Comments Add Comment

देशभक्ति र राष्ट्रियताको मामिलामा कुनै सम्झौता हुँदैन : नेता नेपाल

फाइल तस्वीर

  • फाइल तस्वीर

२१ असोज, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशभक्ति र राष्ट्रियताको मामिलामा कुनै सम्झौता हुनै नसक्ने बताएका छन् ।

पूर्वसांसद क्लब नेपालद्वारा विहीबार आयोजित ‘नेपालको संविधान र कार्यान्वयनका चुनौती’ विषयक अन्तरक्रियामा उनले राष्ट्रियता, स्वाधीनता र अखण्डताको पक्षमा एकाकार भएर अहिले देखिएको चुनौतीलाई सामना गर्न कम्तीमा पनि अर्काे निर्वाचनसम्म प्रमुख दलबीच एकता र सहमति कायम रहनुपर्ने आवश्यकता औंल्याए ।

नेता नेपालले भने, “सरकारले जनताको चासो र राष्ट्रको हितलाई ध्यान दिएर सन्तुलित ढङ्गले अघि बढनुपर्छ । भारतले पनि हाम्रो आन्तरिक मामिलामा यसो गर, उसो गर भनेर निर्देशन गर्ने होइन ।”

“संविधान र सङ्घीय प्रदेश कस्तो बनाउने भन्ने नितान्त नेपाली जनताको सरोकारको विषय हो, नेपालले सधैँभरि आफ्ना छिमेकीसँग मित्रभाव राख्न चाहन्छ, अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि जादुमय तरिकाले सम्बन्ध सुमधुर बन्न पुगेको थियो, तर अहिले क्षणभरमै त्यो सम्बन्ध कमजोर हुन पुगेको छ,” उनले भने ।

लोकतन्त्रको विधि, प्रक्रिया र सिद्घान्तलाई सबैले पालना गर्नुपर्छ भन्दै वरिष्ठ नेता नेपालले प्रत्येक देशको स्वाभिमानलाई कदर गर्ने परिपाटी छिमेकीमा पनि विकास हुन आवश्यक छ भने ।

आफ्नो आन्तरिक मामिलाका विषयमा नेताले विदेशी शक्तिसँग के गर्ने भनेर सोध्ने, निर्देशन लिने काम भएबाट अहिलेको परिस्थिति निम्त्याउन मलजल गरेको बताउँदै नेता नेपालले भने, “सरकारले पनि जनता र छिमेकीको मन जित्ने काम गर्नुपर्छ, भारतले पनि परिपक्वता देखाउन सकेको देखिँदैन ।”

संविधानसभाबाट संविधान जारी गर्ने काम धेरै गाह्रो, चुनौती र अप्ठेरो भए पनि नेपालले एउटा इतिहास रचेको बताउँदै उनले भने, “अत्यन्तै धेरै ठूलो समर्थनमा संविधान पारित भएको छ । संविधानका विषयमा विरोध, आपत्ति र असहमति हुन सक्दछ । त्यसलाई गम्भीरतापूर्वक लिन जरुरी छैन । संविधानका विषयमा गलत सूचना प्रवाह भएकाले सबै मिलेर त्यसलाई चिर्न सक्नुपर्दछ ।”

कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले संविधानमा नसमेटिएका विषयवस्तुलाई संशोधनमार्फत पूर्णता दिइनुपर्ने बताए । “संशोधनले संविधानलाई कमजोर नभई बलियो नै बनाउँछ, यसैले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित प्रगतिशील नेपालको संविधानलाई सफल बनाउँछ”–उनले भए ।

नेपाल दक्षिण एसियाकै पुरानो मुलुक भएकाले संविधान निर्माणका क्रममा भारत, अमेरिका र दक्षिण अफ्रिकालगायत देशका अनुभवलाई आधार मानिएको पनि उनले बताए ।

मञ्चका अध्यक्ष एवम् पूर्वसभामुख तारानाथ रानाभाटले संविधानमा रहेका विवादास्पद प्रावधानलाई संशोधनबाट हटाई राष्ट्र, राष्ट्रियता बचाउँदै देशलाई आत्मनिर्भर बनाउने आर्थिक, सामाजिक अभियान सार्थक बनाइनुपर्ने बताए । “यसका लागि विवेकसम्मत व्यवहारिक र वस्तुनिष्ठ समाधान दिने थलो सङ्घीय संसद्को पहिलो बैठकलाई बनाउन सक्नुपर्छ, यसको माध्यम संविधान संशोधन नै हो,” उनले भने ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताका प्रतिनिधिबाट संविधान प्राप्त गर्ने नेपाली जनताको चाहना संविधान जारी गरेसँगै पूरा भएकाले कार्यान्वयनमा आउने सबै खाले चुनौतीलाई सबै मिलेर परास्त गर्नुपर्ने धारणा व्यक्त गरे ।

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य लेखराज भट्टले केही नेताको मात्र मुख हेरेर कर्णाली र सुदूरपश्चिमका जनता सबै सम्पन्न भए भन्ने परिभाषा गरिनु न्यायपूर्ण नहुने बताए ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सचेतक योगेन्द्र चौधरीले विदेशीलाई गाली गरेर मात्र राष्ट्रियता बलियो नहुने बताए ।
समारोहमा मुलुकमा लोकतन्त्र स्थापनाका लागि उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका वरिष्ठ राजनीतिज्ञ एवम् क्लबका संस्थापक अध्यक्ष रामहरि जोशीलाई ५० हजार रूपैयाँ राशिको लोकतान्त्रिक उत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो । सम्मानपछि मन्तव्य व्यक्त गर्दै नेता जोशीले तराईले वर्तमानमा उठाएका मागलाई सहानुभूतिपूर्वक विचार गर्नुपर्ने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment