२१ असोज, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले एउटै भाषा र सस्कृति भएको देशसँग आवेशमा आएर ‘टिट फर ट्याट’ को व्यवहार गर्न नहुने बताएका छन् ।
‘भावनामा बगेर मात्रै धेरै दिन टिक्न नसकिने’ भन्दै उनले दक्षिणले दिएन भनेर उत्तरबाट ल्याउने कुराले समाधान नदिने दावी गरे ।
अहिले देखिएको इन्धन संकट समाधानको लागि खपत कम गर्ने र रोकिएको आपूर्ति सुचारु गर्न तत्काल कूटनीतिक पहल गर्ने बाहेक अरु कुनै विकल्प नभएको पोखरेलले बताए ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै योजना आयोगका उपाध्यक्ष पोखरेलले भने-‘अहिलेको इन्धन संकटबाट बच्न विजुलीबाट खाना पकाउने र सौर्य उर्जाको विकासमा लाग्नु पर्छ ।’
दिर्घकालिन समाधानको लागि उर्जा उत्पादन गर्नुको विकल्प नभएको भन्दै उपाध्यक्ष पोखरेलले तत्कालका लागि सरकारले इलेक्ट्रोनिक सवारी साधानमा छुट दिनु पर्ने सुझाव दिए ।
उर्जा उत्पादनमा अन्धराष्ट्रवादी नबन्न आग्रह गर्दै उनले भने-‘नेपालले भारतलाई विजुली बेचेको अवस्था भएको भए यो समस्या आउने नै थिएन ।’ पोख्रेलले नेपालमै उत्पादन हुने इथानोल १० प्रतिशत पेट्रोलमा मिसाउने कुरा समेत अहिलेसम्म कार्यान्वयन हुन नसकेको गुनासो गरे ।
कार्यक्रममा उर्जा अध्ययन केन्द्रका प्रा.डा. अमृतमान नकर्मीले विजुली पर्याप्त भए पेट्रोलियम पदार्थको आयातमा ५० प्रतिशत कटौति गर्न सकिने धारणा राखे ।
सौर्य विद्युत उत्पादक संघका अध्यक्ष दिपकबहादुर शाहीले सौर्य उर्जालाई प्राथमिकता दिए छोटो समयमै संकट समाधान गर्न सकिने बताए ।
ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापाले केही दिनमै ५० प्रतिशतको खाना पकाउने ग्यास सकिएर भयावह अवस्था आउने उल्लेख गर्दै सरकारले तत्काल कुटनीतिक प्रयासबाट समस्याको समाधान वा बैकल्पिक ब्यवस्था गर्न लाग्नु पर्ने बताए ।
उनले भने-‘तराईको समस्या समाधान हुन समय लाग्छ भने अरु देशबाट ल्याउने विषयमा पनि सोच्नु पर्छ । चीनबाट आउँछ भने ल्याउन तत्काल पहल गर्नु पर्छ ।’