News Summary
Generated by OK AI. Editorially reviewed.- चन्द्रशमशेरले वि.सं. १९६० मा सिंहदरबार निर्माण सम्पन्न गरेका थिए, जुन १२०० भन्दा बढी कोठा भएको एसियाकै ठूलो भवन थियो।
- उनले प्रथम विश्वयुद्धमा ज्यान गुमाएका नेपाली सैनिकको सम्मानमा त्रिभुवन–चन्द्र मेलिटरी अस्पताल वि.सं. १९८३ मा स्थापना गरेका थिए।
- चन्द्रशमशेरले रक्सीको सेवन र विक्रीमा प्रतिबन्ध लगाउँदै वि.सं. १९७४ मा सामाजिक सुधारका लागि उर्दी जारी गरेका थिए।
जेनजी आन्दोलनका क्रममा गत भदौँ २४ गते देशका धेरै सार्वजनिक भवनमा आगजनी भए । त्यसमध्ये सिंहदरबार सबैभन्दा बढी चर्चामा छ । यो भवन बनाउने चन्द्र शमेशेरले त्यही भवनभित्र बसेर श्री ३ प्रधानमन्त्रीका रूपमा ३० वर्ष नेपालमा शासन गरे।
राजनीतिक रूपमा उनको चर्चा धेरै नै हुने गरेको छ । सतीप्रथा अन्त्यदेखि त्रि–चन्द्र कलेजको स्थापना जस्ता ऐतिहासिक कामको श्रेय उनले पाएका छन् । सिंहदरबारसहित धेरै कलात्मक भवन पनि उनको पालामा बनेका थिए । आफ्नो शासनकालमा चन्द्र शमशेरले स्वास्थ्य क्षेत्रमा पनि केही योगदान गरेका छन् ।
चन्द्रशमशेरले वि.सं. १९६० मा सिंहदरबारको निर्माण सम्पन्न गरेका हुन् । ३५० रोपनीमा फैलिएको १२०० भन्दा बढी कोठा भएको यो दरबार एसियाकै ठूलो भवनको रूपमा चिनिन्थ्यो । यसको डिजाइन इन्जिनियरहरू कुमार नरसिंह र किशोर नरसिंह राणाले तयार पारेका थिए ।
इतिहासकारहरूले उल्लेख गरेअनुसार यो दरबार निर्माण गर्न गरिब नेपालीहरूले नुनसँग ढिँडो खाएर बिनापारिश्रमिक काम गरेका थिए । यसमा गर्भवती महिलाहरू पनि थिए । कडा श्रमका कारण केही गर्भवतीको गर्भपतन समेत भएको थियो ।
चन्द्र शमशेरले आफ्नो जीवनकालमा सिंहदरबारका अलवा लक्ष्मीनिवास, बबरमहल, केशर महल, शीतल निवास, श्रीदरबार, हरिहर भवन जस्ता कलात्मक भव्य दरबारहरू बनाए। यी मध्ये धेरै भवनमा जेनजी आन्दोलनका क्रममा आगजनी भएको छ ।
वि.सं. २००९ साल फागुन ७ गते श्री ५ को सरकारको सचिवालय बनाइएको सिंहदरबारमा २०३० सालमा आगलागी भएको थियो । त्यसपछि आगोबाट यसको अगाडिको भाग जोगाउन तोप पड्काएर पछाडिको भाग भत्काइएको थियो ।
दीर्घकालीन फोक्सोका रोगी
भव्य दरबार निर्माण गरी सुखसयलमा बसेका चन्द्र शमशेर शारीरिक रूपमा दुब्ला थिए । यही कारण उनलाई फिस्टे महाराजको उपमा पनि दिइन्छ । उनी दीर्घकालीन फोक्सो रोगबाट पीडित थिए । खोकी र श्वास–प्रश्वासको समस्या थियो । उनले देशभित्र र देशबाहिर स्वास्थ्यकर्मीसँग पटक–पटक उपचार गराइरहन्थे । उनी प्रधानमन्त्री नहुँदै तत्कालीन प्रधानमन्त्री वीर शमशेरसँग खर्च मागी कलकत्ता गएर बेलायती चिकित्सकसँग उपचार गराउँथे ।
१९६५ मा बेलायत जाँदा त्यहाँका चिकित्सकसँग छातीको जाँच गराएका थिए ।
म्याट्रिक(एसएसलीसरह) पास गरेकाले अंग्रेजी भाषामा उनको दख्खल राम्रो थियो । फोक्सो रोगसम्बन्धी अंग्रेजी भाषामा लेखिएका आधुनिक चिकित्साका दर्जनौँ किताबहरू संकलन गरी पढ्ने गर्थे । उनको पुस्तकालयमा फोक्सोरोग सम्बन्धीका ५०–६० वटा पुस्तक थिए । प्रत्येक पुस्तकका पानामा महत्वपूर्ण लागेका कुरालाई कलमले चिनो लगाएर राख्थे ।

फोक्सोसम्बन्धी समस्या बढ्दै गएपछि उनलाई क्षयरोग लागेको शंका गरियो । यही कारणले उनले क्षयरोगीहरूलाई छुट्टै राखी उपचार गर्न टोखा स्वास्थ्य निवास बनाउने निर्णय गरे । त्यो निर्णयका कारण धेरै बिरामीले उपचार र चिकित्सकहरूले आवासीय सेवा प्राप्त गरे । त्यही समयदेखि क्षयरोगको संरचनागत उपचारको सुरुवात भयो ।
पहिलो सैनिक अस्पतालको स्थापना
काठमाडौं महांकाल मन्दिर छेउको टुँडिखेल क्षेत्र त्यो बेला मेडिकल हब जस्तै थियो । महिला र पुरुषका लागि छुट्टाछुट्टै बनाइएका वीर अस्पतालका दुई भवन दरबारजस्तै देखिथ्यो ।
तिनै भवनको दक्षिणपट्टी वि.सं.१९८३ भाद्र २४ गते बिहीबारका दिन नेपाली सेनाका लागि भनेर त्रिभुवन–चन्द्र मेलिटरी हस्पिटलको उद्घाटन गरे । प्रथम विश्वयुद्धमा ज्यान गुमाएका नेपाली सैनिकको सम्मान र स्मरणमा त्यो अस्पताल स्थापना गरिएको थियो । बैंक अफ लण्डनमा रहेको १० लाख पाउण्ड रकमको ब्याजबाट अस्पताल निर्माण भएको हो । यो रकम विश्वयुद्धमा लडेका र मारिएका नेपाली सैनिकका नाममा बेलायतले नेपाल सरकारलाई दिएको थियो ।
उद्घाटन समारोहमा मन्तव्य राख्दै चन्द्र शमशेरले यसलाई नमुना अस्पताल बनाउने इच्छा व्यक्त गरेका थिए । यो सँगै उनको शासनकालमा भादगाउँ, भीमफेदी, पाल्पा, डोटी लगायत नेपालका विभिन्न स्थानमा २० वटा अस्पताल तथा डिस्पेन्सरी स्थापना गरेका थिए।
दस्तावेजीकरण
चन्द्रशमशेर दूरदृष्टि भएका शासक थिए । उनले विदेशबाट समेत सम्बन्धित विषयमा विज्ञ झिकाई स्वास्थ्य, इतिहास र द्रव्य सम्बन्धी हस्तलिखित पुस्तक लेख्न लगाए । नेपालको इतिहास र राणाकै बारेमा दस्तावेज तयार गर्नका लागि बेलायती पत्रकार पर्सिभल ल्याण्डनलाई नेपाल झिकाई जिम्मा दिएका थिए ।
नेपालमा पाइने विभिन्न औषधीय गुण भएका वनस्पतिहरू संकलन गरी तिनीहरूको गुण र उपयोगबारे हस्तलिखित पुस्तक तयार पार्ने काम चन्द्र शमशेरले गरे । त्यो ग्रन्थको नाम नै चन्द्रनिघण्टु राखिएको थियो ।

यस ग्रन्थमा नेपालमा उपलब्ध ८०० बढी औषधिजन्य वनस्पति र २०० जति खनिज र जान्तब द्रव्यहरूको परिचय र उपयोग सम्बन्धी जानकारी पाइन्छ । यो ग्रन्थ १९१८ पृष्ठको छ ।हाल त्यो हस्तलिखित ग्रन्थलाई खण्ड–खण्डमा प्रकाशन गर्ने काम सिंहदरबार वैद्यखानाले गरिरहेको छ ।
एलोप्याथी चिकित्सा शिक्षाका लागि आवश्यक पुस्तकको अभाव नहोस् भनेर बंगाली डाक्टर रामकृष्ण मुखर्जीलाई शरीर–तत्व (एनोटोमी) नेपाली भाषामा लेख्न लगाए ।
यो पुस्तक वि.सं.१९६६ मा बनारसमा प्रकाशित गरी ल्याइएको थियो । ८७८ पृष्ठको यो पुस्तक प्रकाशित भएपछि नेपाल मेडिकल विद्यालयमा पढ्ने कम्पाउण्डरहरूलाई आफ्नै भाषामा पढ्न धेरै सहज भएको थियो ।
नेपालीले पढ्न सक्ने चलनचल्तीका औषधिहरूको बारेमा मिर सुब्बा पण्डित राममणि आदि र वीर अस्पतालका सिनियर सर्जन सुरेशचन्द्र दास गुप्तालाई चन्द्रशमशेर आफैँले पढ्ने गरेको ‘बजार मेडिसिन’ नामक पुस्तक नेपालीमा उल्था गर्न लगाई वि.सं. १९८४ असारमा प्रकाशित गर्न लगाए । यो पुस्तकले धेरै चर्चा पायो ।
प्रथम विश्वयुद्धको रणभूमिमा नेपाली स्वास्थ्यकर्मी
सन १९१४ देखि १९१८ सम्म चलेको पहिलो विश्वयुद्धमा नेपालले बेलायतलाई सहयोग गर्न १६ हजार नेपाली सैनिक पठाएको थियो । यो युद्धमा सेनासँगै औषधि र स्वास्थ्य उपकरणसहित दजर्नौं नेपाली स्वास्थ्यकर्मीहरू पनि खटिएका थिए । त्यसबेला चन्द्र शमशेरको निर्देशन र निगरानीमा ‘वार अफिस’ खडा गरिएको थियो । त्यस कार्यालयमार्फत युद्धमा स्वास्थ्यकर्मी–डाक्टर, कम्पाउण्डर र वैद्यहरू खटिएका थिए ।
कहाँ, कहिले, कसरी को परिचालन गर्ने, सैनिकहरूलाई कुन–कुन खोप दिने, सरुवा रोगको महामारीबाट कसरी जोगाउने, सरसफाइको अवस्था कसरी राम्रो बनाउने, औषधि उपकरणको बन्दोबस्ती कसरी गर्ने ? आदिको बारेमा व्यापक योजना गरी कार्यान्वयन गराउने काम भएको थियो । (प्रथम विश्वयुद्धको वर्णन, हेमराज शर्मा, २०७५:२६०)
युद्धमा गएका सैनिकहरूलाई प्रम चन्द्रशमशेरले बहादुरीका साथ लड्न, नामर्दीपन नदेखाउन, बेलायती सरकार र नेपाल सरकारको दोस्तीलाई बलियो बनाउन गरी युद्ध लड्नका लागि प्रेरित गर्दै सन्देश प्रवाह गर्थे ।
युद्धपछि त्रिभुवन–चन्द्र मेलिटरी अस्पतालको उद्घाटनका दिन देशको महिमा बढाउनलाई आफ्नो खुसीराजीले लड्न भनी गएका वीरहरू भनी नेपाली सैनिकलाई सम्बोधन गरेका थिए । त्यस युद्धमा स्वास्थ्यकर्मीहरूले सैनिकलाई उपचार र परामर्श दिने काम गर्थे ।
पाइपबाट खानेपानी वितरण
त्यस समय प्रदूषित पानीका कारण काठमाडौं लगायत नेपालभर हरेक वर्षजसो हैजाको महामारी फैलिन्थ्यो । हैजाकै कारण प्रत्येक वर्ष हजारौं नेपाली बिरामी पर्थे र सयौँको संख्यामा मृत्यु हुन्थ्यो । हैजाको महामारी नियन्त्रण गर्न र सुरक्षित पिउने पानी पाइपबाट वितरण गर्न उनले ठूलो लगानी गरे । सैनिक अस्पताल लगायत डिस्पेन्सरीहरूमा पिउने पानीको प्रबन्ध गरे ।
पाटन, कीर्तिपुर, पोखरा, धनकुटा, वीरगन्ज र जाजरकोटमा पाइपबाट सुरक्षित पिउने पानी वितरण गर्ने प्रबन्ध गरे । ठाउँ–ठाउँमा पानी अड्डा खडा गरे । जसले गर्दा पानीजन्य रोग हैजा, टाइफाइडबाट हुने बिरामी र मृत्युको संख्यामा कमी आयो । जनस्वास्थ्यको क्षेत्रमा यो ठूलो योगदान बन्न पुग्यो ।
चन्द्रशमशेरले स्वास्थ्यसम्बन्धी केही परम्परा तोडेको देखिन्छ । त्यस समय राजामहाराजाहरू देश–विदेश भ्रमणमा जाँदा वैद्य, कविराजहरूलाई साथै लिएर जाने चलन थियो । तर चन्द्र शमशेरले एलोप्याथिक डाक्टर र कम्पाउण्डरलाई प्राथमिकतामा राखे । बेलायत जाँदा जंगबहादुरले बैद्य लिएर गएका थिए । चन्द्र शमशेरले भने वैद्य लगेनन् । एलोप्याथिक डाक्टर रत्नदास वैद्यलाई लगे । दैनिक जाँच पनि डाक्टर र डेन्टिसबाट गराउँथे ।
रक्सी त्याग र रक्सीमाथि प्रतिबन्ध
चन्द्रशमशेरले धेरै सामाजिक सुधारको काम गरेको श्रेय पाएका छन् । त्यहीमध्येको एक रक्सीमाथिको प्रतिबन्ध पनि थियो । प्रजाको कल्याणार्थ भन्दै वि.सं. १९७४ माघ १४ गतेका दिन रक्सीको सेवन र विक्रीलाई कम गर्दै बन्द गर्ने उर्दी जारी गरे ।
जाँडरक्सीका अम्मलले तन, मन, धन बिगारी व्यक्तिको प्रतिष्ठा, इज्जत, इमानजमानलाई समेत माटोमा मिलाएको र अन्न कुहाएर रक्सी बनाउँदा अनिकाल र भोकमरी बढेको कारण देखाउँदै रक्सीको उपयोग र विक्रीमा नियन्त्रण गरिएको थियो । उनको उर्दीको अटेर गरी रक्सी उत्पादन गर्ने र बेच्नेलाई सजाय पनि गरिएको थियो । विदेशी रक्सीको आयातमा नियन्त्रण समेत गरिएको थियो(गोरखापत्र, १९७८–६–१८) ।
यहाँनेर स्मरणीय कुरा के छ भने कुनैबेला चन्द्रशमशेर आफैँ रक्सीका अम्मली थिए । वि.सं.१९६५ मा बेलायतमा शरीरको जाँच गर्दा चिकित्सकले रक्सी सेवन गरेमा धेरै नबाँच्ने कुरा सुनाए । त्यसपछि उनी तर्सिए । ब्लायतबाट फर्किएर भारत आइपुगेपछि रामेश्वर मन्दिरमा गई भाकल गरी रक्सी छाड्ने कसम खाए । त्यसपछि जीवनभर रक्सीको सेवन गरेनन् । यसले पनि उनी आत्मअनुशासनमा बस्न सक्ने शासक थिए भन्ने पुष्टि हुन्छ ।
रक्सी छुटाउन उनकी जेठी श्रीमतीको पनि महत्वपूर्ण हात थियो भनिन्छ । एकदिन चन्द्र शमशेरले सिंहदरबारको एक कोठामा बसेर साथीहरूसँग रक्सी खाइरहेका थिए । उनकी जेठी श्रीमतीले त्यो देखेपछि हातमा लिएको गिलास थुतेर झ्यालबाट फालिदिइन् अनि त्यसदिन देखि रक्सी पिएनन् पनि भनिएको भेटिन्छ ।
उनले रक्सी मात्रै होइन अफिम, गाँजा, भाङजस्ता नसालु पदार्थको सेवनमा सेमत नियन्त्रणको व्यवस्था गरेका थिए ।
छोराहरूलाई विन्ती
चन्द्रशमशेरले आफ्ना ८ भाइ छोराहरूका नाममा एउटा ५० सुत्रीय चिठी लेखेका छन् । त्यस चिठीमा उनले छोराहरूलाई स्वस्थ र अनुशासित हुने सुत्रहरू बताएका छन् । रक्सीमा नडुब्नू, एउटै श्रीमतीसँग रमाउनू, जुवाडे नबन्नू, खर्चालु नहुनू, अर्काले डाह गर्ने गरी श्रीमतीलाई गहना लगाउन नदिनू, कहिल्यै घमण्डी नहुनू, धेरै पढेर सबैसित मिठो बोल्नू, षडयन्त्रका लागि भूमिका नखेल्नू जस्ता अनुरोध गरेका थिए ।
चिठीमा उनले आफू मरेर गएपछि छोराहरूलाई कुनै दुःख नहोस्, स्वास्थ र अनुशासित बनुन, उनीहरूमाथि कुनै आपत आइ नलागोस् भन्ने कामना गरेको देखिन्छ ।
चन्द्र शमशेरकै पालादेखि सिंहदरबार नेपाली राजनीति र प्रशासनिक शक्तिकेन्द्रका रूपमा रहनपुग्यो ।
प्रतिक्रिया 4