१२ असोज,काठमाडौं । तराई मधेसको आन्दोलन चलिरहेका बेला संविधानको बारेमा जनतालाई प्रष्ट पार्न एमालेले मधेस केन्द्रित जनपरिचालनको तयारी गरेको छ । त्यसका लागि योजना बनाउन मंगलबार राष्ट्रिय कार्याकर्ता भेला आयोजना हुँदैछ ।
काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा भाग लिन तराई मधेसका जिल्ला अध्यक्षहरुसहित देशैभरका कार्यकर्ता आइपुगेका छन् । भेलाले भावी रणनीति तय गर्नेछ ।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय सल्लाहकारसहित जिल्ला अध्यक्ष तथा जनवर्गीय संगठनका पदाधिकारी र सभासद तथा पूर्वसभासदहरु गरी करीव ६ सयजना सहभागी हुने प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दए ।
संविधानमा भएका कुरा पनि आन्दोलनकारीले छैनन् भन्दै जनतालाई दिग्भ्रमित पारेकाले राष्ट्रिय भेलाले ठोस योजना बनाएपछि मधेसतर्फ जाने एमाले नेता सत्रुधन महताले बताए ।
यद्यपि आन्दोलनकारीसँग वार्ता गरेर मधेसका कतिपय माग सम्बोधन गरेपछि मात्र अवस्था सहज हुने उनले बताए । भेलामा मधेसबाट आएका प्रतिनिधिले मधेस समस्या समाधानको लागि पार्टी नेतृत्वलाई सामुहिक सुझाव दिने भएका छन् ।
‘संविधानमा उल्लेख भएका कुरा जनतालाई बुझाउने, जनताले मागेको तर संविधानमा नभएको कुरा संशोधनबाट दिलाउने र पूरा हुन नसक्ने कुरा प्रष्ट पार्ने अहिलेको उपाय यही हो’ एमाले सभासद आशा यादवले भनिन् ।
राष्ट्रिय कार्यकर्ता भेलाले मधेसमात्र नभई समग्र देशका बारेमा रणनीति बनाउने र सघीय संरचना अनुरुप पार्टी कमिटीहरु गठन सम्बन्धी छलफल गर्ने एमाले स्रोतले जनाएको छ ।
प्रतिक्रिया 4