Comments Add Comment

नाकामा तस्करको ‘मिनी पेट्रोलपम्प’ (फोटो फिचरसहित)

belahiya ma mini petrol pump=

सलमान खान
१२ कात्तिक, भैरहवा । तस्करहरुले रुपन्देहीको भैरहवा नाकामै ‘मिनी पेट्रोलपम्प’ सञ्चालन गरेर खुलेआम इन्धनको कालोबजारी गरिरहेको पाइएको छ । भारतीय नाकाबन्दीको कारण सिर्जित इन्धन अभावको मौका छोपेर खुलेआम कालोबजारी भैरहे पनि स्थानीय प्रशासनले कुनै रोकटोक लगाएको छैन ।

रुपन्देहीको बेलहिया नाकामा मात्रै दैनिक हजारौं लिटर तेलको कालोबजारी भइरहेको प्रत्यक्ष देख्न सकिन्छ । बाटो, गल्ली, बजार, पसल सबै स्थानमा महंगो मूल्यमा तेलको खुलेआम बिक्री भैइरहेको छ ।

घरमै तस्करको ‘मिनी पेट्रोलपम्प’

तस्करहरुले प्रहरी चौकी नजिकैको अधिकांश व्यक्तिको घरहरुमा ठूलाठूला ड्रमहरुमा इन्धन भण्डारण गरिएको छ । उक्त स्थानलाई स्थानीयहरुले ‘मिनी पेट्रोलपम्प’को संज्ञा दिएका छन् । तस्करहरुले भारतबाट नेपालमा इन्धन ल्याउँछन्, भण्डारण गर्छन् र चर्को मूल्यमा बिक्री गर्छन् ।

स्थानीय प्रशासन यी सबै क्रियाकलापबारे जानकार छ तर हस्तक्षेप गर्दैन । जसका कारण कालोबजारी गर्नेहरुको मनोबल बढेको छ । इन्धनको कालोबजारी गर्नेहरु संख्यासमेत बढ्दै गएको छ । रुपन्देहीको नाकाबाट हाल बच्चादेखि बुढासम्म रिक्सा चालकदेखि ट्याक्सी चालकसम्मले तेलको तस्करी गरिरहेका छन् ।

belahiya ma mini petrol pump-

स्थानीय व्यक्तिहरु भन्छन्, ‘यहाँको प्रहरी प्रशासन कालोबजारीबाट जानकार छ तर चुप लागेर बस्छ । इन्धनको कालोबजारी गर्न मौन स्वीकृति दिएको जस्तो देखिन्छ ।’

सीमापारीको भारतीय पेट्रोलपम्पमा ११० रुपैयाँ पर्ने एक लिटर पेट्रोल तस्करहरुले खुलेआम २ सयदेखि २५० रुपैयाँसम्ममा बिक्री वितरण गरिरहेका छन् । त्यस्तै काठमाडौं, पोखरा लगायतका शहरहरुमा पुर्‍याउनेहरुले ४-५ सय रुपैयाँ प्रतिलिटरमा पेट्रोल बिक्री गरिरहेको उनीहरु बताउँछन् ।

तस्करहरुले भारतीय मोटरसाइकल र ट्याक्सीहरुमा तेल भरेर सीमा क्षेत्रमा ल्याउँदै खन्याउँदै गर्छन् र भण्डारण गर्छन् । उक्त तेल नेपालका सार्बजनिक गाडी धनि, मोटरसाइकल चालक, उद्योगी व्यवसायीले महंगो मूल्यमा किन्छन् ।

ग्यास समात्ने, तेल किन छोड्ने ?

बेलहियामा प्रहरी चौकी नजिक (कोटहीमाई मन्दिर जाने बाटोमा) सुरेन्द्र जयसवालले घरमा तेलको भण्डारण गरेका छन् । खुलेआम चर्को मूल्यमा बिक्री वितरण गर्छन् । तर, प्रहरी प्रशासनले पक्राउ गर्नु त कता हो कता एकपटक सोधपुछसमेत गरेको छैन ।

बेलहियामा खाना पकाउने ग्यासको कालोबजारी गरिरहेको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । तर सोही बेलहियामा तस्करहरुले ‘मिनी पेट्रोलपम्प’ संचालन गरेर चर्को मूल्यमा तेल बिक्री गरेर कालोबजारी गरिरहँदा प्रहरीले पक्राउ गर्न सकेको छैन ।

ग्यासको कालोबजारी गरिरहेको व्यक्तिलाई पक्रेर कारवाही प्रक्रिया अगाडि बढाउने प्रहरीले तेलको कालोबजारी गर्ने जयसवाललाई भने केही नगर्नुले प्रहरी र जयसवालबीच आर्थिक चलखेल हुनसक्ने स्थानीय आशंका गर्छन् ।

सुरेन्द्र जयसवालले दैनिक १५० देखि २ सय लिटरसम्म पेट्रोल विक्री गर्ने गरेको दावी गरे । तर स्थानियका अनुसार जयसवालले दैनिक एक हजार लिटरभन्दा बढी तेल कारोबार गर्दै आएका छन् ।

belahiya ma mini petrol pumpl

भारतीय पेट्रोलपम्पलाई भारतीय प्रशासनले ग्यालेनमा तेल नदिन उर्दी जारी गरेपछि भारतीय तस्करहरुले मोटरसाइकल र ट्याक्सीको ट्यांकीमा इन्धन भरेर नेपालसम्म पुर्‍याउने गरेका छन् । भारतीय तस्करहरुले सीमावर्ती भारतीय बजार नौतनवास्थित पाँचवटै पेट्रोलपम्पमा तस्करीका लागि तेल लिन भारतीय सवारीको लाम लगाएपछि नेपाली र भारतीय सर्वसाधारणले समेत तेलका लागि सास्ती खेप्नु परेको छ ।

यदि रुपन्देही प्रशासनले इन्धन तस्करीमा रोक लगाएमा सीमावर्ती भारतीय बजारको पेट्रोलपम्पमा भारतीय तस्करको चाप घट्ने र नेपाली सर्वसाधरणले सहजरुपमा तेल पाउने भैरहवाका राजु क्षेत्री बताउँछन् । तर प्रशासनले तस्करीमा रोक नलगाउँदा कालोबजारी बढेको, भारतीय पेट्रोलपम्पमा समेत नेपाली सर्वसाधारणले तेलको लागि सास्ती खेप्नु परेको उनको भनाई छ ।

मिसावटयुक्त तेलबाट तस्कर मालामाल

इन्धन अभावले सर्बसाधारण मर्कामा परे पनि तस्करहरु मालामाल भएका छन् । प्रशासनले तेलको तस्करीमा रोक नलगाएपछि रुपन्देहीको सीमावर्ती भारतीय गाउँ सेमरपानीका एक व्यक्तिले तेलकै कालोबजारी गरेर करिब ७ लाख रुपैया आम्दानी गरेको बताए ।

‘भारतबाट मोटरसाइकलको ट्यांकीमा पेट्रोलमा हालेर ल्याउन कुनै रोक छैन । यहाँ नेपालमा पनि बढी मूल्यमा बिक्री गर्न रोक नभएपछि कमाई त भइहाल्छ नि,’ उनले हाँस्दै अनलाइनखबरसँग भने, ‘यहाँ बिक्री गर्ने मूल्य अली उतार चढाव त भइराख्छ, त्यही दुई सयदेखि दुई सय पचास रुपैयाँमा बिक्री गरिन्छ तर काठमाडौं र पोखरा पठाउँदा पेट्रोल ४५० रुपैयाँ प्रतिलिटर बिक्री गरिरहेको छु ।’ उनले डिजेल प्रतिलिटर १ सय ३० रुपैयाँमा बिक्री गरिरहेको बताए ।

petrol ma tarpin ko tel mix gariyera bikri gariyeko petrol _

महंगो मूल्यमा इन्धन खरिद गर्नेहरुले शुद्ध तेल भने पाउँदैनन् । कालोबजारी गरी बिक्री गर्ने डिजेल र पेट्रोलमा तस्करहरुले तारपीनको तेल मिसाउने गरेका छन् । कतिपयले पानी समेत मिसाउने गरेको पाइएको छ । डिजेल, पेट्रोलको मूल्य भन्दा तारपीन तेलको मूल्य कम रहेका कारण तस्करहरुले डिजेल, पेट्रोलमा तारपीनको तेल मिसाएर बिक्री गरिरहेको पाइएको छ ।

प्रहरी भन्छ उजुरी नै आएन

रुपन्देहीको सीमानामा बेलहियास्थित तस्करहरुले प्रहरी चौकी नजिकै ‘मिनी पेट्रोलपम्प’ संचालन गरेर खुल्लमखुल्ला कालोबजारी गरिरहेपनि प्रहरी भने मौन बसेको छ । प्रहरी चौकी नजिकैबाट मात्रै दैनिक हजारौं लिटर तेलको कालोबजारी भइरहेको प्रत्यक्ष देख्न सकिन्छ ।

चौकी नजिकै तेलको कालोबजारी भइरहे पनि कार्यालयमा तेलको कालोबजारी गर्ने व्यक्तिविरुद्ध उजुरी नपरेको कारण कारवाही प्रक्रिया नथालिएको इलाका प्रहरी कार्यालय बेलहियाका इन्चार्ज एवम् प्रहरी निरीक्षक अभयकुमार शाहले अनलाइनखबरलाई बताए ।

प्रहरीको नियमावलीमा कसैले कानुन विपरीत कुनै पनि कार्य गरेको पाइएमा प्रहरीले त्यसलाई सबुत प्रमाणका साथ पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाउनेसक्ने उल्लेख छ । तर चौकी नजिकै खुलेआम तस्करहरुले ‘मिनी पेट्रोलपम्प’ सञ्चालन गरेर कालोबजारी गरिरहेपनि प्रहरीले भने उजुरी कुरिरहेको छ ।

उनले कार्यालयमा उजुरी नपरे पनि मोटरसाइकलको ट्यांकीमा तस्करी गरेर तेल ल्याउने गरेको व्यक्तिलाई भगाउने गरेको दावी गरे ।

सुविधा पत्र लिन ‘तस्कर’को लाइन

मुलुकमा तेलको अभावका कारण भारतीय बजारमा नेपाली सवारी लिएर तेल लिन जाने नेपालीहरुबाट भारतीय प्रहरीले रकम असुल्ने गरेका छन् ।

subida patra lina vansaar indian ko lineनेपालबाट नेपाली नम्बर प्लेटको सवारी लिएर भारतीय बजार नौतनवासम्म जानका लागि निःशुल्कमा पाइने ‘सुविधा पत्र’ दिनका लागि भारतीय प्रहरीले प्रति सवारी एक सय भारतीय रुपैयाँ असुल्ने गरेको बेलहियामा भेटिएका बुटवलका सन्दिप भण्डारीले बताए ।

भारतीय तस्करहरुले सुविधा पत्र लिनका लागि भैरहवा भन्सारमा लाम लाग्ने गरेका छन् । भारतबाट सवारी साधनका साथ नेपाल प्रवेश गर्नका लागि भारतीयले सवारीको भन्सार गराउनुपर्ने वा नजिकै जानका लागि निःशुल्क सुविधा पत्र लिनुपर्ने हुन्छ । सोही अनुसार उनीहरुले सुविधा पत्र लिएर सहजै भारतीय सवारीको ट्यांकीमा भरेर ल्याएको नेपालमा बिक्री गरेर जाने गर्दछन् ।

दैनिक दश ट्यांकर बढी तेल खपत

मुलुकमा इन्धनको अभाव भएपछि सीमावर्ती भारतीय बजार नौतनवा क्षेत्रमा मात्र दैनिक दस ट्यांकर बढी तेल खपत भइरहेको हिन्दुस्तान टाइम्सका पत्रकार आलोक जोशीले बताए ।

IMG_1829

नेपालमा इन्धन अभाव भएको कारण तस्करहरुले बिना कुनै रोकछेक खुलेआम तस्करी गर्न पाउँदा दैनिक दस ट्यांकर बढी तेल खपत भइरहेको उनले बताए । रुपन्देहीको सीमादेखि भारतको ५० किलोमिटर क्षेत्रसम्म प्रत्येक पेट्रोलपम्प तस्करहरुको चाप छ ।

राजश्व गुम्यो

भारतले पूर्णरुपमा नेपालमा तेल नपठाएपछि तस्करहरुले तेलको तस्करी गरिरहँदा दैनिक लाखौ रुपैयाँसमेत राजश्वसमेत घाटा लागिरहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

तेलको खुल्ला कारोबार भइरहँदा सानो लापरवाहीले ठूलो क्षति हुन सक्ने सरोकारवालाहरु बताउँछन् । गत कात्तिक ८ गते भैरहवास्थित बैंक कलोनीका संजय सिंहले आफ्नै घरमा राखेको पेट्रोल नवलपरासीका बलभद्र सुवेदीलाई दिने क्रममा पेट्रोलमा आगो लाग्दा दुवै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यस्तै प्रशासनले तस्करको ‘मिनी पेट्रोलपम्प’लाई बेवास्ता गर्दा तस्करहरुले भिडभाड हुने बेलहिया बजारमै दैनिक हजारौ लिटर स्टक गरेर राखेर कालोबजारी गरिरहेको तेल कुनै कारणबस आगो लागेमा ठूलो क्षति हुनसक्ने बेलहियाका बासिन्दा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment