+

पेटको क्यान्सरको जोखिम पुरुषलाई दोब्बर, कसरी बच्ने ?

२०८२ मंसिर  २ गते १३:४३ २०८२ मंसिर २ गते १३:४३
Shares
पेटको क्यान्सरको जोखिम पुरुषलाई दोब्बर, कसरी बच्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पेटको क्यान्सर विश्वभर पाँचौं बढी हुने क्यान्सर हो र पुरुषमा महिलामा भन्दा दोब्बर देखिन्छ।
  • एच. पाइलोरी संक्रमण, मोटोपन, र पश्चिमी जीवनशैलीले पेटको क्यान्सरको जोखिम बढाउँछन्।
  • ताजा फलफूल, हरिया सागसब्जी, कम नुन, स्वस्थ प्रोटिन, र प्रोबायोटिक खानेकुरा सेवनले पेटको क्यान्सरबाट बच्न मद्दत गर्छ।

पेटको क्यान्सर वा ग्यास्ट्रिक क्यान्सर विश्वभर सबैभन्दा बढी हुनेमध्ये पाँचौं किसिमको क्यान्सर हो । सामान्यतया यो क्यान्सर बढी उमेरमा र पुरुषहरूमा महिलाको तुलनामा दोब्बर दरले देखिन्छ । यसका पछाडि जेनेटिक कारण, हेलिकोब्याक्टर पाइलोरी संक्रमण र हाम्रो खानपानका बानीहरू मुख्य छन् । राम्रो खानपान अपनाएर र जोखिमपूर्ण कुराहरू घटाएर पेटको क्यान्सरबाट बच्न सकिन्छ ।

पछिल्ला केही वर्षमा मोटोपन र पश्चिमी जीवनशैलीका कारण पेटको क्यान्सरका केसहरू बढेका छन् । चुरोट, रक्सी र केही औद्योगिक रसायनहरूले पनि जोखिम बढाउँछन् । शरीरमा बढी बोसो, धेरै रक्सी पिउने र अत्यधिक नुन वा प्रशोधित खाना खाने बानीले पनि पेटको क्यान्सरको जोखिम बढाउँछ ।

बाली र खेतहरूमा अत्यधिक मल, विषादीको प्रयोगले पनि पेटको क्यान्सर बढेको छ । एच. पाइलोरीले अल्सर गराउँछ, अल्सर लामो समयसम्म रह्यो भने क्यान्सर उत्पन्न हुन सक्छ । सुरुको अवस्था अर्थात् पहिलो चरणको ग्यास्ट्रिक क्यान्सर भएमा उपचार सजिलै हुन्छ, शल्यक्रिया नै काफी हुन्छ । यदि दोस्रो, तेस्रो वा चौथो चरणको क्यान्सर भएमा उपचार जटिल हुन्छ, शल्यक्रिया मात्रले पुग्दैन, किमोथेरापी दिनुपर्ने हुन्छ ।

ताजा फलफूल र हरिया सागसब्जी अनिवार्य खाने

हरेक दिन आफ्नो भोजनमा ताजा फलफूल र हरिया सागसब्जी समावेश गर्ने । यिनमा भिटामिन सि, क्यारोटिनोइड्स र फ्लेभोनोइड्सजस्ता एन्टिअक्सिडेन्ट हुन्छन् जसले पेटका कोशिकाहरूलाई सुरक्षित राख्छन् । बन्दा, काउली, पालुङ्गो, मेथी र लट्टे जस्ता सागसब्जीमा सल्फोराफेन हुन्छ, जसले क्यान्सर कोशिकाहरू बढ्न दिँदैन ।

नुन र प्रशोधित खाना कम गर्ने

अत्यधिक नुन, अचार, स्मोक्ड र प्याकेज्ड खानेकुराले पेटको भित्री पत्रलाई खराब गर्छ । नुन र प्रिजर्भेटिभहरूले पेटलाई जलन गराउँछन् र क्यान्सरको जोखिम बढाउँछन् । त्यसैले घरमै ताजा पकाएको खाना खाने प्रयास गर्नुपर्छ र बाहिरको प्रशोधित खाना कम गर्नुपर्छ ।

स्वस्थ प्रोटिन खाने

रातो मासुको सट्टा माछा, कुखुरा, दाल र तोफू खान सकिन्छ । रातो मासुमा भएका प्रिजर्भेटिभ्स र उच्च तापमानमा पकाउँदा बन्ने रसायनहरू हानिकारक हुन्छन् । बाफमा पकाएको, उमालेको वा बेक गरेको खाना बढी राम्रो हुन्छ ।

फाइबरयुक्त खाना खाने

ब्राउन राइस, गहुँ, दाल र सिमी जस्ता खानेकुराले पेटको सफाइमा मद्दत गर्छन् र शरीरबाट विषाक्त पदार्थ निकाल्छन् । फाइबरयुक्त खानाले पाचन राम्रो बनाउँछ र आन्द्राको माइक्रोबायोम सन्तुलित राख्छ, जसले क्यान्सरको जोखिम घटाउँछ ।

रक्सी र चुरोटबाट टाढा बस्ने

रक्सी र चुरोटको संयोजन पेटको क्यान्सरको सबैभन्दा ठूलो कारण हो । रक्सीले पेटको झिल्लीलाई हानि पुर्‍याउँछ र धुवाँमा भएका विषाक्त पदार्थहरू शरीरमा बढी सोसिन्छ। यी दुवैबाट पूर्णरूपमा टाढा रहनु सबैभन्दा प्रभावकारी बचाव हो।

प्रोबायोटिक खानेकुरा लिने

दही, केफिर र फर्मेन्टेड तरकारीजस्ता प्रोबायोटिक खानेकुरा पेटका लागि अत्यन्त फाइदाजनक हुन्छन् । यिनले हेलिकोब्याक्टर पाइलोरी संक्रमण रोक्न मद्दत गर्छन्, जो पेटको क्यान्सरको ठूलो कारण हो ।

यिनले प्रतिरक्षा प्रणाली बलियो बनाउँछन् र पेटमा हुने सूजन कम गर्छन् । यी साना–साना बानीहरू अपनाउँदा पेटको क्यान्सरको जोखिम धेरै कम हुन्छ । यदि क्यान्सर भइसकेको छ भने विशेषज्ञ चिकित्सकको सल्लाहमा उपचार सुरु गरिहाल्नु पर्छ ।

पेट क्यान्सर
डा. समिम अख्तर
लेखक
डा. समिम अख्तर
क्यान्सररोग विशेषज्ञ

डा. अख्तर हाल ललितपुरको किष्ट मेडिकल कलेजमा चिकित्सक तथा अध्यापकको रुपमा कार्यरत छन् । क्यान्सर रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८४५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय