Comments Add Comment

प्रधानमन्त्रीको प्रश्न- मुलुकमा आगो लगाउने ?

Sushil-Koirala-At-Samsad

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान जलाउने धम्की नदिन चुनौती दिएका छन् ।

आइतबार संविधानसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति कोइरालाले जनजाति, महिला, दलितलगायतका नेताहरु आएर आफूहरुले भनेको जस्तो नभए संविधान जलाउने धम्की दिएको बताए ।

‘एउटा कुरा के छ भने’ भन्दै प्रधानमन्त्रीले भने- ‘जनजाति महिला, दलित, पिछडिएको वर्ग लगायत आएर मलाई भन्नुहुन्छ, प्रधानमन्त्रीजी यो उ गर्नुपर्‍यो । (संविधानसभामा हाँसोको फोहोरा छुट्यो) पास गर्नुपर्‍यो, हुबहु गर्नुपर्‍यो ।’

आफूले यो सम्झौताको दस्तावेज हो भन्दाभन्दै संविधान जलाउने धम्की दिएको उनले सुनाए । ‘होइन, तपाई मान्नुहुन्न भने यस्तो संविधानलाई आगो लगाइदिन्छु भन्छन्’ प्रधानमन्त्रीले संविधानसभामा सुनाए-‘मैले भनें लगाइदिनुस्, आगो लगाएर के हुन्छ ? मुलुकमा आगो लगाउने ?’

प्रधानमन्त्री कोइरालाले वार्ता र सम्वादबाटै निकास खोज्न सबैलाई अपील गरेका छन् । शान्तिपूर्ण आन्दोलन गर्ने छुट सबैलाई रहेको भन्दै प्रधानमन्त्री कोइरालाले भने-‘पुलिस बीट जलाइएको छ, सभासदहरुको घरमा आगो लगाइएको छ । यो शान्तिपूर्ण आन्दोलन हो ?’

प्रधानमन्त्रीले भने-सेना परिचालन भएको छैन

मधेस आन्दोलनको माग बमोजिम जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न संविधानको बिधेयकमा आवश्यक संशोधन गर्न प्रमुख तीन दल सहमत भएको प्रधानमन्त्रीले बताएका छन् ।

प्रधानमन्त्री कोइरालाले संविधानसभाको बैठकलाई सम्बोधन गर्दै एक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याको अनुपातमा क्षेत्र निर्धारणका लागि आवश्यक संशोधन प्रस्ताव पारित गरिने प्रतिवद्धता जनाए ।
कोइरालाले समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता अन्तरिम संविधान बमोजिम नै हुनेसमेत प्रष्ट पारे ।

आन्दोलनको अर्को महत्वपूर्ण मागलाई सम्बोधन गर्दै कोइरालाले भने-अन्तरिम संविधानभन्दा पछि हटिँदैन, संविधानको प्रस्तावित सामाजिक न्यायको सिद्धान्त सम्बन्धी धारामा सबैको भावनाबमोजिम संशोधन गर्न तयार छौं ।’

कोइरालाले मधेस तथा थरुहट आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिइने र घाइतेको उपचारका कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए ।

आन्दोलन शान्तिपूर्ण हुनासाथ कर्फ्यु र सुरक्षाकर्मीको परिचालनलाई हटाएर सामान्य बनाइने प्रतिबद्धता समेत कोइरालाले जनाए । तर, अहिले सेना परिचालन नभएको समेत प्रष्ट पारे ।

‘सेना कहाँबाट परिचालन भएको छ ? राष्ट्रियरुपमा कहीँ परिचालन भएको छैन । स्थानीय स्तरमा सुरक्षा व्यवस्था मिलाउन केही ठाउँमा सेना पनि कानुनबमोजिम आएको हो’ कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment