Comments Add Comment

माथिल्लो चाकु आयोजनामा ग्यास पड्किँदा ४ जनाको मृत्यु भएको पुष्टि

१२ चैत, सिन्धुपाल्चोक । माथिल्लो चाकु जलविद्युत आयोजनामा ग्यास सिलिण्डर पड्किँदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । विष्फोटमा दुई जनाको शवको केही भाग साेमबार नै फेला परेको थियो भने दुई जना हराइरहेका थिए ।

म‌ंगलबार विहान हराइरहेकाहरुको पनि कपाललगायत शवका केही अंगहरु फेला परेकाले चारै जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले मंगलबार दुई जनाको कपाललगायत शवका केही अंश फेला परेकाले चारै जनाको मृत्यु भएको पुष्टि भएको बताए ।

सोमबार बेलुकी ६ बजेतिर भान्साकोठामा सिलिण्डर पड्किँदा जलविद्युत आयोजनामा कार्यरत मजदुर हुम्ला घर भएका सन्डुप लामा र दोलखा घर भएका भाइकाजी शेर्पाको मृत्यु भएको थियौ । त्यस्तै हेटौडाका एचएम थापा मगर र ओखलढुङ्गाका गोपाल श्रेष्ठको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ग्यास सिलिण्डर पड्किँदा मृत्यु भएका कसैको पनि शव सग्लो भेटिएको छैन । दुई जनाको त कपालमात्रै भेटिएको प्रहरीले जानकारी दिएको छ । मजदुर बस्ने जस्ताको टहरो समेत विस्फोटमा ध्वस्त भएको छ ।

भोटेकोशी गाउँपालिका,फुल्पिङकट्टिमा जलविद्युत आयोजनाको बाँधस्थल नजिकै ग्यास बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सीआरसीको मजदुर बस्ने क्याम्पमा सिलिण्डर पड्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment