Comments Add Comment

प्रधानमन्त्रीले उद्योगीलाई भने- नाकाबन्दी लम्बिएलाजस्तो छ

Pashupati-Murarka

  • प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर बाहिरिँदै उद्योगी व्यवसायीहरु

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लगाउँदै आएको नाकाबन्दी अझै लम्बिने संकेत गरेका छन् । विहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले नाकाबन्दी अझै लम्बिने संकेत गरेका हुन् ।

भारतले लगाइरहेको अघोषित नाकाबन्दी र मधेसमा भइरहेको आन्दोलनका कारण उद्योगधन्दाहरु चौपट भएको गुनासो लिएर उद्योगी व्यवसायीहरु प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए । टोलीमा उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, शेखर गोल्छालगायत थिए ।

उद्योगपतिसँगको भेटमा प्रधानमन्त्रीले नाकाबन्दी अझै लम्बिन सक्ने भन्दै त्यसको सामनाका लागि तयार हुन र राष्ट्रियताको अभियानमा मद्दत गर्न उद्योगपतिलाई आग्रह गरेको सहभागी एक उद्योगपतिले बताए ।

साथै प्रधानमन्त्री ओलीले मधेसवादी दलहरुसँग वार्ता भइरहेकाले वार्ता र सम्वादकै माध्यमबाट चाँडो समस्या समाधानको प्रयास सरकारले गरिरहेको बताएका थिए ।

तर, विदेशीले दिने अनुचित दबावका अगाडि नझुक्ने प्रधानमन्त्रीले उद्योगीहरुलाई बताएका थिए । उद्योगीहरुसँग छलफल गर्नुपूर्व प्रधानमन्त्री ओलीले विभिन्न दातृ निकायका अधिकारीहरुसँग सिंहदरबार छलफल गरेका थिए ।

दातृ निकायका प्रतिनिधिहरुले अहिलेको नाकाबन्दी र भूकम्पपछिको पुनर्निर्माणबारे चासो देखाएका थिए । प्रधानमन्त्रीले नाकाबन्दीका कारण भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माण हुन नसकेको जानकारी गराएका थिए ।

साथै उनले पुनर्निर्माण प्राधिकरणलाई अन्तिम रुप दिन सरकार लागिपरेको जानकारीसमेत गराएका थिए ।

छलफलमा मुख्यतः भूकम्पपछिको पुनर्निर्माणका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment