Comments Add Comment

सिक्किम र दार्जीलिङमा नेपाली राष्ट्रियगानका संगीतकारको स्वागत

८ असोज, काठमाडौं । नेपाली राष्ट्रिय गानका संगीतकार एवं बरिष्ठ संगीतकार अम्बर गुरुङ भारतको सिक्किम हुँदै दार्जीलिङ पुगेका छन् । सिक्किम र दार्जीलिङमा गुरुङको भव्य स्वागत गरिएको छ ।

Amber-Gurungसिक्किमको निम्तो मानेर पत्नी विणा गुरुङसहित दार्जीलिङ आइपुग्दा गुरुङलाई उनका वाल्यकालका साथीहरुले पनि भेटघाट गरे । कतिपयले उनलाई प्रश्न गरे- राष्ट्रियगानमा संगीत भरे पनि नेपाल सरकारले रोयल्टी किन नदिएको ? गुरुङले दार्जीलिङेहरुलाई जवाफ दिए- ‘अब दिने भएको छ ।’

संगीतकार गुरुङलाई कतिपय दार्जीलिङबासीले ‘मलाई चिन्नुभो’ भनेर प्रश्न गरे । जवाफमा गुरुङले भने- ‘शरीर पो बूढो भो त, चिन्छु नि ।’
आफूलाई भेट्न आउनेमध्ये दिलिप विश्वलाई गुरुङले भने- ‘एई तँ पनि आइस् ?’

दार्जीलिङबासीलाई संगीतकार गुरुङले सोधे-‘पहिलाको जस्तो खुट्टो तान्ने बानी त छैन होला नि ?’ जवाफमा दार्जीलिङबासीले उनलाई भने- ‘अहिले आ-आफ्नो खुट्टोमा उभिने कोशिस गर्दैछौं ।’

नेपाली सेनाबाट प्राप्त सुरक्षागार्ड रघु थापामगरलाई पनि साथैमा लिएर गुरुङ सिक्किम र दार्जीलिङ पुगेका हुन् ।

यसअघिको राष्ट्रिय गानमा पनि संगीत भरेका गुरुङ नेपाली सेनाका मानार्थ कर्णेल हुन् ।

दार्जीलिङ पुगेकी विणा गुरुङले सिक्किममा निम्तो मान्न आएको र नेपाल फर्कंदा दार्जीलिङ निस्कन मन लागेर आएको बताएकी थिइन् ।

कालेबुङमा शनिबारदेखि हुन लागेको दुई दिने भारतीय गुरुङहरुको महासम्मेलनमा आफूहरुलाई पनि निम्तो आएको विणाले बताइन् । तर, अम्मरको स्वास्थ्यका कारण आफूहरु महासम्मेलनमा जान नसक्ने उनले जानकारी दिइन् ।

मूर्धन्य संगीतकार अम्मर गुरुङ तिनै संगीतकार हुन्, जसले संगीत भरेको ‘नौ लाख तारा उदाए..’ गीतका कारण दार्जीलिङका गोरखालीहरुमा चेतना भरेको थियो । भारतले एक समय उक्त गीतलाई प्रतिबन्धित समेत गरेको थियो । त्यो गीतले अहिले पनि दार्जीलिङेहरुलाई जुरुक-जुरुक पार्ने गरेको छ ।

बरिष्ठ नेपाली संगीतकार गुरुङको वाल्यकाल दार्जीलिङमा बितेको थियो ।

भारत भ्रमणमा निस्केका संगीतकार गुरुङले गणतन्त्र नेपालको समावेशी संविधानले अब देशमा शान्ति र स्थायित्व दिने बताए ।
हिमालय दर्पणको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment