Comments Add Comment

जलेश्वरमा मारिएकाको अन्त्येष्टि भएन, शवयात्राको रुटमा विवाद

२८ भदौ, जनकपुर । मधेसी मोर्चाको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका जलेश्वरका ६ जनाको सोमबार गर्ने भनिएको अन्त्येष्टि हुन सकेन । शवयात्राको रुटबारे स्थानीय प्रशासनसँग कुरा नमिलेपछि अन्त्येष्टिको कार्यक्रम रोकिएको हो ।

Jaleshwor,-Mahottari

प्रहरीको गोली लागेर रोहन चौधरी, अमित कापर, रामविवेक यादव, विरेन्द्र विच्छा, रामशिला देवी मण्डल र गणेश चौधरीको मृत्यु भएको थियो । उनीहरुको शव जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

मधेसी मोर्चाले अस्पतालबाट शवयात्रा सुरु गरेर जलेश्वर नाथ मन्दिर हुँदै खैराचोक जानुपर्ने माग गरे पनि स्थानीय प्रशासनले सो माग अस्वीकार गरेको छ । बजार क्षेत्रबाट शवयात्रा निकाल्दा झडप, तोडफोड वा अरु कुनै अप्रिय घटना हुनसक्ने भन्दै स्थानीय प्रशासनले सो रुट प्रयोग नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले अस्पतालबाट राजमार्ग हुँदै जान भने पनि मोर्चाले बजार क्षेत्रबाटै शवयात्रा निकाल्न पाउनुपर्ने अडान राखेको छ ।

स्थानीय प्रशासन र मधेसी मोर्चाका नेताहरुबीच प्रत्यक्ष वार्ता नभए पनि मध्यस्तकर्तामार्फत् छलफल हुँदै आएको छ । मध्यस्थकर्ताको भूमिका उद्योग वाणिज्य महासंघ र नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुले गर्दै आएका छन् ।

यसअघि स्थानीय प्रशासनले बजार क्षेत्र हुँदै शवयात्रा निकाल्न दिन तयार भए पनि सोमबारको छलफलमा ‘कुरा फेरेका’ले सहमति हुन नसकेको मध्यस्थकर्ताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment