Comments Add Comment

एमाओवादी निश्कर्ष : यथास्थितिमा संविधान कार्यान्वयन चुनौतीपूर्ण

prachanda-baburam-Narayan-kaji

२१ भदौ, काठमाडौं । चाँडो संविधान जारी गर्न सत्ता पक्षसँग सहमति जनाउँदै आएको एमाओवादीले यथास्थितिमा जारी हुने नयाँ संविधान कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने निष्कर्ष निकालेको छ । तर, संविधान निर्माण प्रक्रिया रोक्न नहुने उसले बताएको छ ।

कांग्रेस र एमालेका नेताहरु वार्ताप्रति उदासीन भइरहेका बेला एमाओवादीले थारु र मधेसी समुदायका जायज मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

सोमबार बसेको एमाओवादी शीर्ष नेताहरुको बैठकले थारुसहितका आन्दोलनरत समुदायको माग सम्बोधनका लागि पहल गर्ने निर्णय गरेको हो । ‘थारु समुदायको जायज माग सम्बोधन गरेर विजय गच्छदारलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउनुपर्छ’ बैठकपछि एक नेताले अनलाइनखबरसँग भने ।

एमाओवादीले महन्थ ठाकुर र उपेन्द्र यादवसहितको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग पनि सहमतिको प्रयास गर्नुपर्ने ठहर गरेको छ । ‘अन्यथा संविधान कार्यान्वयन चुनौतीपूर्ण हुन्छ’ एक नेताले भने-‘परिस्थिति नकारात्मक दिशातिर जान्छ कि भन्ने डर पनि छ ।’

पछिल्लो समय एमाओवादीमा नयाँ संविधान जारी गर्ने प्रक्रियाबारे विवाद देखिएको थियो । तर, छिट्टै संविधानसभाबाट संविधान जारी गर्नुपर्छ भन्नेमा एमाओवादीका शीर्षनेताहरुको एकमत भएका छन् ।

कांग्रेससँग छलफल, प्रधानमन्त्री सकारात्मक

शीर्षनेताहरुको समझदारीपछि एमाओवादीले सोमबार नै कांग्रेस नेतृत्वसँग छलफल गरेको छ । भेटमा एमाओवादी नेताहरुले थारु र मधेसी आन्दोलनकारीहरुसँग वार्ता गरेर निकास खोज्नुपर्नेमा जोड दिएका छन् ।

वार्ता र सहमतिको प्रयास थाल्न प्रधानमन्त्री सुशील कोइराला सकारात्मक देखिएको एमाओवादी नेताले बताएका छन् ।

कांग्रेस र एमाओवादी दुबैले एमालेसँग छलफल गर्ने र मंगलबार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग वार्ता गर्ने सहमति भएको नेताहरुले बताएका छन् । गच्छदार सोमबार सुनसरी गएकाले छलफल हुन नसकेको एमाओवादी नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment