News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा काठमान्डु गोर्खाजले साविक विजेता जनकपुरलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।
- अमेरिकी खेलाडी मिलिन्द कुमारले बलिङमा ३ विकेट र ब्याटिङमा १९ रन बनाएर म्यान अफ द म्याच घोषित भएका छन्।
- पहिलोपटक नेपालमै फ्लडलाइटमा खेलिएको खेलमा दुवै टोलीका युवा खेलाडीले राम्रो प्रदर्शन गरेका थिए।
१ मंसिर, काठमाडौं । काठमाडौंमा सोमबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा काठमान्डु गोर्खाजले विजयी सुरुवात गर्यो ।
नेपाली क्रिकेट इतिहासमै पहिलोपटक फ्लडलाइटमा खेलिएको खेलमा गोर्खाजले बलिङ र ब्याटिङ दुवैमा प्रभावशाली प्रदर्शन गर्यो ।
गत सिजन नेट रनरेटमा केही पछाडि परेर प्लेअफमा पुग्न नसकेको काठमान्डुले यसपटक साविक विजेता जनकपुरलाई नै पराजित गरेर बलियो सुरुवात गरेको छ ।
बेलुकाको खेल भएकाले टस पनि महत्वपूर्ण रह्यो । काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका थिए । जनकपुरले त्यति राम्रो योगफल खडा गर्न नसक्दा काठमान्डुले सहज जित हात पार्यो ।
आजको खेलमा दुवै टोलीका लागि युवा खेलाडीले पनि मौका पाएका थिए । काठमान्डुका लागि युवा खेलाडी सन्तोष यादवको प्रदर्शन तारिफयोग्य रह्यो । यता जनकपुरका मयन यादवले पनि संयमित ब्याटिङ गरेका थिए ।
काठमान्डुका अमेरिकी खेलाडी मिलिन्द कुमारले अलराउन्ड प्रदर्शन गरे भने ब्याटिङमा इंग्लिस ओपनर बेन चार्ल्सवर्थको शानदार सुरुवात रह्यो ।

पहिलो खेलको पिच स्पीन बलरलाई धेरै फलदायी रहेको पनि देखिएको छ । काठमान्डुले लिएका ६ मध्ये ५ विकेट स्पीनरको नाममा रह्यो भने जनकपुरले लिएका ५ मध्ये ४ विकेट स्पीनरले लिए ।
विशेषगरी पहिलो इनिङमा बढी प्रभावकारी स्पीन बलिङ देखिँदा जनकपुर ठुलो योगफल खडा गर्नबाट वञ्चित भयो । कप्तान करण केसीले पनि स्पीनरहरूबाट राम्रो प्रदर्शन भएको बताए ।
‘टीयूमा नखेलेको एक वर्ष भएको थियो, हामीलाई पनि चेक गर्नु थियो’ करणले भने, ‘स्पीनरहरूले राम्रो प्रयोग गरे ग्रास विकेटको र त्यही अनुसारको रिजल्ट पनि भयो।’
जनकपुरका कप्तान अनिल साहले ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा हार भएको स्वीकारे । ‘विकेट राम्रै थियो, सुरुवात भएअनुसार ब्याटिङ लामो समय हुन सकेन’ उनले भने, ‘मिडल अर्डरमा पार्टनरशीप बनाउन सकेको भए राम्रो हुन्थ्यो।’
अनिलले पिचमा सोचेभन्दा बढी स्पीन सहयोगी भएको बताए । ‘हामीले सोचेभन्दा बढी ग्रिप भइरहेको थियो, लामो समयपछि खेलेका थियौं, स्पीनलाई यति सहयोगी हुन्छ भनेर सोचेका थिएनौं’ अनिलले भने ।
मिलिन्दको अलराउन्ड प्रदर्शन
अमेरिकी खेलाडी मिलिन्द कुमारले काठमान्डुको जितमा अलराउन्ड प्रदर्शन गरे । उनले बलिङमा ३ विकेट लिए भने ब्याटिङमा एक छक्कासहित १९ रन बनाए ।
मिलिन्दको घातक बलिङमा जनकपुरका ब्याटरहरू चल्न सकेनन् । मार्की खेलाडी आसिफ शेखले अर्धशतक तथा मयन यादवले ३४ रन अनि लाहिरु समारकूनले अन्त्यतिर २२ रन बनाउनुबाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।

मिलिन्दले गत सिजन जनकपुरका स्टा्यन्डआउट पर्फमर रहेका लाहिरु मिलान्थालाई आउट गराएका थिए भने कप्तान अनिल साहलाई शून्यमै पेभेलियनको बाटो देखाए । त्यस्तै जान निकोल लफ्टी इटनलाई पनि बोल्ड गर्दै आफ्नो खेलको ७ ओभरभित्रै ३ ब्याटरलाई आउट गरेका थिए ।
यता ब्याटिङमा उनले एक छक्कासहित १९ रनको योगदान दिए । खेलको प्लेयर अफ द म्याच पनि मिलिन्द नै घोषित भए ।
मिलिन्दबाहेक ओपनर बेन चार्ल्सवर्थले पनि २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनको आक्रामक पारी खेले ।
काठमान्डुका कप्तान करणले नेपाली र विदेशी दुवैबाट राम्रो प्रदर्शन भएकाले खेल जितेको बताए । ‘राम्रो सुरुवात भयो । घरेलु र विदेशी दुवै खेलाडीले राम्रो गरे’ करणले भने ।
आसिफको पहिलो अर्धशतक
जनकपुरका मार्की आसिफ शेखले दोस्रो संस्करणको पहिलो अर्धशतक बनाए । उनले ४१ बलमा ६ चौका र १ छक्कासहित ५४ रन बनाएर आउट भएका थिए ।
आसिफले सुरुवातदेखि नै अट्याकिङ शटहरू खेलेपनि अर्को एन्डबाट विकेट गइराख्दा दबाबमा परेका थिए । फलस्वरुप उनले इनिङलाई लम्ब्याउन सकेनन् ।
आसिफको स्कोर खेलको सबैभन्दा उच्च स्कोर रह्यो तर उनको टोली भने विजयी हुन सकेन ।

कप्तान अनिलले पनि आसिफलाई साथ दिन अर्को इन्डमा कोही नभएको र त्यहीकारण साझेदारी नबन्दा राम्रो स्कोर खडा गर्न नसकेको बताए ।
‘आसिफले राम्रो स्टार्ट गरेका थिए, उनलाई साथ दिन कोही भएन, १३० रन धेरै कम नै बनेको हो’ अनिलले भने, ‘हामीले १५० भन्दा माथिको स्कोर सोचेका थियौं।’
युवा खेलाडीहरूलाई मौका
आजको खेलमा दुवै टोलीले यू-१९ स्तरमा खेलेका खेलाडीहरूलाई पनि मौका दिएका थिए । जनकपुरका मयन यादव तथा काठमान्डुका सन्तोष यादव र आकाश त्रिपाठीले नेपालको यू-१९ टोलीबाट खेलेका छन् ।
यी तीनवटै खेलाडीको प्रदर्शन आजको खेलमा राम्रो रह्यो । मयन यादवले जनकपुर ७८-५ को अवस्थामा हुँदादेखि लाहिरु समारकूनसँग साझेदारी बनाउँदै लगेका थिए ।
मयनले २९ बलमा ४ चौका र १ छक्कासहित अविजित ३४ रन बनाए । उनले लाहिरु समारकूनसँग मिलेर ४८ रनको साझेदारी गरेका थिए जुन् जनकपुरका लागि इनिङकै सर्वाधिक साझेदारी थियो ।

यता काठमान्डुका लागि सन्तोष यादवले ३ ओभरमा १७ रन दिएर १ विकेट लिए। उनले अमेरिकी ब्याटर सञ्जय कृष्णमुर्तीलाई बोल्ड गरेका थिए ।
त्यस्तै काठमान्डुका ओपनर आकाश त्रिपाठीले पनि ५ चौकासहित ३९ रन बनाए । उनले बेन चार्ल्सवर्थसँग मिलेर पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । त्यही सुरुवातले काठमान्डुको जितको आधार तय भएको थियो ।
फ्लडलाइटमा खेल्न पाउँदा खुसी
पहिलोपटक नेपालमै फ्लडलाइटमा खेल्न पाउँदा खेलाडीहरू पनि उत्साहित रहे । काठमान्डुका कप्तान करण केसीले ऐतिहासिक खेल भएको र धेरै खुसी लागेको बताए ।
‘ऐतिहासिक क्षण रह्यो । पहिलो खेल थियो फ्लडलाइटमा । धेरै खुसी लागेको छ, दर्शकको पनि राम्रो साथ रह्यो’ करणले भने, ‘अलिअलि चिसो पनि भयो, तर जित निकाल्न पाउँदा खुसी नै लागेको छ।’
यस्तै जनकपुरका कप्तान अनिल साहले पनि नेपालमै फ्लडलाइटमा खेल्ने सपना पूरा भएको बताउँदै धेरै खुसी लागेको कुरा उल्लेख गरे ।
प्रतिक्रिया 4