Comments Add Comment

कमल थापालाई तीन शीर्ष नेताको पत्रः संविधान निर्माणमा सहभागी हुनुस्

Sushil,-kp-And-Prachanda

२४ भदौ, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुले संयुक्त पत्र पठाएर राप्रपा नेपाललाईै संविधान निर्माण प्रक्रियामा फर्कन आग्रह गरेका छन् ।

बिहीबार तीन दलका शीर्ष नेताहरुले कमल थापासहितका नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए । भेटमा राप्रपा नेपालले लोकतान्त्रिक विधि र प्रक्रियाबाटै संविधान बनाउने लिखित प्रतिवद्धता खोजेपछि शीर्ष नेताहरुले संयुक्त पत्र पठाएका हुन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका प्रचण्डले हस्ताक्षर गरेको पत्रमा जनताले आफ्ना प्रतिनिधिहरुद्वारा संविधान निर्माण होस भनेर राखेको चाहना अनुरुप संविधान निर्माणको प्रकृया निर्णायक चरणमा पुगेको उल्लेख गर्दै भनिएको छ-‘संविधान निर्माणको यस ऐतिहासिक क्षणमा कुनै पनि राजनीतिक दल र सभासद्ले संविधान निर्माणको प्रकृयाबाट आफूलाई अलग राख्नु हामी कसैको लागि पनि सुखद् हुन सक्दैन ।’

संविधानका विषय बस्तुमा दलहरुका बीचमा मतभेद रहन सक्ने उल्लेख गर्दै भनिएको छ-‘तर, राष्ट्रियतालाई मजबूत बनाउने, जनतालाई लोकतान्त्रिक अधिकारले सम्पन्न बनाउने तथा जनताको आर्थिक सामाजिक विकास गर्ने लक्ष्यमा हामी सबै एक ठाँउमा उभिन सक्छौं ।’

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गरी राष्ट्रहितको पक्षमा निरन्तर क्रियाशील रहनु सबैको साझा कर्तब्य भएको पत्रमा उल्लेख छ ।

गम्भीर बैचारिक मतभेदका बावजूद लोकतान्त्रिक विधि र प्रक्रियाप्रति रापप्रा नेपालले देखाएको प्रतिबद्धताको सराहना गर्दै पत्रमा भनिएको छ-संविधान निर्माणको यस निर्णायक घडीमा विगतदेखिको सहभागितालाई निरन्तरता दिनको लागि यहाँहरुले केही समय अगाडि लिनु भएको निर्णयमा पुनर्विचार गर्नुहुने हामीले अपेक्षा गरेका छौं ।’

शीर्ष नेतात्रयद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ-‘संविधान निर्माणको प्रक्रियामा निरन्तर सहभागी हुन हामी तपाई र तपाईंको पार्टीलाई आग्रह गर्दछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment