Comments Add Comment

एमालेको प्रस्ताव : तराईमा ७९ र हिमाल पहाडमा ८६ चुनावक्षेत्र

Uml-Vela-1१२ असोज, काठमाडौं । मधेसवादी दलको मागप्रति कठोर रहँदै आएको नेकपा एमालेले आन्दोलनकारीको मुख्य माग रहेको निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

२० जिल्लालाई ७९ क्षेत्र

मंगलवार राष्ट्रिय कार्यकर्ता भेलामा सार्वजनिक गरिएको एमालेको निर्वाचन क्षेत्र विभाजनको गणितअनुसार तराई मधेसका २० जिल्लामा ७९ निर्वाचन क्षेत्र रहने उल्लेख छ ।

सेन्ट लग सूत्रअनुसार जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको समानुपातिक विभाजन गर्दा कुल १६५ निर्वाचन क्षेत्रमध्ये ७९ सिट तराईमा रहने र उपत्यकालगायत हिमाल र पहाडमा ८६ सिट हुने एमालेले जनाएको छ ।

मधेसको मागसँग मिल्दोजुल्दो

एमालेको यो हिसाब-किताब मधेस आन्दोलनकारीको मागअनुसार लगभग नजिक देखिएको छ । आन्दोलनकारी दलहरुले तराईमा जनसंख्याको अनुपातमा आधा अर्थात ८३ सिट हुनुपर्ने माग गर्दै आएका छन् ।

एमालेले निकालेको हिसाबअनुसार आन्दोलनकारीको मागअनुसार तराईमा ४ सिट पुग्दैन । ‘एक दुई सिट तलमाथि हुने कुरा केही होइन, मुख्य कुरा नियत राम्रो राखेर वार्ता हुनुपर्छ’ सदभावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले भने ।

कुन जिल्लामा कति सीट ?

एमालेले निकालेको हिसाबअनुसार तराईका २० जिल्लामा कम्तिमा २ देखि बढीमा ६ निर्वाचन क्षेत्र हुनेछन् । सबैभन्दा कम बर्दियामा २ क्षेत्र हुनेछन् भने सबैभन्दा बढी मोरङमा ६ क्षेत्र हुनेछन् ।

५ निर्वाचन क्षेत्र कायम हुने तराई मधेसका जिल्लामा झापा, सर्लाही, रुपन्देही र कैलाली छन् । त्यस्तै ४ निर्वाचन क्षेत्र हुनेमा सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, नवलपरासी छन् ।

त्यस्तै ३ निर्वाचनक्षेत्र कायम हुने तराईका जिल्लामा चितवन, कपिलवस्तु, दाङ, बाँके र कञ्चनपुर हुने एमालेको हिसाब छ । यो हिसाब कांग्रेस सांसद गगन थापाले अनलाइनखबर मार्फत सार्वजनिक गरेको बहससँग मेल खान्छ ।

हिमाल पहाड ठगिने

एमालेको हिसाबअनुसार पहाड र हिमालका अधिकांश जिल्लाहरु एउटा मात्र क्षेत्रमा सीमित हुनेछन् । अहिले दुईवटा क्षेत्र रहेका पहाडका जिल्ला एउटामा झर्नेछन् भने ३ र ४ क्षेत्र रहेका पहाडी जिल्ला २ वटा क्षेत्रमा झर्नेछन् ।

दुई क्षेत्र हुने पहाडी जिल्लामा इलाम, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, तनँहु, स्याङजा, बाग्लुङ, गुल्मी पाल्पा, दैलेख र अछाम छन् ।

त्यस्तै भित्री मधेस समेटिएका सिन्धुली, उदयपुर र सुर्खेत पनि दुईवटा निर्वाचन क्षेत्रमा खुम्चिने भएका छन् । अहिले तीन क्षेत्र छन् ।

पहाडी जिल्लाहरुमध्ये ललितपुर र कास्की ३ वटा क्षेत्रमा समेटिने छन् भने काठमाडौंमा अहिले कायम रहेका १० वटै क्षेत्र रहनेछन् । हिमाल र पहाडका ३३ जिल्लामा एक मात्र निर्वाचन क्षेत्र हुनेछन् ।

हालको निर्वाचन क्षेत्र विभाजनअनुसार १३ जिल्ला मात्र एक क्षेत्रमा सीमित छन् । एमालेले निकालेको यो हिसाब जनसंख्याका आधारमा भएको स्थायी समिति सदस्य सत्यनारायण मण्डलले बताए ।

कसको कति शक्ति छ तराईमा ?

हाल २४० निर्वाचन क्षेत्र भएको अवस्थामा तराई मधेशमा ११६ निर्वाचन क्षेत्र छन् । मधेसवादी दलले भनेको आधा क्षेत्र यसमा पनि ४ अंकले कमी हुन्छ, जुन एमालेले अहिले निकालेको हिसाबसँग ठ्याक्कै मिल्छ ।

हाल तराई मधेसका २० जिल्लाका ११६ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ५२, एमालेले ३६ र एमाओवादीले १२ सिट जितेका छन् । सबै मधेसवादी दलले गरी ११ सिट जितेका छन् ।

बाँकी सीटमा राप्रपाले २ र दुईजना स्वतन्त्र सभासद जितेका छन् । संविधानमा मधेसवादी ११, एमाओवादीका एकजना र स्वतन्त्र १ जना बाहेक अन्य १०३ जना मधेसबाट निर्वाचित सभासदले हस्ताक्षर गरेका छन् ।

कार्यकर्ता सन्तुष्ट

एमालेले मधेस आन्दोलनमा उठेको प्रमुख मागलाई यसरी हिसाब निकालेर कार्यकर्ता भेलामा वितरण गरेको छ । जुन दस्तावेजमा मधेस आन्दोलन गरिरहेका दल तथा समूहले उठाएका अन्य मागको सन्दर्भमा पनि पार्टीको धारणा सार्वजनिक गरेको छ ।

पार्टीले मधेसको मुद्दा र विशेष गरी निर्वाचन क्षेत्रका सन्दर्भमा निकालेको हिसाब वैज्ञानिक तथा सन्तुलित भएकाले यसलाई मधेसले सहर्ष स्वीकार गर्ने एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले बताए ।

यस्तो छ एमालेले जनसंख्याको आधारमा गरेको समानुपातिक विभाजन

UML 1

UML-2UML-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment