+
+

व्यंग्य : आत्मकथा लेख्नोस् हिरो हुनोस् !

आफूले आफूलाई हिरो बनाउने एउटा सर्बश्रेष्ठ उपाय केही बर्ष यता नेपालमा राम्रैसित फष्टाएको छ । त्यो विधि हो आत्मकथा लेखन । हिजोआज अनुसन्धानात्मक, दार्शनिक, साहित्यिक इत्यादि किताब प्रकाशन गर्न प्रकाशक पाउन गाह्रो छ तर आत्मकथा प्रकाशन गर्ने प्रकाशकको भने ओइरो छ । शायद बेच्न सजिलो होला । आत्मकथा लेख्ने लेखकको पनि ओइरो छ शायद लेख्न सजिलो भएर होला ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २८ गते १६:५५

शैलेश भट्टराई 

आफूले आफूलाई हिरो बनाउने एउटा सर्बश्रेष्ठ उपाय केही बर्ष यता नेपालमा राम्रैसित फष्टाएको छ । त्यो विधि हो आत्मकथा लेखन । हिजोआज अनुसन्धानात्मक, दार्शनिक, साहित्यिक इत्यादि किताब प्रकाशन गर्न प्रकाशक पाउन गाह्रो छ तर आत्मकथा प्रकाशन गर्ने प्रकाशकको भने ओइरो छ । शायद बेच्न सजिलो होला । आत्मकथा लेख्ने लेखकको पनि ओइरो छ शायद लेख्न सजिलो भएर होला ।

किनभने, आत्मकथामा भाका कुरा मात्रै लेख्नुपर्छ भन्ने कुनै जरूरी छैन । टाउको दुखाउने, दिमाग खियाउने, अध्ययन अनुसन्धान गर्ने झन्झट हुँदैन । देखे भोगेका कुरा मात्रै लेख्नुपर्छ भन्ने पनि छैन । सुने सुनाइएका कुरा मात्रै लेख्नुपर्छ भन्ने जरूरी पनि छैन । दुनियाँले दसी प्रमाण खै भन्दै भन्दैन । मनमा जे आयो, त्यो आत्मकथामा लिपीवद्ध गर्न पाइन्छ । र, पनि यो उपन्यास भने होइन । दुनियाँले भएकै कुरा ठानेर पढिरहेको हुन्छ ।

शैलेश भट्टराई
शैलेश भट्टराई

र, सबैभन्दा उत्तम कुरा त आत्मकथा आफैंले लेख्नु पर्छ भन्ने नै छैन । नायक आफूलाई बनाएपछि खलनायक जसलाई बनाए पनि हुन्छ । जसको चरित्रहत्या गरे पनि हुन्छ । खासमा  जोसंग दुश्मनी छ, वैरभाव छ, उसैलाई खलनायक बनाउने हो । कतै जवाफ दिनै पर्दैन । झन् कानून आकर्षित हुने त सवाल नै छैन । हुबहु धेरै हिन्दी फिल्मका हिरोको रोल, जसलाई नियम कानून केही नै लाग्दैन । हिरोले गर्यो भनेपछि सकियो । तर्क वितर्क नियम कानून निरीह !

आत्मकथाहरूको बाढी हेर्दा पाठक पनि प्रशस्तै छन् भन्नुपर्ने हुन्छ शायद पढ्न, बुझ्न सजिलो छ । पछिल्लो समयमा निस्केका धेरैजसो आत्मकथा पढ्दा यी र यस्तै कुराहरू सामान्यीकरण गर्न सकिन्छ ।

वीपी कोइराला लगायत अरु एक दुइजना, जो साँच्चैका हिरो थिए, वहाँहरुका लागि आत्मकथा आफूलाई हिरो सावित गर्ने माध्यम हुँदै भएन । जो साँच्चैका हिरो होइनन्, कतिपय त समाज र राष्ट्रमा गन्हाएका छन् तीनले लेखेका आत्मकथामा आकाश पाताल जोडेर आफूलाई हिरो बनाएका छन् । कसैले म नजन्मेको भए नेपालै डूब्थ्यो भन्ने हिसाबले लेखेका छन् । कसैलाई खुइल्याउने लक्ष राखेका आत्मकथा पनि निस्केका छन्। कसैले आत्मकथालाई कुण्ठाकथा बनाएका छन् भने कसैले आफ्नो महिमागाथा । कति आत्मकथा लेखकका आत्मरति लिने माध्यम बनेका छन् । कोही कोहीले भने आत्मकथा लेखेर आफ्नो कालो छविलाई सेतो बनाउने प्रयत्न पनि गरेका छन् ।

आफ्नो जीवनसंग सम्वन्धित कोही मान्छे जो मरिसकेको छ भने त झन् उसंग जोडेर सकारात्मक नकारात्मक जे जे लेखे पनि हुन्छ । यस्तो दिवंगत आत्मा झन् सेलिब्रेटी रहेछन् भने त सुनमा सुगन्ध भइहाल्यो । मरेका मान्छेलाई सोधी सोधी पुष्टी गर्ने ल्याकत कसको ? एकजना आत्मकथाकार ( उनको अरू कुनै पहिचान नभएकाले आत्मकथाकार भन्न बाध्य भएको हुँ । ) प्रकाशोन्मुख आफ्नो आत्मकथामा राजा वीरेन्द्रसँग चिनजान र नारायणहिटीमा कहिलेकहीं  आईजार्इ गरेका आधारमा ‘वीरेन्द्रले मलाई २०४६ साल चैत्र २५ गते बोलाएर बहुदल दिउँ कि नदिउँ भनेर सोधे । मैले यही हो दिने बेला सरकार ! भनेपछि बल्ल दलमाथि लागेको प्रतिबन्ध फुकेको हो’ भन्ने वाक्यांश राख्छन् रे । उनलाई शुभकामना ! त्यसै भन्या हो र आत्मकथालाई मपाईंत्वको कथा !

कहिले लेख्ने त आत्मकथा ? आफूलाई जहिले म ठूलो भएँ भन्ने लाग्छ आत्मकथा लेख्न शुरू गरिहाल्दा हुन्छ । मैले पनि आत्मकथा लेख्ने बेला भो भन्ने जसलाई लाग्छ उसले लेख्दा हुन्छ आत्मकथा । चरी पोहोर मारिए, नत्र यतिखेरसम्म उनको पनि आत्मकथा आइसक्ने थियो । खुश्बू ओलीको आत्मकथा शायद पाइप लाइनमा होला । भर्खरै घैंटे मारिएका छन् । मलार्इ भने उनी मारिनुको दु:ख संगसंगै उनको आत्मकथा पढ्ने रहर पनि मारिएकोमा थप दु:ख लागेको छ ।

चार्ल्स शोभराजको खुद्रा कथा हेरियो, सुनियो, पढियो । अब ती सबै खुद्रा कथालाई मिलाएर उनको आफ्नै ढङ्गले लिपीवद्ध गरिएको एउटा आत्मकथा निकाल्ने हो भने त्यो भाले आत्मकथा हुनेछ । त्यो पुस्तक बेस्ट सेलर हुनेमा कुनै दुविधा छैन ।  तर, अहिलेसम्म के गर्दै छन्, तिनी । जेलमा बस्दा पनि नलेखेको कहिले लेख्ने हुन् कुन्नि ?

त्यसैगरी चक्रे मिलनजीको अनि परशुराम बस्नेतजीको पनि आत्मकथा चाँडै आओस् भन्ने नेपाली पाठकको माग प्रकाशकहरूले पहिचान गरिसकेको हुनुपर्छ ।

नेपालमा आइरहेको आत्मकथाको प्रकाशनको बाढी हेर्दा एकदिन सुब्बा भन्दा माथिका जम्मै कर्मचारीले, पार्टीमा लागेका जिल्ला कमिटी भन्दा माथि पुगेका जम्मै नेताले, व्यापार व्यवसायमा लागेर करोड भन्दा माथि कमाउने सबैले, गुण्डागर्दीमा लागेर डन कहलाइएका सबैले, पढाइमा विशिष्ट श्रेणी ल्याउने सबै विद्यार्थीले आत्मकथा प्रकाशित गर्नेछन् । अनि भोलि पर्सी हाजिरी जवाफमा एउटा प्रश्न कमन हुनेछ- संसारमा सबैभन्दा बढी आत्मकथा लेखेर प्रकाशित गर्ने मान्छेहरू कुन देशका हुन् भन्ने प्रश्न । नेपाली पाठकको अधिकांश समय यिनै आत्मकथाहरू पढ्दैमा बित्नेछ । स्वाभाविक हो, पत्रपत्रिकामा पुस्तक समीक्षामा यिनै आत्मकथाहरूको बाहुल्य हुनेछ अनि पुस्तकालयको साहित्यिक फाँट पनि आत्मकथै आत्मकथाले भरिनेछ ।

अन्त्यमा,

आत्मकथा यही रफ्तारमा लेखिंदै प्रकाशित हुँदै जाने हो भने साहित्यका अरू विधालाई यसले रसातलमा नपुर्याउला भन्न पनि सकिन्न । त्यसैले उपन्यास, कविता, कथा, नियात्रा लगायतका अरू विधाका साहित्यकारहरूले पनि अब थपक्क आत्मकथा लेख्न शुरू गरिहाल्दा भो ।

म यस्तो हुँ उस्तो हुँ भन्दै हिंड्नु भन्दा ड्याम्मै किताबै निकाल्दियो, भाका नाभाका सबै कुरा ओकल्दियो आनन्दै । किताब पढुन्जेल पाठकको नजरमा हिरो भइहालियो । आफूले लेखेको वा लेख्न लगाएको आफ्नो आत्मकथामा अरू कसैलाई हिरो बनाउने कुरा त मनासिव हुँदै भएन ! चाहे त्यो आत्मकथा चार्ल्स शोभराजको नै किन नहोस् ।

स्वाभाविक नै हो, कुमार घैंटेले आत्मकथा लेख्थे भने त्यसमा एसएस्सपी सर्वेन्द्र खनाललाई हिरो बनाउने सवाल नै आउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?