Comments Add Comment

गैरआवासीय नेपाली संघः उपलब्धि र चुनौतीहरु

शेष घले

गैरआवासीय नेपाली संघको सातौं अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि काठमाण्डौमा सुरु भएको छ । बिश्वका ७१ देशबाट आएका करिव १ हजार २ सय प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बिहीवार संघको नयाँ नेतृत्वका लागि मतदान हुनेछ भने शुक्रबारदेखि सातौं बिश्व सम्मेलन सुरु हुनेछ ।
बुधबार सम्मेलनको उद्घाटनपछि संघका अध्यक्ष शेष घलेले स्वागत मन्तब्य दिँदै संघका उपलब्धि र आगामी कार्यभारबारे प्रकाश पारेका छन् ।

nrn ktm confrence

प्रस्तुत छ, घलेले गरेको सम्बोधनको पूर्णपाठ

कार्यक्रमका सभापति ज्यू,  संस्थाका संस्थापक अध्यक्ष, प्रमुख संरक्षक एवं संरक्षकज्यूहरु, निवर्तमान अध्यक्षज्यू तथा संसारभरबाट अधिवेशनमा भाग लिन आइपुग्नुभएका गैरआवासीय नेपाली साथीहरु, सर्वप्रथम गैरआवासीय नेपाली संघको सातौं अधिवेशनमा म यहाँहरु सवैलाई हार्दिक स्वागत गर्न चाहन्छु ।

हामी दुई बर्षपछि पुनः काठमाण्डौमा भेटिएका छौं, केही साथीहरु पहिलोपटक आफ्नो समुदायको प्रतिनिधित्व गर्दै यहाँ आउनुभएको छ । देशमा उत्पन्न असहज परिस्थीति र त्यसले निम्त्याएको अभावकावीच हामी दुःख र संघर्ष गर्दै अविधेशनको सुरुवात गरेका छौं, यी सवै पीडा बिर्सदै म यहाँहरुलाई सातौं महाधिवेशनमा हार्दिक स्वागत गर्दछु ।

‘नेपालीका लागि नेपाली’ भन्ने नारासहित सन् २००३ मा लण्डनबाट सुरु भएको गैरआवासीय नेपाली अभियान आज ७१ देशमा फैलिएको छ, लाखौं गैरआवासीय नेपाली साथीहरु यसमा आबद्ध हुनुभएको छ । आज बिदेशमा रहेका नेपालीहरुको साझा संस्था र सुखदुःखको साथीका रुपमा गैरआवासीय नेपाली संघ स्थापित भइसकेको छ । मातृभूमीले हामीलाई ठूलो भरोसा र बिश्वासका साथ जिम्मेवारी दिन थालेको छ ।

१२ बर्षको अबधिमा यो संस्थाले जति प्रगति हाँसिल गरेको त्यो आफैमा प्रसंसनीय छ । म यो सोंचका जन्मदाता, संस्थापक साथीहरु र अग्रजहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु । यति सुन्दर सोंच यहाँहरुले अगाडी नसारेको भए, यसको संजाल विस्तार गर्न हाम्रा अग्रजहरुले पसिना नबगाउनुभएको भए आज हामी यसरी संसारभरका नेपालीहरु एउटै छाताभित्र हुने थिएनौं । यो सवै यहाँहरुको सोंचको उपज हो ।

आज यो मञ्चमा उभिएर हामीले विगत १२ बर्षका उपलब्धिको समिक्षा गर्दै आगामी एक वा दुई दशकमा संस्थालाई कता लैजाने र कस्तो बनाउने भन्ने तय गर्नैपर्छ । गैरआवासीय नेपाली संघलाई अगाडी बढाउँदै गर्दा हामीले नेपाल भित्र र बाहिर सवैतिर संघप्रति तीब्र आकांक्षा जगायौं ।

सीप र पूँजीको लगानीदेखि बैदेशिक रोजगारीका समस्यासम्म, नेपालमा सम्बृद्धिको साझेदार बन्नेदेखि आर्थिक कुटनीतिसम्म हामीले आफ्नो उपस्थिति जनाउन खोज्यौं । तर, हाम्रो समुदायको सामथ्र्य त्यो तहमा बनिसकेको छैन कि सरकारले समेत गर्न नसकेका, बहुर्राष्ट्रिय संलग्नता जरुरी रहेका संबेदनशील मुद्दामा गैरआवासीय नेपाली संघले समाधानको छडी चलाउन सकोस् ।

त्यही कारण एक चरणमा गैरआवासीय नेपाली संघप्रति धेरै आलोचना हुने गरेको तथ्यलाई हामीले मनन् गर्नैपर्छ । हो, त्यस्ता मुद्दाहरुमा गैरआवासीय नेपाली संघ एउटा सक्रिय साझेदार बन्न सक्छ, आफ्नो संजाल र स्रोतसाधनलाई उपयोग गर्न सक्छ । तर, हामीले मात्र गर्न सक्छौं भनेर जिम्मा लिनु भर्खरै संस्थागत हुँदै गरेको सामाजिक संस्थाको सामथ्र्यको बिषय हैन, यसले उल्टै भ्रम सिर्जना गर्छ, समुदायलाई निराश बनाउँछ ।

यही बिषयलाई आत्मसात गर्दै मैले आफ्नो कार्यकाल सुरु गरेसँगै संस्थाले गर्न नसक्ने कामलाई आफ्नो लक्ष्य र जिम्मेवारीबाट हटाउने र गर्न सक्ने काममा मात्र केन्द्रीत हुने प्रकृया थालेको हुँ । गैरआवासीय नेपाली संघले कहाँकहाँ कसरी सहभागिता जनाउन सक्छ ? हाम्रो सामथ्र्य के हो ? त्यसलाई पहिचान गरी हामीले अल्पकालिन र दीर्घकालिन लक्ष्य तय गर्नै पर्छ । हामीले आगामी २ बर्ष, ५ बर्ष, १० बर्ष र २० बर्षमा गैरआवासीय नेपाली संघलाई कुन रुपमा हेर्न चाहेका छौं ? यसलाई कसरी विकाश गर्न चाहेका छौं ? त्यसको खाका बनाएर, त्यसैलाई मार्गदर्शक ठानेर अगाडी बढ्नैपर्छ । नत्र हामी कुहिरोको कागझैं अनेकौं मुद्दामा अल्भिmएर हाम्रा लक्ष्यहरुबाट टाढा पुगिसकेका हुनेछौं ।

गैरआवासीय नेपाली साथीहरु, झण्डै दुई वर्ष अगाडी ‘नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै यो संस्थामा बसेर देशलाई केही योगदान दिन सकिन्छ भन्ने साथीहरुको आग्रहलाई स्वीकार गर्दै मैले गैरआवासीय नेपाली संघको नेतृत्वको यात्रा थालेको थिएँ ।

त्यतिबेला मेरो मनमा केही डर भए पनि अहिले म तपाईहरुमाझ उभिएर गौरवसाथ भन्दैछु कि, मैले यो दुई बर्षको प्रत्येक मिनेट एनआरएनए सँगै बिताएँ, सागसँगै हिडेँ उठबस गरेँ । संस्थाका अग्रजहरुले तय गरेका प्राथमिकतालाई अगाडी अगाडी बढाउन र कार्यन्वयन गर्न मैले सम्पूर्ण शक्ति लगाएँ । म यति भन्न सक्छु कि यहाँहरुमध्ये धेरैले मैले जस्तै अनुभूति गर्नुभयो होला ।

आज, गैरआवासीय नेपाली संघले नेपालभित्र र बाहिर जुन इज्जत र मान प्रतिष्ठा पाएको छ, नेपाल सरकार, नेपाली जनता, गैरआवासीय नेपालीहरुले यो संस्थालाई जति भरोसायोग्य ठानेका छन्, बिदेशी संघसंस्थाले एनआरएनलाई जति बिश्वाशिलो साझेदार सम्भिmएका छन् त्यो सबै एकै दिनमा वा सानो मेहेनतले सम्भव भएको हैन ।

त्यसमा संस्थाका अग्रजहरुले गर्नुभएका अथक मेहेनत र संसारभर छरिएर रहुनुभएका तपाइहरुजस्तै गैरआवासीय नेपाली साथिहरुको बिस्वास, भरोसा, मेहेनत सवैभन्दा हो । बिदेशि भुमिमा आर्जेको सीप, पुँजी वा भवनालाई आˆनै मुलुकको सम्बृद्धिमा खर्च गर्ने त्यहि भावनाको एकिकृत स्वरुप हो आजको गैरआवासीय नेपाली संघ ।

साथीहरु, अब म तपाईहरुलाई दुई बर्षको बिचमा संस्थाले हासिल गरेका केही मुख्य उपलब्धि र तीनको अवस्थाबारे अवगत गराउने अनुमति चाहन्छु ।

मैले कार्यकाल सम्हालेसँगै संस्थालाई सुदृढिकरण गर्ने र संस्थागत विकाशलाई पहिलो प्राथमिकतामा राखेको थिएँ । संस्थाको आफ्नै कार्यालय भवन, आफ्नै आम्दानीको स्रोत नभएसम्म दिगो विकाश हुन सम्भव छैन भन्ने मान्यताअनुसार सन् २००७ मै घोषणा भएको भवन निर्माणको एजेण्डालाई मेरो नेतृत्वमा रहेको कार्यसमितिले अगाडि बढायो ।

विश्वभरका गैरआवासीय नेपालीहरुको भावना र एकताको प्रतिकको रुपमा भवन बनाउने योजनाअनुसार एनआरएन साथीहरुबाटै रकम संकलन गरेर भवन बनाउन मैले करिव ९ महिनासम्म बिश्वका बिभिन्न मुलुकको भ्रमण गरेर रकम संकलनका लागि समुदायवीच पुगेँ । यो अभियानमा हजारौं गैरआवासीय नेपालीहरुले आफ्नो खल्ती र गास काटेर एक-एक डलर सहयोग गर्नुभएको छ । जसबाट झण्डै १९ करोड रुपैयाँको प्रतिबद्धता आइसकेको छ भने, १३ करोड रुपैयाँमा बालुवाटारमा जग्गा खरिद भइसकेको छ । आठौं अधिवेशन अगाडी नै हामी आफ्नै कार्यालयमा सरिसक्ने छौं भन्ने मेरो बिश्वास छ । हाम्रो संस्थागत विकाशको यो पहिलो खुडकिलो हुने छ ।

गैरआवासीय नेपाली संघले स्थापना कालदेखि नै माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताको सम्बोधन हालै जारी भएको संविधानमा भएको छ । एनआरएनले अब राजनीतिक बाहेकका सवै अधिकारसहितको नागरिकता पाउनेछन् । तर, कानुन बन्न बाँकी नै छ, त्यससम्बन्धी ऐन नबन्दासम्म हामीले नागरिकता पाउने सुनिश्चितताका लागि खवरदारी र पैरवी गरिरहनुपर्ने छ । नागरिकतासँगै अब मुलुकमा पूँजी र सीप लगानीका लागि गैरआवासीय नेपालीहरुले गरेको प्रतिबद्धतालाई पुरा गर्नुपर्ने बेला आएको छ ।

दुई बर्षको अबधिमा बैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सन्दर्भमा धेरै काम भएका छन् । बैदेशिक रोजगारीका क्रममा पीडामा पर्ने नेपाली श्रमिकका लागि संघको पहलमा पहिलोपटक ‘बैदेशिक रोजगार कल्याणकारी कोष’ स्थापना भई संचालनको पर्खाइमा छ ।

बैदेशिक रोजगारीमा जाने नेपालीलाई सही सूचना दिने उदेश्यले श्रमग्राममा नेपाल सरकार र अन्तराष्ट्रिय श्रम संगठनसँगको सहकार्यमा ‘बैदेशिक रोजगार सूचना केन्द्र’को स्थापना गरिएको छ । बैदेशिक रोजगारीका क्षेत्रमा सही सूचना दिने उद्देेश्यले एप निर्माणका लागि अमेरिकी सरकारसँगको सहकार्यमा एप निर्माण सुरु गरिएको छ । बिदेशबाट फर्किएका कामदारलाई सहुलियत ऋण दिन र उनीहरुको उद्यमशिलता विकाश गर्न दुईवटा राष्ट्रसंघीय निकायसँग सहकार्य थालिएको छ । मानव बेचबिखन र दासता उन्मुलनका लागि इन्टरपोलसहितको संयन्त्रसँग भर्खरै सहकार्य थालिएको छ भने वाक पि|m फाउण्डेसनसँग पनि सहकार्य गरिएको छ ।

बैदेशिक रोजगार आफैमा धेरै पक्ष र देशहरु संलग्न भएको अत्यन्तै धेरै समस्यायुक्त क्षेत्र हो जसबाट सिर्जित समस्या समाधानका लागि एनआरएनको सानो पहल समुद्रमा एक थोपा पानीजस्तै भइरहेको छ । त्यसैले बहुदेशिय र बहुपक्षीय कोसिसविना यस्ता समस्या समाधान गर्न निकै कठिन रहेको तथ्य यहाँहरु सवैले मनन् गर्नुभएकै छ । गैरआवासीय नेपाली संघले गर्ने सानो सानो कोसिसले पक्कै पनि केही सकरात्मक परिवर्तन ल्याउने छ ।

देशमा पूँजी र सीप लगानी भित्राउने गैरआवासीय नेपाली संघको प्रमुख लक्ष्य हो । गैरआवासीय नेपाली संघ आफै लगानी भित्राउने काम गर्दैन, यो सामाजिक संस्था हो तर यसले लगानी भित्राउनका लागि उत्प्रेरित गर्छ र सहजीकरण गर्छ । गैरआवासीय नेपालीहरुले नेपालमा कति लगानी गरेका छन् भन्ने यकिन तथ्याङ्क आउन नसकेको अबस्थामा त्यसको लगत निकाल्ने उदेश्यसहित संघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई अनुसन्धान गर्ने जिम्मा दिएका थियौं । पहिलो चरणमा काठमाडौंसहित ९ जिल्लामा गरिएको अध्ययनबाट करिव ३० अर्बको लगानी गरिएको तथ्य प्राप्त भएको छ ।

आगामी दिनमा हामी सवै जिल्लाको तथ्याङ्क लिने र त्यसको केन्द्रीकृत सूचना गैरआवासीय नेपाली संघको सचिवालयमा राख्ने योजना बनाइरहेका छौं । सवै गैरआवासीय नेपाली साथीहरुले आफुले नेपालका गरेको लगानीको सूचना दिएर सहयोग गर्नुभयो भने हामीमाथि लाग्दै आएका आरोपको निराकरण गर्न सजिलो हुनेछ । मलाई आशा एवं बिश्वास छ, आगामी दिनमा सवै गैरआवासीय नेपाली साथीहरुले आफुले नेपालमा गरेको लगानीको सूचना संघलाई दिएर सहयोग गर्नु हुनेछ ।

लगानीको सन्दर्भमा कुरा गर्दा, दुई बर्षको अबधिमै गैरआवासीय नेपालीहरुद्वारा ठूला परियोजनामा लगानी भएको छ । आठ अर्ब रुपैयाँको लागतमा शेराटन होटल सुरु भएको छ भने, धुलिखेल, चितवन, पोखरा र मुस्ताङमा तारे होटल रिसोर्टमा उल्लेखनीय लगानी भएको छ । यही अवधिमा साथीहरुले कृषि क्षेत्रमा पनि उल्लेखनीय लगानी गरिरहनुभएको छ ।

यसैगरी गैरआवासीय नेपालीको सीप लगानीको मार्ग खुला गर्ने महत्वपूर्ण परियोजना खुला बिश्वबिद्यालयको स्थापनामा निकै प्रगति हाँसिल भएको छ । गैरआवासीय नेपालीको समेत स्वामित्व हुनेगरी नेपाल खुला बिश्वबिद्यालय स्थापनासम्बन्धी विधेयक तयार भई संसदमा पेश भएको छ ।

बैशाख १२ गते आएको बिनासकारी भूकम्पका बेला गैरआवासीय नेपाली संघले मातृभूमीको घाउमा मल्हम लगाउन गरेको कोसिसलाई मैले परोपकारी क्षेत्रमा गरेको एउटा सन्तोषजनक कामको रुपमा लिएको छु । भूकम्प प्रभावित १४ जिल्लामा १७ हजार परिवारलाई गास, बास र कपासजन्य आपतकालिन राहत वितरण गर्न गैरआवासीय नेपाली साथीहरुले निकै ठूलो मेहेनत र लगानी गर्नुभयो ।

तीन सय बढि स्वयंसेवक परिचालन गरी स्वास्थ्य शिविर संचालन तथा निःशुल्क उपचार गर्नुका साथै भूकम्प पिडीतका लागि आवास निर्माण गर्ने लक्ष्यसहित करिव ३५ करोड रुपैयाँ संकलन भइसकेको छ । भूकम्पका बेला हामीले गरेको यही परोपकारका कारण गैरआवासीय नेपाली संघका अध्यक्षलाई सरकारले पुनःनिर्माणमा बैदेशिक सहयोग जुटाउन बिशेष दूत नियुक्त गरेको छ । यो सम्पूर्ण एनआरएनलाई प्राप्त सम्मान र जिम्मेवारी हो ।

राष्ट्र पुनःनिर्माणमा साझेदारी गर्ने लक्ष्यसहति यतिबेला हामी एक हजार घर निर्माणका लागि फिल्डमा होमिने तयारी गरिरहेका छौं । गैरआवासीय नेपाली दिवसका दिन हामीले सरकारसँग सम्झौता गरिसकेका छौं, अब गैरआवासीय नेपाली साथीहरुले संकलन गरेको करिव ३५ करोडको लागतमा भूकम्प प्रतिरोधी र स्थानीय संस्कृतिमैत्री घर निर्माण गरी दुई बर्षभित्र पिडीत परिवारलाई ओत दिने दायित्व हाम्रो काँधमा छ ।

गैरआवासीय नेपाली संघले गरेका यिनै कामप्रतिको बिश्वास र भरोसाका कारण संस्थाको विस्तार र विकाशमा समेत गुणात्मक परिवर्तन आएको छ । दुई बर्ष बिदेश बसेकालाई मात्र एनआरएन मान्ने ऐनका कारण हाम्रा पंजीकृत सदस्य घटने हुन कि भन्ने डर थियो । तर, दुई बर्षको अबधिमा २० हजार पंजीकृत सदस्य थपिएर करिव ५० हजार पुगेका छन्, हाम्रो संजाल ६५ देशबाट ७१ देशमा पुगेको छ । संस्थाभित्र प्रजातान्त्रिक बिधि र प्रकृयामार्फत् नेतृत्व चयनको बिधि स्थापित भएको छ । मैले यसलाई संस्थागत बिकाश र परिपक्कताका रुपमा लिएको छु ।

गैरआवासीय नेपाली साथीहरु,
समय, परिस्थिति र हाम्रो मेहनतले गैरआवासीय नेपाली संघका अगाडी अथाह अबसर र त्यति नै चुनौतीका चाङ खडा गरिदिएको छ । अबसर यो अर्थमा कि, हामी राष्ट्र पुनःनिर्माणको साझेदार बन्दैछौं र सरकारले हाम्रो कामलाई पुनःनिर्माण अभियानकै नमूना हुने बिश्वास गरेको छ । नागरिकतामार्फत् सरकारले दिएको अबसर सदुपयोग गरी सयौं गैरआवासीय नेपालीहरुले नेपालमा लगानी भित्राउन र यहाँ आएर आर्थिक तथा सामाजिक क्षेत्रमा लगानी गर्नेछन् । संस्थाको आफ्नै भवन हुनेछ, स्थायी संरचनाहरु मजबुत हुनेछन् र त्यसले संस्थाको दिगो विकाश सुनिश्चित गर्नेछ । गैरआवासीय नेपाली संघले बैदेशिक रोजगार कल्याणकारी कोष संचालन गर्ने छ, बिदेश जाने कामदारलाई सही सूचना प्रदान गर्न सूचना केन्द्र र मोबाइल एप गरी दूईवटा संयन्त्र परिचालन हुनेछन् ।

गैरआवासीय नेपाली संघको विश्वसनीयता जसरी बढिरहेको छ, नेपाल सरकार, दाता मुलुकहरु र अन्तराष्ट्रिय संस्थाहरुले जसरी गैरआवासीय नेपाली संघलाई भरपर्दो साझेदारका रुपमा लिएका छन् त्यसले आगामी दिनमा हामीलाई ठूला अबसरहरु सिर्जना गर्नेछ ।

तर, यी अवसरहरुलाई सही तरिकाले सम्हाल्न सकेनौं भने यी आफैमा ठूला चुनौती पनि हुन् । ठूलो कर्मचारी संयन्त्र, स्रोत साधन र अनुभव नभएको हाम्रोजस्तो संस्थालाई एक हजार घर निर्माण गर्नु, त्यो पनि दुर्गम गाउँमा, यो चानचुने जिम्मेवारी हैन । बिदेशमा कार्यरत हजारौं नेपालीले दुःख गरेर कमाएको पैसा जम्मा गरेर ३५ करोड रुपैयाँ जम्मा भएको छ । यसको सही सदुपयोग हुन्छ कि हुँदैन भन्ने कुरा सवैभन्दा महत्वपूर्ण पक्ष हो ।

संसारभरिबाट आफ्नो पैसा खर्च गरेर तपाईहरु यहाँ आउनुभएको छ, त्यसको एउटा मुख्य उदेश्य हो यी सवै चुनौतीलाई सामना गर्न सक्ने, नेतृत्व दिन सक्ने आगामी दशकका लागि संरचना तयार गरिदिने नेतृत्व चयन । तपाईको एउटा सानो निर्णयले संस्थालाई कहाँ पुर्‍याउने भन्ने भूमिका खेल्ने छ । हाम्रो चुनौतीलाई अबसरमा रुपान्तर गर्न सक्ने नेतृत्वले नै हरेक गैरआवासीय नेपालीलाई गौरव गर्ने अवसर दिनेछ, किनकी नेतृत्व नै संस्थाको अनुहार हो ।

गैरआवासीय नेपाली संघ अहिले ७१ देशमा फैलिएको संजाल हो, यसको नेतृत्वमा आउन चाहना राख्ने साथीहरुको ठूलो संख्या छ । सवै क्षेत्रको सुन्दर र सन्तुलित प्रतिनिधित्व भई संस्थाको नेतृत्व तयार हुन सक्यो भने मात्र त्यसमा सवैको अपनत्व हुन्छ र स्थायित्व पनि मिल्छ । प्रतिनिधि साथीहरुले यो बिषयमा पनि ध्यान दिनुहुनेछ भन्ने मेरो अपेक्षा छ ।
भूकम्प र आपूर्ति ब्यबस्थामा आएको बाधा अड्चनपछि मुलुक अतिबेला गम्भीर आर्थिक संकटमा छ । यस्तो बेलामा हामी यहाँ भेला भएर हाम्रा नेपाली दाजुभाईको दुःख बुझ्न चाह्यौं, यो दुःखलाई आफ्नै दुःख ठानेर भोग्न र सकेजति योगदान दिन चाह्यौं ।

अधिवेशनमा बिगत दुई बर्षको अबधिमा भएका सांगठकिन तथा आर्थिक प्रतिबेदनहरु पेश हुनेछन् चने बिधान संसोधन सेसन पनि हुनेछ । साथीहरु यी सवै सेसनमा बसेर सक्रिय सहभागिता जनाई आगामी दुई बर्षमा गैरआवासीय नेपाली संघलाई कस्तो बनाउने भन्ने मागनिर्देश गर्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।

अन्त्यमा, सम्मेलनमा सहभागी हुन आउनुभएका सवै साथीहरुलाई हार्दिक स्वागत गर्दै यहाँहरुको मातूभूमीको बसाई सुखद र रोमाञ्चक बनोस् भन्ने कामनासहित म यहाँबाट बिदा चाहन्छु ।

जननी जन्मभूमीस्च स्वर्गादपी गरियसी
जय एनआरएन जय मातृभूमी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment