Comments Add Comment

भारतलाई ओलीको जवाफ-अंगीकृत नागरिकता लिएर भोलि नै मुख्यमन्त्री हुनुपर्ने किन ?

Kp-oli

६ असोज, काठमाडौं । नेपालको संविधानमा गर्नुपर्ने संशोधन भन्दै भारतले सात बुँदे सुझाव सार्वजनिक गरेपछि ‘प्राइमिनिष्टर इन वेटिङ’ मानिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले कडा जवाफ दिएका छन् ।

साहना प्रधान स्मृति प्रष्ठिनाद्धारा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले बुँँदागत रुपमा नै भारतलाई जवाफ दिए । नयाँ संविधान नेपालीका लागि बनाएको भन्दै ओलीले यसलाई लिएर कसैले टाउको दुखाउनुभन्दा फराकिलो छाति बनाएर स्वागत गर्न भारतलाई सुझाव दिएका छन् ।

आन्दोलनरत मधेसी र जनजातिलाई सम्बोधन गर्न भन्दै छिमेकी मुलुक भारतले नेपालको संविधानमा सात बुँदे संशोधन गर्न सुझाव दिएको थियो ।

एमाले अध्यक्ष ओलीले सानो देश र संक्रमणकालमा छ भन्दैमा पेल्न नपाइने बताए । ‘नेपाल सानो छ, अप्ठेरो अवस्थामा छ भनेर जसो गरे पनि हुन्छ भन्ने हाम्रो मित्रहरुले सोच्नु हुँदैन र सोच्नु हुने छैन भन्ने विश्वास छ’-ओलीले भने ।

भारतको नाम नलिई एमाले अध्यक्ष ओलीले भारतले अघि सारेको सात बुँदेको पालैपालो जवाफ दिए ।

अध्यक्ष ओली अंगीकृत नागरिकले राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री हुन पाउनुपर्ने भन्ने भारतीय दबाब प्रति निकै कठोर रुपमा प्रस्तुत भए ।  उनले भने-‘नेपालमा आएर बस्न पाएकै छ,अंगीकृत नागरिकता पनि दिएकै छ, घरजग्गा किन पैसा कमाऊ भनेकै छ । सांसद मन्त्री पनि बन्न दिएकै छ । अब त्यसले नागरिकता लिएको भोलिपल्टै नेपालको राष्ट्रपतिनै बन्न पाउनुपर्ने,प्रधानमन्त्री र मुख्यमन्त्रीनै बन्न पाउनुपने किन ?

भिडियो

ओलीले अंगीकृत नागरिकता लिएर राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री हुन पाउनुपर्छ भन्ने माग जोसुकैले राखे पनि स्वीकार्य नहुने प्रष्ट पारेका छन् । ‘अमेरिकाले पनि अंगीकृत नागरिकलाई बेग्लै व्यवस्था गरेको छ । हामी यो माग कुनै पनि हालतमा स्वीकार गर्दैनौं’- ओलीले भने ।

ओलीले जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण सम्भव नभएको बताए । त्यसो गर्ने हो भने कणर्ालीमा एउटा निर्वाचन क्षेत्र पनि नहरने भन्दै ओलीले प्रश्न गरे-के कर्णालीका जनता, जनतानै होइनन् ?

उनले हाल कायम जिल्लाको भूगोलमा कम्तिमा एक निर्वाचन क्षेत्र रहने गरी बाँकी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने बताए । समानुपातिक समावेशीलाई सामाजिक न्यायको सिद्धान्तमा राखिने भन्दै ओलीले भने-‘अन्यत्र थप्नुपर्ने भए हामी हाम्रा जनतासँग छलफल र सम्वाद गर्छौं ।’

झापा मोरङ सुनसरी र कैलाली कञ्चनपूरलाई मधेसमा बन्ने प्रदेशमा राख्न भारतले दिएको सुझावको पनि एमाले अध्यक्ष ओलीले कडा प्रतिवाद गरे । ‘यो संविधान नेपालीका लागि बनाइएको हो, हिमाली पहाडी वा मधेशीका लागि अलग अलग संविधान हुँदैन’-ओलीले भने ।

झापा, मोरङ सुनसरीका जनताले नमागेको र त्यहाँका जनप्रतिनिधिले नचाहेको कुरालाई अर्कै जिल्लामा चुनाव हारेको व्यक्तिले जबर्जस्ती अर्को प्रदेशमा हाल्न दबाब दिनु अनुचित रहेको ओलीले बताए ।

सर्लाहीमा चुनाव हारेका राजेन्द्र महतो र महन्थ ठाकुरतिर संकेत गर्दै ओलीले भने-‘त्यहाँका जनताले चाहेका छैनन्, ती जिल्लाबाट चुनाव जितेको जनप्रतिनिधिले मानेका छैनन्, अन्त चुनाव हारेको मान्छे त्यो त मलाई चाहिन्छ भन्छ । एउटा मान्छेको जिद्धि पूरा गर्ने कुरा संविधानमा हुन सक्दैन ।’

कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले विदेशी गुहारेर नेपालको समस्या समाधान नहुने बताए ।

प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्रीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रधानमन्त्रीद्धय झलनाथ खनाल, माधव नेपाल, एमाले उपमहासवि घनश्याम भुषाल लगायतले सम्बोधन गरेका थए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment