीवनभर औषधि खानुपर्छ भनेर तर्साइन्छ । त्यसले सुगर झन् बढेर विभिन्न समस्या निम्तन सक्छ ।

अहिले २०-३० वर्षका युवामा किन देखिँदैछ मधुमेह ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०–३० वर्षका युवाहरूमा मधुमेहको समस्या बढेको छ ।
  • मधुमेह नियन्त्रणका लागि जीवनशैली सुधार, नियमित व्यायाम, स्वास्थ्यकर खानपान र औषधि समयमै खाने सल्लाह दिइन्छ।
  • वैदेशिक रोजगारीमा गएकाहरूमा भाषा समस्या, खानपान असन्तुलन र मानसिक तनावले मधुमेहको जोखिम बढाएको डा. मल्लले बताए ।

पहिला मधुमेहलाई वृद्ध उमेरमा मात्र देखिने रोग मानिन्थ्यो । तर पछिल्ला वर्षमा २०–३० वर्षका युवाहरूमा नै फास्टिङ सुगर ३००–४०० र एचबिएवानसी ११–१३ सम्म पुग्ने जस्ता केस बढेका छन् । अस्वस्थ जीवनशैली, तनाव, निद्राको कमी, जंक फुड र व्यायामको अभावले युवापुस्तालाई मधुमेहको उच्च जोखिमतर्फ धकेलेको देखिन्छ । मधुमेहको जोखिम कम गर्न के के कुरामा ध्यान दिनुपर्छ ? मधुमेह भइसकेको अवस्थामा यसलाई कसरी नियन्त्रण गर्ने लगायतको विषयमा मधुमेह, थाइराइड तथा हर्मोनरोग विशेषज्ञ डा. दीपक मल्लसँग गरिएको कुराकानी :

मधुमेहलाई पहिला ४० वर्षपछि लाग्ने रोग भनिन्थ्यो, तर अब २० वर्षपछि नै मधुमेह देखिने सङ्ख्या बढेको छ भन्ने सुनिन्छ, यसमा कत्तिको सत्यता छ

पछिल्लो समय युवाहरूमा मधुमेहको समस्या बढ्दै गइरहेको छ । हाम्रो वीर अस्पतालको ओपिडीमा हेर्दा पनि युवा पुस्ता धेरै मधुमेहको समस्या लिएर आउँछन् । पहिला छोराछोरीले बाबुआमालाई अस्पताल ल्याउँथे, अब बाबुआमाले छोराछोरीलाई ल्याउँछन् । २०–३० वर्षका युवामा फास्टिङ सुगर ३००–४००, पोस्टप्रान्डियल ५००–६०० र एचबिएवानसी ११–१३ आएको पाइन्छ ।

पछिल्लो समय जीवनशैली बदलिएको छ । कोही पनि व्यायाम गर्न मान्दैन । सीमित स्रोत र साधनमै खुसी छन्, सम्बन्ध  कम छ । अहिले फेसबुक, स्न्यापच्याट, इन्स्टाग्राम, ट्विटरमा सीमित छन् युवाहरू । शारीरिक गतिविधि कम, बाहिर गएर खेल्ने चाहना कम छ । मोबाइल र ग्याजेट्समा रमाउने, त्यहीं खाने सुत्ने गर्छन् ।

नेपालको विशेष गरी शहरी क्षेत्रमा घरबाहेक केही छैन, खाली जग्गा छैन । बाटोमा खाल्टोहरू छन्, बिहान उठेर दौडने ठाउँ छैन । साथै पछिल्लो समय युवाहरूमा तनाव पनि बढेको छ । महँगी आकाशिएको छ, रोजगारी छैन, कमाउन विदेश जानुपर्ने अवस्था छ ।

घरमा पाकेको भन्दा बाहिरका तयारी खानेकुरा बढी खाने, कोल्ड ड्रिंक्स रुचाउनेहरू बढी छन् । राति अबेरसम्म मोबाइल हेरेर समयमा सुत्दैनन् । व्यायाम छैन, खानपान ठिक छैन, परिवारसँग सम्बन्ध कम । यसले हर्मोन लेबल मिल्दैन, इन्सुलिन उत्पादन कम हुन्छ र मधुमेहको जोखिम बढेको छ ।

टाइप १ र टाइप २ मधुमेहमा के फरक छ ? जीवनशैलीको कारणले टाइप १ मुधेमह पनि हुन्छ ?

टाइप १ मधुमेह भनेको शरीरमा इन्सुलिन उत्पादन नै नहुने अवस्था हो । यसको उपचार इन्सुलिन इन्जेक्सन नै हो, कहिलेकाहीँ औषधिसँगै । टाइप २ भनेको इन्सुलिन उत्पादन हुन्छ तर शरीरले राम्रोसँग प्रयोग गर्दैन । दुवैमा जीवनशैली परिवर्तन आवश्यक छ । टाइप १ जेनेटिक हुन सक्छ तर जीवनशैलीले पनि प्रभाव पार्छ । टाइप १, २ र गर्भावस्थामा देखा पर्ने मधुमेहमा पनि जीवनशैलीको महत्वपूर्ण भूमिका हुन्छ ।

चिनी धेरै खाएर मधुमेह लाग्ने हो

चिनी खाएकै कारण मधुमेह हुन्छ भन्ने होइन, धेरै चिनी र चिनीयुक्त खानेकुरा खाएर मोटोपनाको समस्या भयो भने त्यसले इन्सुलिन रेसिस्टेन्स हुन्छ । यदि मोटोपन, उच्च कोलेस्टेरोल, थाइरोइड, उच्चरक्तचाप र व्यायामको कमी छ भने चिनीले जोखिम बढाउँछ ।

मधुमेह भइसकेकालाई चिनी खानु भनेर सल्लाह दिँदैनौ हामी । तर घरमा सबैले चिया खाँदा एक कप खाएर केही हुँदैन, तर चिनी कम । दिनमा दुई, तीन, चार कप चिया वा सफ्ट ड्रिंक्स, क्यानका खानेकुराले भने मधुमेहको जोखिम बढाउँछ।

चामल खाइनँ तर तीन-चार रोटी खान्छु भन्नुहुन्छ । बिहान भात, दिउँसो रोटी, बेलुका मकै । जे खाए पनि शरीरमा गएर ग्लुकोज बन्छ । त्यसैले खानामा चामल कम, साग सब्जी ज्यादा, सलाद धेरै खानुपर्छ । सुरुमै गाजर, मुला, काँक्रा जस्ता सलाद खानपर्छ । दाल, तरकारी झोल वाला खाने अनि भात, रोटी कम खानुपर्छ ।  खानाको मात्रामा विशेष ध्यान दिनुपर्छ र खाना खाएर सुत्नु हुँदैन, व्यायाम हुने खालको काम गर्नुपर्छ ।

फलफूलहरूमा प्राकृतिक चिनी हुन्छ, त्यसले पनि सुगर बढाउँछ

मधुमेहको समस्या भइसकेकाहरूले फलफूल धेरै खानु हुँदैन । ग्लाइसेमिक इन्डेक्स (जीआई) ३०–५० भएको फलफूल खानुपर्छ र ५१ भन्दा माथिको खानु हुँदैन  । गुगलमा जीआई इन्डेक्स हेर्न सकिन्छ । स्याउ, सुन्तला, जुनार, मौसमले सुगर त्यति बढाउँदैन ।  मेवा, आँप, खर्बुजाले बढाउँछ । केरामा जीआई ५६–५७, हुन्छ । स्याउ, सुन्तला, जुनार, मौसम दिनमा दुई-तीन वटासम्म खाए हुन्छ । जस्तै अरूले आँप खाँदा खान मन लाग्छ, एक टुक्रा खाएर केही हुँदैन । मैले खान पाइनँ भने चिन्ता लियो भने झन् सुगर बढ्न सक्छ ।

पछिल्लो समय हरेक घरमा मधुमेहको समस्या भएका व्यक्ति छन् । यस्तोमा गुलियो खानेकुरा खान हुँदैन भनिन्छ, त्यसैले उनीहरूको लागि सुगर फ्री जुस, बिस्कुट लगिदिने चलन छ नि त्यो राम्रो हो ?

चिनी वा गुलियो खानेकुरा खान हुँदैन भनेर त्यसको विकल्पको रूपमा सुगर फ्री खानेकुरा खानु ठिक होइन । त्यस्ता खानेकुरामा सुगर फ्रि भनिए पनि पूर्णरूपमा सुगर फ्रि हुँदैनन् । बिस्कुट सुगर फ्री भए पनि त्यो मैदाबाट बनेको हुन्छ, फ्राई गरेको हुन्छ त्यसले सुगर बढाउँछ नै । त्यसैले यस्ता सुगर फ्रि खानेकुराको सट्टा प्राकृतिक फलफूल नै खानु राम्रो हुन्छ ।

जीवनशैली सुधारेर मधुमेह नियन्त्रण गर्न सकिन्छ ? औषधि छोड्न सकिन्छ ?

मधुमेहलाई नियन्त्रणमा राख्न जीवनभर नै औषधि खानुपर्ने हुन सक्छ । तर केही यस्ता केस पनि छन्, जसले आफ्नो जीवनशैली र खानपिनमा सुधार गरेर औषधि छाडेका छन् । औषधि छोड्न मिल्छ भनेर चिकित्सकको सल्लाहबिना आफूखुसी औषधि छाड्न भने मिल्दैन, यसले झन् नराम्रो असर गर्न सक्छ ।

सुगर नियन्त्रणमा आयो भनेर व्यक्तिले औषधि छाडेपछि फेरि खानपान र जीवनशैली बिग्रियो भने समस्या फेरि दोहोरिन सक्छ यो कुरामा पनि सचेत हुनुपर्छ । औषधि छोडेपछि पहिलाकै जीवनशैली अपनाइयो भने जोखिम आउन सक्छ । त्यसैले वर्षमा एक पटक आँखा जाँच, मिर्गौला, मुटु, खुट्टा, नशा जाँच गर्नुपर्छ ।

कसैलाई मधुमेह भयो भने छिमेक/परिवारले अब जीवनभर औषधि खानुपर्छ भनेर डर देखाइदिन्छन् । त्यसको साट्टा निको हुन्छ भन्ने सकारात्मक सन्देश दिन सकिँदैन

कसैलाई मधुमेह भयो भने घरेलु उपाय अपनाउनुपर्छ, डाक्टरकहाँ जानु हुँदैन नत्र जीवनभर औषधि खानुपर्छ भनेर तर्साइन्छ । त्यसले सुगर झन् बढेर विभिन्न समस्या निम्तन सक्छ । बरु जीवनशैली सुधारेर नियन्त्रण गर्न सकिन्छ भन्ने सकारात्मक सल्लाह दिनुपर्छ । जीवनशैली सुधारेर फास्टिङ १४० भन्दा कम, पोस्ट प्रान्डियल १८० कम, एचबीए ६–७ राख्नुपर्छ ।

मधुमेह बढ्ने मुख्य कारण के-के हुन्

मधुमेह बढ्ने मुख्य कारणहरूमा परिवारको हिस्ट्री एक हो । अन्यमा व्यायामको कमी, प्रशोधित तथा अस्वस्थ खानपान, तनाव, निद्राको कमी र मोटोपन÷पीसीओडी आदि हुन् ।

मधुमेह हुनबाट बच्न के कस्तो उपाय अपनाउन सकिन्छ

परिवारमा मधुमेहर रहेको इतिहास छ भने नियमित जाँच गर्नुपर्छ  । दैनिक ४५ देखि ६० मिनेट व्यायाम गर्ने । घरेलु खाना जोड, सलाद÷सब्जी बढी खाने । तनाव कम, राम्रो निद्रा र नियमित स्क्रिनिङ ब्लड प्रेसर, कोलेस्टेरोल, थाइरोइड जाँच गरेर मधुमेहको जोखिबाट बच्न सकिन्छ ।

मधुमेह भइसकेपछि नियन्त्रणका उपायहरू के हुन सक्छन्

मधुमेह नियन्त्रणका लागि जीवनशैली परिवर्तन गरेर नियमित व्यायाम, स्वास्थ्यकर खानपान अपनाउने । डाक्टरको फलोअपमा बस्ने  र औषधि समयमै खाने । घरमै ग्लुकोमिटरले सुगरको नियमित जाँच गर्ने । तनाव कम लिने र नियमित स्वास्थ्य जाँच गर्नुपर्छ ।

वैदेशिक रोजगारीमा गएकाहरूमा मधुमेहको समस्या बढेका छ भन्ने सुनिन्छ यसको कारण के हो

वैदेशिक रोजगारीमा जानुअघि मेडिकल हुन्छ तर उता पुगेर काम गर्न थालेपछि बिरामी भएर थला नपरेसम्म स्वास्थ्य जाँच गरिँदैन । एकदमै बढी भएर काम नै गर्न नसक्ने भएपछि नेपाल फर्किन्छन् । फर्केर स्वास्थ्य जाँच गर्दा सुगर ४००–५००, एचबिएवानसी ११–१२, मिर्गौला मुटु खुट्टा नसा समस्या देखिसकेको हुन्छ ।

त्यहाँ गएर मधुमेहको समस्या हुने कारण मुख्य कारण भनेको  ‘ल्याङ्वेज ब्यारियर’ भाषाको समस्या, आफ्नो कुरा व्यक्त गर्न नसक्नु, साथी नहुनु, खानपान नमिल्नु, काममा मात्र ध्यान, ऋणको डर, होम सिकनेस, निन्द्रा कम, पानी कम, मानसिक तनाव आदि हुन् ।

अन्तर्राष्ट्रिय मधुमेह दिवस आउँदै छ, त्यो बारेमा थोरै बताइदिनुस् न   

हामीले हरेक वर्ष १४ नोभेम्बरलाई विश्व मधुमेह दिवस भनेर मनाउँछौँ । हरेक वर्ष यसको थिम हुन्छ । यस वर्ष २०२५ को थिम चाहिँ ‘डायबिटिज एण्ड वेल बिइङ’ हो । यसले काम गर्ने ठाउँलाई पनि स्वस्थ बनाउने कुरामा जोड दिन्छ । जस्तै, म डाक्टरको रूपमा काम गर्छु, तपाईँ अन्तर्वार्ता लिँदै हुनुहुन्छ ।

हरेक व्यक्तिको आफ्नो कार्यक्षेत्र हुन्छ । यदि त्यो कार्यक्षेत्रलाई स्वस्थ बनाउन सकियो भने, त्यसले सुगर नियन्त्रणमा पनि मद्दत गर्छ । किनकि अहिले मानिसहरूले दिनको धेरै समय कार्यक्षेत्रमा बिताउँछन् । घरमा त खाना खाने र सुत्ने मात्र हुन्छ । त्यसैले यो वर्षको थिमले कार्यक्षेत्रलाई मधुमेह–अनुकूल, व्यायाम गर्न मिल्ने र मैत्रीपूर्ण वातावरण बनाउने कुरामा जोड दिएको छ ।

काम गर्ने ठाउँलाई स्वस्थ बनाउनु भन्ने जुन कुरा छ, त्यसलाई कसरी लागू गर्न सकिन्छ

काम गर्ने ठाउँमा हरेक एक घण्टा वा डेढ घण्टामा १५–२० मिनेट आफूलाई समय दिन सकिन्छ । जस्तो काम गर्ने टेबलमा सबै कुरा ल्यापटप, प्रिन्टर, कफी मेसिन, मोबाइल एकै ठाउँमा छ भने त्यसलाई मिलाएर राख्न सकिन्छ । प्रिन्टरलाई अलिकति टाढा राख्ने, ताकि हरेक पटक प्रिन्ट गर्न उठ्नुपरोस् ।  कफी लिन आफैँ जाने बटन थिचेर अरूलाई बोलाउने होइन । यसो गर्दा दिनमा १५–२० वा ३० पटक उठिन्छ जसले व्यायाम हुन्छ ।

खाना, खाजा काम गर्ने टेबलमै बसेर खाने भन्दा पनि बाहिर गएर खानु ठिक हुन्छ । साथै कार्यक्षेत्रलाई विषाक्त बनाउनु भएन, साथीहरू र बोससँग परिवारमैत्री वातावरण बनाउनुपर्छ । यसो गर्दा काम पनि रमाइलो हुन्छ र स्वास्थ्य पनि राम्रो।

मधुमेह
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अहिले २०-३० वर्षका युवामा किन देखिँदैछ मधुमेह ?

अहिले २०-३० वर्षका युवामा किन देखिँदैछ मधुमेह ?

५ वर्षमुनिका बालबालिकामा निमोनिया किन बढी खतरनाक ?

५ वर्षमुनिका बालबालिकामा निमोनिया किन बढी खतरनाक ?

सोध्न डर लाग्ने तर जान्न इच्छा हुने यौनसम्बन्धी ७ प्रश्न र उत्तर

सोध्न डर लाग्ने तर जान्न इच्छा हुने यौनसम्बन्धी ७ प्रश्न र उत्तर

दहीदेखि पाउरोटीसम्म, पत्तै नपाई दैनिक खाइरहेका हुन्छौं धेरै चिनी

दहीदेखि पाउरोटीसम्म, पत्तै नपाई दैनिक खाइरहेका हुन्छौं धेरै चिनी

ओट्स र मुस्ली : कुन बढी स्वस्थकर, किन ?

ओट्स र मुस्ली : कुन बढी स्वस्थकर, किन ?

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या