Comments Add Comment

नेताको भान्छामा ग्यास जोगाउन बिजुलीको प्रयोग

Kp Oli, Prachanda, Dauba and chitra Bdr Kc

२६ असोज, काठमाडौं । नाकाबन्दीका कारण इन्धन संकटले जनता आक्रान्त बनिरहेका छन् । ग्यास अभावले कतिपयको चुल्हो बल्न छाडेको छ । तेल नभएर निजी सवारी साधनहरु थन्किएका छन् ।

यो नाकाबन्दीले नेताहरुलाई चाहिँ कत्तिको पिरोलेको छ त ? के जनताले जस्तै सास्ती नेताले पनि भोगिरहेका छन् त ? अनलाइनखबरले खोजीनिति गर्दा नेताहरुको अवस्था त्यति दयनीय देखिएन ।

प्रायः नेताका घरमा कम्तिमा १५ दिनलाई ग्यासको जोगाड छ भने ग्यास जोगाउन उनीहरुले विद्युतीय सामग्रीको अत्यधीक प्रयोग गर्न थालेका छन् । गाडीमा हाल्ने तेल पनि उनीहरुले पाइरहेकै छन् ।

ग्यासको विकल्पमा विद्युतीय उपकरण,  तेलको चिन्ता छैन

Pm Kp Oli (5)

बालकोटको निजी निवास छोडेर बालुवाटार सर्ने तयारीमा छन् नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली । त्यहाँ उनले पक्कै इन्धनको समस्या झेल्नुपर्ने छैन ।

त्यसो त बालकोटस्थित निजी निवासमै पनि ओलीलाई समस्या परिसकेको छैन । सहयोगी राजेश बज्राचार्यका अनुसार एउटा ग्यास सिलिण्डर प्रयोग भइरहेको छ भने अरु खाली छन् । तर, ग्यासको विकल्पमा राइस कुकर, हिटर जस्ता विद्युतीय उपकरणहरु प्रयोग हुने गरेको उनले जानकारी दिए ।

‘बिजुली आएका बेलामा सकभर इलेक्ट्रोनिक सामान नै प्रयोग गर्छौं,’ बज्राचार्यले अनलाइनखबरसित भने । निवासमा सुरक्षाकर्मीको टोलीले दाउराको समेत प्रयोग गर्न थालेको उनको भनाइ छ ।

गाडीमा हिँड्न अहिलेसम्म तेलको अभाव व्यहोनुपरेको छैन ओलीले । ‘तेलको व्यवस्था सेक्युरिटीले गर्छ,’ बज्राचार्य भन्छन्, ‘हामीले चिन्ता लिनुपर्दैन ।’

चुल्हो बलिरहेको छ, १५-१६ दिनलाई ढुक्क

Prachanda (14)

त्यस्तै एमाओवादी अध्यक्ष प्रचण्डको निवासमा पनि चुल्हो बलिरहेकै छ । अब कम्तिमा १५-१६ दिनलाई ढुक्क रहेको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरलाई बताए ।

‘सकभर ग्यासको खपत कम गरिरहेका छौं,’ उनले भने, ‘तर यसको मतलब खानपिनमै कटौती गरिएको छ भन्ने होइन । ग्यासको विकल्पमा बत्ति भएका बेला विद्युतीय सामग्रीहरु प्रयोग गरिरहेका छौं ।’

ओलीलाई जस्तै प्रचण्डलाई पनि तेलको समस्या खासै नपरेको खड्काले जानकारी दिए । उनले भने, ‘अहिले काठमाडौं बाहिर जाने काम परेको छैन, टाढा जानु नपरेको अवस्थामा तेलको समस्या व्यहोर्नुपरेको अवस्था छैन ।’

ग्यासको वचत, विजुलीबाटै खाना पाक्छ

Sher bdr deuba

उता नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पनि खाना पकाउन विद्युतीय सामग्रीको प्रयोग बढेको छ । सहयोगी भानु देउवाका अनुसार ग्यास वचत गर्नका लागि सम्भव भएसम्म विजुलीबाटै खाना पकाउने गरिएको छ ।

देउवा निवासमा पनि अब १५ दिन चल्ने जति ग्यास रहेको देउवाले जानकारी दिए । उनले भने, ‘ग्यास सिलिण्डर ल्याइदिन्छौं भनेकाहरुले ल्याइदिएका छैनन् । अहिले भएको ग्यासले दसैं कटाउन गाह्रो छ ।’

देउवालाई गाडीमा हाल्ने तेलको भने समस्या छैन । भानु भन्छन्, ‘पहिलेजस्तो सहज नभए पनि डिजेल पाइरहेकै छौं ।’

१० दिन भो ग्यास खोजेको, अझै भेटिएन

baburam

एमाओवादी नेता डा. बाबुराम भट्टराईको निवासमा भने ग्यास सकिने-सकिने अवस्था छ । सहयोगी विश्वदीप पाण्डेले १० दिनदेखि ग्यास धुईपत्ताल खोजे पनि नपाएको बताए । ग्यास सकिन लागेकाले खानेकुराको आइटममै प्रभाव पारेको उनको भनाइ छ । ‘कहिले तरकारीमा झोल हालिन्छ, कहिले दालसित लटरपटर पारेर खाइन्छ,’ पाण्डेले भने ।

गाडीमा हिँड्न तेलको समस्या नरहेको उनले जानकारी दिए । ‘तेलचाहिँ जसरी तसरी मिलाइएको छ,’ उनले भने । तेलका लागि सोर्स लगाइदिन बाक्लो फोन आउने गरेको पाण्डेले उल्लेख गरे ।

अब १५ दिन जति भात पाक्छ

mohan baiddhya

उता नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यको निवासमा पनि एउटा सिलिण्डर चलिरहेको छ । दुई वटा सिलिण्डर रहेकोमा एउटा पहिल्यैदेखि खाली थियो । चालु सिलिन्डरले अब १५ दिन जति भात पाक्ने सहयोगी अरुण उपाध्यायले बताए । वैद्यको घरमा एक सिलिण्डर ग्यासले एक महिनाजति काम चल्छ । नाकाबन्दी लागेयता वैद्यले गाडीमा लामो यात्रा गरेका छैनन् । ‘यताउति हिँड्नलाई तेल पुगिरहेकै छ,’ उपाध्यायले भने ।

एमाओवादी नेता अग्नि सापकोटाको घरमा तत्काल ग्यास सकिने अवस्था छैन । सौभाग्यवस नाकाबन्दीअघि उनले ग्यास भरेका थिए । ६ जनाको परिवारलाई यसले दसैंसम्म धान्ने र दसैंमा घर जाने भएकाले समस्या नरहेको उनका छोरा दीपक सापकोटाले बताए । ग्यास खपत कम गर्न यहाँ पनि राइस कुकर, हिटर, ब्वाइलर लगायत विद्युतीय सामग्रीहरु प्रयोग भइरहेको छ ।

तेलको अभावका कारण सापकोटाले गाडी चढ्न भने निकै कम गरेका छन् । नजिकका ठाउँहरुमा सकभर हिँडेरै जाने गरेका छन् भने कहिलेकाहीँ अरुको मोटरसाइकलमा लिफ्ट मागेर पनि हिँड्छन् ।

एमाले नेता रवीन्द्र अधिकारीले जनताले व्यहोरेको दुखको तुलनामा नेताहरुको दुख ठूलो नभएको प्रतिक्रिया दिए । उनको घरमा धेरै दिनदेखि राइस कुकरको अत्यधीक प्रयोग भइरहेको छ । ‘सम्भव भएसम्म धेरै कुरा राइस कुकरमा पकाउने गरिएको छ,’ अधिकारीले भने, ‘खानेकुरामा पनि धेरै कटौति छ ।’

चित्रबहादुर केसी लिफ्ट माग्न अभ्यस्त

chitra bdr kc one day with onlinekhabr (1)

नाकाबन्दीपछि आम काठमाडौंवासी जस्तै चित्रबहादुर केसी पनि मोटरसाइकलमा लिफ्ट माग्न अभ्यस्त बनेका छन् । प्रायः सार्वजनिक सवारीमा हिँड्ने केसी पछिल्लो समय भिडभाडले गर्दा लिफ्ट माग्न वाध्य बनेका हुन् ।

मंगलबार भैरहवा पुगेका केसीले टेलिफोनमा अनलाइनखबरसित भने, ‘आधा बाटो माइक्रो चढेँ र आधा बाटो लिफ्ट चढेर यहाँ आइपुगेको हुँ ।’ काठमाडौंमा हुँदा गाडी चढ्न सक्ने अवस्था नरहेकाले लिफ्ट मागेरै काम चलाइरहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment