धेरैलाई थाहा छ, नायक जीवन लुइटेल कविता लेख्न र बाचन गर्न सिपालु छन् । जीवनलाई चलचित्र क्षेत्रमा ‘कवि नायक’ पनि भनिन्छ । जीवन सार्वजनिक कार्यक्रममै कविता सुनाउन खप्पिस छन् ।
मन भित्रका यही चाहनालाई मर्न नदिन नायक लुइटेलले कविता संग्रह नै बजारमा ल्याएका छन् ।
‘नायक’ शिर्षकमा उनले सार्वजनिक गरेको कविता संग्रहको विमोचन गरिएको छ ।
साहित्यकार वैरागी काइला, नायक राजेश हमाल, नायिका करिश्मा मानन्धर, कान्तिपुर साप्ताहिकका सम्पादक सुवास ढकाल, गीतकार डाक्टर कृष्णहरी बराल, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई लगायतले कविता संग्रह विमोचन गरेका छन् ।
कार्यक्रममा साहित्यकार बरालले जीवनलाई कविताको भाव थाहा भएको बताए । उनले कवितामा विम्वको प्रयोग पनि गरिएको बताए । यस्तै, नायिका करिश्मा मान्नधरले जीवन चलचित्र क्षेत्रमा सफल भएको भन्दै कविता लेखनमा पनि सफल हुन् भनेर शुभकामना दिइन् ।
नायक राजेश हमालले जीवन लुइटेलसँग आफूले ४ घन्टा बिताएको बताए । उनले भने-‘कविता संग्रहको पाण्डुलिपी लिएर उहाँ मलाई भेट्न आउनु भएको थियो । उहाँसँग कुरा गर्दै मैले ४ घन्टा बिताए । पर्दा बाहिर मैले कुनै चलचित्रकर्मीसँग यती लामो समय पहिलो पटक बिताएको थिएँ ।’ साहित्यकार वैरागी काइलाले जीवनलाई शुभकामना दिएका थिए ।
नायक लुइटेलले आफूले लेखेका कविता कविताको शैलीमा भए नभएको थाहा नभएपनि मनदेखि उब्जिएका भावलाई व्यक्त गरेको बताए । जीवनले आफ्नो संग्रहमा नायकहरुको बिषयमा रोचक शब्दले कविता बुनेका छन् । १ सय ५० रुपैयाँमा पाइने यो पुस्तकलाई पैरवी प्रकाशनले बजारमा ल्याएको हो ।