Comments Add Comment

संविधान निर्माण प्रक्रियाबाट अलग हुने राप्रपा नेपालको घोषणा

२३ भदौ, काठमाडौं । संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल संविधान निर्माण प्रक्रियाबाट अलग भएको छ । बुधबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान निर्माण प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।

फाइल फोटो
फाइल फोटो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्वीट गरेका छन्, ‘राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग हुने निर्णय गरेको छ ।’

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिमा अधिकांश नेता संविधान निर्माणको प्रक्रियाबाट बाहिरिनुपर्ने पक्षमा उभिएका थिए ।तर, पार्टी अध्यक्ष थापाले भने प्रक्रियामा रहिरहनुपर्ने भन्दै निर्णयमा नोट अफ डिसेन्ट लेख्ने बताए ।

अध्यक्षले नै नोट अफ डिसेन्ट लेख्ने भनेपछि नेताहरु छलफलमा जुटिरहेकाबेला कमल थापाले ट्वीट गर्दै संविधानसभाबाट अलग हुने घोषणा गरे ।

को-को बाहिरिए ?

संविधान जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकाबेला असन्तुष्ट दलहरुले संविधान सभा छाड्ने क्रम बढेको छ । यसअघि मंगलबार मात्र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संविधान निर्माण प्रक्रियाबाट अलग भएको थियो ।

अहिलेसम्म उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरम, महन्त ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, महेन्द्र राय यादव नेतृत्वको तमसपा, शरदसिंह भण्डारी नेतृत्वको रामसपा संविधान सभाबाट बाहिरिएका छन् ।

यस्तै थरुहट तराई पार्टी, फोरम गणतान्त्रिक, नेपाल सदभावना पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि संविधानसभामा जारी संविधान निर्माण प्रक्रियाबाट अलग भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment