Comments Add Comment

ईयूबाट बाहिरिने प्रस्तावमा ब्रिटेन सरकार पराजित

१२ चैत, काठमाडौं । युरोपेली संघ (ईयू) बाट बाहिरिने प्रयासमा ब्रिटेनको संसदमा भएको निर्वाचनमा सरकार पराजित भएको छ । सोमबार भएको मतदानमा सरकारको पक्षमा ३०२ र विपक्षमा ३२९ मत परेको छ ।

तर प्रधानमन्त्री टेरिजा मेले अझै पनि ईयूबाट ब्रिटेन बाहिरनुपर्ने अडानमा कायमै छिन् । उनले भनिन्, ‘आगामी २२ मेभित्र सम्झौतासहित ईयूबाट बाहिरिनु नै ब्रिटेनको लागि हित हुने छ ।’

प्रधानमन्त्री मेले सांसदहरुको निर्णय आफूले मान्ने सुनिश्चित नभएको बताएकी छन् । त्यसैले बुधबार पुनः यस विषयमा मतदान हुनेछ । यसअघि गत फागुन २८ गते पनि भएको मतदानमा यही प्रस्ताव अस्वीकृत भएको थियो ।

ब्रिटेन ईयूबाट बाहिरिने कि नबाहिरने भन्ने विषयमा निकै बहस भइरहेको छ । सरकारका कतिपय मन्त्री र सांसदहरु पनि ईयूबाट बाहिरिन नहुने पक्षमा छन् । प्रधानमन्त्री टेरिजाको मतसँग असहमति राख्दै तीन जना मन्त्रीहरूले राजीनामा दिएका थिए ।

ईयूबाट बाहिरिनुपर्ने प्रस्ताव संशोधनको लागि सत्तारुढ कन्जरभेटिभ पार्टीकै सांसद ओलिभर लेट्वीनले संसदमा प्रस्ताव दर्ता गराएका थिए । संसोधन प्रस्तावमा विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले समर्थन गरेका थिए । नेता कोर्बिनले प्रधानमन्त्री मेको प्रस्ताव स्पष्ट रूपमा विफल भइसकेकाले अब आमचुनावको घोषणा हुनुपर्ने बताएका छन् ।

ईयूबाट ब्रिटेन बाहिरिन खोजेको यो प्रयासलाई ‘ब्रेक्जिट’ भनिन्छ । ‘ ब्रिटेन’ र ‘एक्जिट’ दुई शब्दलाई जोडेर ‘ब्रेक्जिट’ भनिएको हो ।

यदि कुनै राष्ट्र ईयूबाट बाहिरिन चाहेमा लिस्बन सन्धिको एउटा अंश धारा ५० को प्रक्रियाबाट गुज्रिनु पर्दछ । त्यसका लागि ईयुसँग वार्ता गर्नुपर्छ । बहिर्गमनबारे कुनै पनि सहमति तोकिएको बहुमतले पारित हुनुपर्ने र युरोपेली संसदका सदस्यको समर्थन पनि लिनु पर्ने व्यवस्था धारा ५० मा छ । बहिर्गमनको प्रक्रिया दुई वर्षभित्र पूरा गर्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment