काठमाडौं । फाटेको उनको टोपी, स्टकोट पनि गतिलो हुँदैन । सुरुवाल त घुँडामा टालेको प्रष्टै देखिन्छ । चरित्र मागन्ते । काँचको पर्दामा होस् या विभिन्न स्टेज कार्यक्रममा केदार घिमिरे अर्थात माग्ने बुढाको गेटअपमा गरिबी प्रष्ट देखिन्छ । हरेक कार्यक्रममा दुःखीकै चरिचत्र निर्वाह गरेका हुन्छन् माग्ने ।
उनको बोली पनि त्यस्तै छ । झर्रो नेपाली पाराको । लवाई र बोली सुन्दा लाग्छ यीनले विदेश जाँदा कसरि कुरा गर्दा हुन् । कार्यक्रमको शिलसिलामा विभिन्न देश जानेक्रममा विदेशीसँग कुरा गर्न पर्यो भने के भन्दा हुन् ?
अनलाइनखबरको जिज्ञासा मेटाउँदै भने ‘मेरो अंग्रेजी त मकै भुट्या जस्तो छ फरर ।’ प्याराडाइज ल्याङ्गवेज सेन्टरमा ०५३ सालमा अंग्रेजी भाषा सिकेका माग्नेले सातौं लेभल टप गरेका थिए । उनी भन्छन ‘मैले अंग्रेजी सिक्न थालेपछि नेपाली ठ्याम्मै छाडें । दुई महिनामा त म भरर अंग्रेजी बोल्ने भैसकेको थिएँ ।’
त्यतिवेला उनीहरुको एउटा समुह नै थियो । सबैले सल्लाह गरेका थिए । अब नेपालीमा कुराकानी बन्द । अंग्रेजीमै कुरा गर्यो भने छिटो सिकिन्छ भनेर शिक्षकले सिकाएका थिए । त्यही कारण अंग्रेजीमै हाइ हल्लो सुरु गरे । पछि त साथीहरुसँग सल्लाह र झगडा पनि अंग्रेजीमै भयो । माग्नेको अंग्रेजी सिक्नुको खास कारण साथीभाईसीत सल्लाह र झगडा गर्नु मात्रै थिएन । गाइड बन्न चाहन्थे उनी ।
उनका एकजना साथी थिए । जो टुरिष्ट गाईडको काम गर्थे । बेलुका आएर भन्थे ‘आज खैरेले पचास डलर टिब्स दियो ।’ अर्को दिन भन्थे । आज एकसय डलर दियो ।
हरेक दिन साथीले टिब्स ल्याएको देखेका माग्नेले पनि सोचे ‘पैसा कमाउनका लागि गाइड नबनी हुँदैन ।’ त्यसपछि ल्याङ्ग्वेज कक्षा सुरु गरेका थिए उनले । अंग्रेजी सिकेपछि दुईपटक गाईड पनि बने । ‘एकपटक भक्तपुर दरवार स्क्वायर र अर्को पटक बसन्तपुर दरवार स्क्वाएर गएँ ।’ उनले भने ।
इन्सिटच्युटमा अंग्रेजीमा टप गरेका माग्नेले पहिल्यै दिन थाह पाए । नेपालको टपरले बोलेको अंग्रेजी बुझ्न खैरेलाई टाइम लाग्ने रहेछ । उनको भनाई अनुसार त्यसरि घुम्न गएका पर्यटकलाई नेपालको इतिहासदेखि भुगोलसम्म बुझाउनुपर्ने रहेछ । अनि छिटो छिटो दोहोरो कुरा गर्नुपर्ने । गाईडका लागि आफ्नो अंग्रेजी काम लाग्दो देखेनन् र साथीलाई सन्देश पठाए । ‘अबदेखि म यो गाईड साईड काम गर्दिन ।’
नेपाल घुम्न आउने खैरेले अंग्रेजी नबुझेर को भो त । विदेश जाँदा भने निकै सजिलो भएको छ उनलाई । भन्छन ‘भाषाकै कारण अहिलेसम्म कुनै समस्या भोग्न परेको छैन कतिपय ठाउँमा साथीभाईलाई सघाएको पनि छु ।’
एक आपसमा कुुरा गर्दा अंग्रेजीमा राम्रै कुरा गर्ने माग्ने युरोपियन देशमा भने आफ्नो अंगे्रजी सुनेर खैरेहरु ट्वाँ परेको सुनाउछन् । कार्यक्रमको सिलसिलामा युरोपका धेरै देश घुमेका माग्नेले पहिलो पटक युरोप जाँदा सोचे । अब यी खैरेहरुलाई गज्जबले गफ दिनुपर्छ नेपालको वारेमा ।
त्यसै गरे । गोरा छाला भएका युरोपियनहरुलाई राखेर माग्नेले गफ दिए तर, खैरेहरुले कुनै प्रतिक्रिया जनाएनन् । उनले सोचे । यीनलाई नेपालको वारेमा चासै रहेनछ । पछि बुझ्दा पो थाह पाए उनीहरु त माग्नेको अंग्रेजी सुनेर ट्वाँ परेका रहेछन् । भन्छन ‘युरोपका धेरै मान्छेलाई अझै अंग्रेजी आउँदोरहेनछ ।’
एअरहोष्टेजको काम गरें
विदेशवाट फर्किने क्रममा दुबईवाट दिल्ली आउँदै थिएँ । प्लेन दिल्लीमा पुगेर ल्याण्ड भयो । विचमा एअरहोष्टेजले एनाउन्स गरेकी थिइन् । प्लेनमा खराबी आएकोले दिल्लीमा अवतरण गर्नुपर्यो ।
दिल्ली पुगेर प्लेन त रोकियो । तर, कसैलाई पनि ओर्लिन दिएन । त्यहाँका इन्जिनीयरले चेकजाँच गरेपछि थाह भयो । ‘मर्मतका लागि दुबई नै लैजानुपर्छ ।’
एअरहोष्टेजले फेरि त्यहि कुरा भनिन् । प्लेनभित्र बसेका धेरै नेपाली आत्तिए । अधिकांस यात्रु कामवाट फर्किएका नेपाली थिए । दिल्लीवाट दुबईका लागि प्लेन उडेपछि नेपाली यात्रुहरुले आफु अपहरणमा परेको आशंका गरेका थिए । किनकी एअरहोस्टेजको अंग्रेजी धेरै यात्रुले बुझेका थिएनन् ।
यात्रु डराएको थाह पाएकी एअरहोस्टेजले माग्नेलाई बोलाएर भनिन ‘हाम्रा यात्रुहरु डराइरहनु भएको छ । हामी अपहरणमा परेको हैन भनेर बुझ्नेगरी भन्दिन पर्यो ।’
माग्नेले त्यही माईक समातेर भने ‘आदरणीय महानुभावहरु नआत्तिनु होला । हामी दुबई पुगेलगत्तै अर्को प्लेनवाट काठमाडौ फर्किने छौं । हामीलाई कसैले पनि अपहरण गरेको छैन । हामी सकुशल छौं । यो सुनेपछि धेरै यात्रु खुसी भए ।