Comments Add Comment

ग्यास बिक्रेताको रोष : चुलो निभिसक्यो, दसैं कसरी मनाउने ?

१९ असोज, काठमाडौं । भारतले नाकाबन्दी गरेपछि खाना पकाउने एलपी ग्यासको अभावमा राजधानीबासीको चुलो निम्न थालेको छ । राजधानी छाडेर गाउँतिर जाऔं भने गाडी चल्दैनन्, यतै बसौं भने भान्छामा आगो बल्न छाड्यो । अब यसको विकल्प के होला ?

LP-Gas-at-Raksaulयसैवीच ग्यासको संकटबारे जानकारी दिन ग्यास विक्रेता महासंघले सोमबार अनामनगरमा पत्रकार सम्मेलन आयोजना गर्‍यो । पत्रकार सम्मेलन भन्नुमात्रै, केही मिनेटमा सकियो ।

विक्रेता महासंघले सरकारको कार्यशैलीप्रति असन्तोष जनाउँदै तत्कालै बिकल्प खोज्न अाग्रह गर्दै पत्रकार सम्मेलन सकिएको घोषणा भयो ।

ग्यास विक्रेताहरुको यस्तो असामञ्जस्यताले यस्तो बताउँथ्यो कि खाना पकाउने ग्यास सकियो भने त्यसको एउटैमात्र विकल्प रहेछ, भारतलाई वा आफ्नै सरकारलाई गाली गर्ने अनि भोकै बस्ने ।

भारतले नाकाबन्दी गरेको १५ दिन वितिसक्दा पनि सरकारले अत्यावश्यक पेट्रोलियम आपूर्तिको विकल्प खोज्ने काम नगरेको भन्दै नेपाल ग्याँस बिक्रेता महासंघले पत्रकार सम्मेलनमा नेपाल सरकारविरुद्ध जनता सडकमा आउन सक्ने चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले भारतसँग घुँडा नटेकी पेट्रोलियम पदार्थ आपूर्तिको तत्कालै वैकल्पिक व्यवस्था गर्न सरकारलाई आग्रह गरे । तर, त्यो वैकल्पिक व्यवस्था के हुने भन्ने अर्यालले बताएनन् ।

लामो समयदेखि ग्यास आपूर्ति नहुँदा २० देखि ३० प्रतिशत मानिसको चुलो निभिसकेको बताउँदै अर्यालले भने- ‘नाकाबन्दी भएको १५ दिन बितिसक्दा समेत सरकार मौन बस्नु जनताप्रति उत्तरदायी नहुनु हो ।’

भारतसँग नेपाल सरकार घुँडा टेक्न बाध्य नहोस् भनेर जनताहरु अभावमा पनि धैर्य गरेर बसेको बताउँदै अर्यालले सरकार मौन रहिरहेमा भोलि जनताको धैर्यताको बाँध फुट्न सक्नेतर्फ ध्यानाकर्षण गराए ।

‘सरकारले उत्तरी छिमेकी मुलुक चीनबाट हुन्छ कि अन्य मुलुक, जहाँबाट भए पनि उपभोक्तालाई पेट्रोलियम पदार्थ उपलब्ध गराउनुपर्छ’ उनले भने ।

‘सरकारको पछिल्लो अवस्था हेर्दा १५ दिनमात्र होइन, १५ महिनासम्म नाकाबन्दी भएपनि विकल्प खोज्ने काम गर्लाजस्तो देखिदैन’ अर्यालले भने- ‘यस्तो भएमा नेपालीहरु भारतप्रति होइन, नेपाल सरकारप्रति खनिनेछन् ।’

ग्यासको अभावमा अब धेरै दिन जीवन निर्वाह हुन नसक्ने बताउँदै अर्यालले तत्काल चीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गरी जनजीवन सहज बनाउन सरकारलाई आग्रह गरे । तर, भूकम्पपछि चीनसँग जोडिएका तातोपानी र रसुवागढी नाका ठप्प छ ।

हाहाकार मच्चिने संकेत

अहिले नेपालमा मासिक १२ लाख सिलिण्डर खपत हुँदै आएको महासंघको भनाइ छ । यही हिसाबले हेर्ने हो भने १० दिन नाकाबन्दी हुँदा ४ लाख ग्यास सिलिण्डर रित्तो भइसकेका छन् ।

भारतले नाकाबन्दी तत्काल नखुलाउने संकेत गरेको छ । भारतीय नाकाबन्दी कायम रहिरहने र सरकारले पेट्रोलियम लगायतका अत्यावश्यक वस्तुहरु आपूर्तिको विकल्प नखोजेमा मुलुकमा भयावह स्थिति निम्तिने निश्चित छ ।

लामो समयको नाकाबन्दीले राजधानी लगायत देशभरको जनजीवन अस्तव्यस्त हुँदै गइरहेको छ । होटलहरु ग्यासको अभावले धमाधम बन्द हुन थालेपछि खाजा र खाना खाने पसलहरु पनि सुक्दै जान थालेका छन ।

राजधानी छाडेर दाउरा पाइने गाउँतिर गइहाल्न पनि त्यति सहज छैन । तेलको अभावका कारण दसैं नजिकै आउँदासम्म टिकट बुकिङ खुलेको छैन । यस वर्ष सर्वसाधारणले घरमा गएर दसैं मनाउन नपाउने अवस्था सिर्जना भएको छ ।

भर्खरैमात्र तातोपानी नाका खुलाउने काम भएको छ । यहाँबाट सामान आयात गर्नका लागि अझै हप्ता दिन लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment