Comments Add Comment

बिलम्ब शुल्क लिने कन्टेनरविरुद्ध नेपाली व्यवसायी भारतीय अदालतमा

Biratnagar-Jogbani-Naka

२ कात्तिक, काठमाडौं । भारतीय नाकाबन्दीका कारण चीनलगायत तेस्रो मुलुकबाट आयात भएका सामान नेपाल भित्र्याउन नसकिएपछि कन्टेनरलाई बिलम्ब शूल्क तिर्न नसक्ने अवस्था आएको भन्दै नेपाली व्यवसायीहरुले बिलम्ब शूल्क मिनाहाको माग गर्दै कलकत्ताको अदालतमा मुद्दा दायर गरेका छन् ।

भारतको अघोषित नाकाबन्दीका कारण कन्टेनरलाई उसको मूल्यभन्दा बढी बिलम्ब शुल्क तिर्नुपर्ने अवस्था आएको छ ।

यस्तो शुल्क लिन नपाइने भन्दै व्यवसायीहरुले मुद्दा दायर गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले अनलाइनखबरलाई जानकारी दिए । ‘कन्टेनरको मूल्यभन्दा बढी बिलम्ब शुल्क तिर्नुपर्ने भएकाले केही नेपाली व्यवसायीहरुले कलकत्ता अदालत मुद्दा दायर गरेका हुन् ।’ मुरारकाले भने ।

कलकत्तास्थित नेपाली महावाणिज्यदूत चन्द्र घिमिरेका अनुसार एउटा कन्टेनरको मूल्य अढाई लाख रुपैयाँ पर्छ । तर, एउटा कन्टेनरले प्रतिदिन औषत १ सय ३५ अमेरिकी डलर अर्थात १३ हजार ५ सय रुपैयाँ बिलम्बशूल्क लिन्छन् । दुई महिना बिलम्ब हुँदा ८ लाख रुपैयाँसम्म बिलम्ब शुल्क तिर्नुपर्ने देखिएको छ ।

जसअनुसार नेपाली व्यवसायीले दैनिक ४ करोड रुपैयाँभन्दा बढी बिलम्ब शुल्क तिर्नुपर्ने अवस्था आएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य सन्दिप अग्रवालको नेतृत्वको टोलीले कन्टेनर एजेन्टलाई भेटेरै बिलम्ब शुल्क नलिन आग्रह गरेको थियो ।

तर, उनीहरुले स्वीकार गर्न नसक्ने जवाफ दिएका थिए । ‘हाम्रो कारणले सामान अनलोड गर्न बिलम्ब भएको भए सम्झौताअनुसार हामीले बिलम्बशुल्क तिर्नुपथ्र्यो’ मुरारकाले भने-‘भारतले लगाएको नाकाबन्दीका कारण ढिलो भएकाले यस्तो शुल्क नलिन आग्रह गरेका हौं ।’

भारतको नाकाबन्दीका कारण तेस्रो मुलुकबाट आयात भएका सामान कलकत्ता बन्दरगाहमै दुई महिनादेखि थन्किएको महावाणिज्यदूत घिमिरेले जानकारी दिए । सामान्यतया कलकत्ता बन्दरगाहबामट आयात गर्दा नेपाल २१ दिनसम्म बिलम्ब शुल्क नलिने र त्यसभन्दा बढी भए यस्तो शुल्क लिने चलन छ ।

वाणिज्यदूताबासले गत शुक्रबार मात्रै सबै पक्षलाई बोलाएर छलफल गरेको थियो । छलफलमा सिपिङ लाइन एजेन्ट (समुद्री ढुवानीकर्ताका प्रतिनिधि) रेलवे, कार्गो, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि सहभागि थिए ।

छलफलमा सिपिङ लाइन एजेन्ट एसोसिएसनका अध्यक्षले आफूहरुले बिलम्ब शुल्क छुट गर्ने निर्णय गर्न नसक्ने भन्दै मुख्य कम्पनीलाई यसबारे जानकारी गराउने जवाफ दिएका छन् ।

वाणिज्यदूत घिमिरेका अनुसार तेस्रो मुलुकबाट सामान आयात हुने क्रममा ६ हजार ९ सय कन्टेनर भारतमा अलपत्र अवस्थामा छन् ।
नेपालको प्रवेसबिन्दुमा मात्रै ३ हजार ९ सय ५० कन्टेनर अलपत्र अवस्थामा छन् ।

घिमिरेका अनुसार राक्सौल नाकामा सबैभन्दा बढी २ हजार ५ सय, जोगवनी नाकामा ५ सय र भैरवहा नाकामा १ सय ५० कन्टेनर अलपत्र परेका छन् । अन्य नाकामा कन्टेनरहरु अलपत्र पर्नु परेको छैन । कलकत्तामा मात्रै ३४ सय कन्टेनर नेपाल प्रवेस गर्ने पर्खाइमा रहेको घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment