Comments Add Comment

संविधान बोकेर एमाले नेताहरु मधेस झरे

Madhav-Nepal

२१ कात्तिक, काठमाडौं । नयाँ संविधानको किताब बोकेर एमालेका शीर्षनेताहरु तराई मधेसतिर लागेका छन् । मधेस आन्दोलनले तीन महिना पूरा गर्न लाग्दा एमालेका नेताहरु तराई झरेका हुन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरिरहेका बेला महासचिव ईश्वर पोखरेल सुनसरीको मधेसी बाहुल्य इनरुवामा थिए ।

मधेसी नेताहरु लालबाबु पण्डित, जगदीश कुसियतसहित पूर्व लागेका महासचिव पोखरेलले इनरुवामा सम्बोधन गर्दा मधेसी समुदायको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमा उपस्थित करीव ५ हजार सहभागीमध्ये आधा मधेसी सहभागी रहेको केन्द्रीय सदस्य कुसियतले अनलाइनखबरलाई बताए । ‘संविधानका बारेमा चलाइएको भ्रम चिर्न सफल भइयो’ उनले भने ।

पार्टीका सचिवद्वय योगेश भट्टराई र भीम आचार्यलाई समेत सँगै लिएर गएका महासचिव पोखरेलले शुक्रवार बिराटनगरमा पनि संविधानका बारेमा रहेका भ्रम चिर्ने प्रयास गरे ।

Madhav-Nepal1

तराई मधेसका दुई प्रमुख पर्व दिपावली र छठको पूर्वसन्ध्यामा एमालेका सम्बन्धित जिल्ला कमिटीहरुले चियापानका नाममा संविधानबारे तराई मधेसमा प्रशिक्षण दिने मौका छोपेका छन् ।

बिराटनगरको कार्यक्रमबाट आफूहरु उत्साहित भएको सचिव भट्टराईले बताए । ‘मधेसी जनता र हाम्रा मधेसी कार्यकर्ताहरुको उल्लेख्य सहभागितामा हामीले धेरै भ्रम चिर्ने प्रयास गरेका छौं’ बिराटनगरबाटै भट्टराईले अनलाइनखबरसँग भने ।

एमालेले शनिबार मोरङको डाँगीहाटमा पनि संविधानको बारेमा मधेसी जनतामा फैलाइएको भ्रम चिर्ने भन्दै यस्तै कार्यक्रम आयोजना गरेको छ ।

सुनसरी, मोरङ र झापाका मधेसी तथा आदिवासी जनता सीमांकनप्रति सन्तुष्ट रहेको र उनीहरु झापादेखि पर्सासम्मकेा प्रदेशको विपक्षमा रहेको पूर्वमन्त्री लालबाबु पण्डितले बताए ।

पण्डितले अनाइनअखबरसँग भने- केही मधेसी मोर्चाका नेता कार्यकर्ता बाहेक अरु कसैले पनि त्यो माग गरेका छैनन्, यदि उनीहरुको माग पूरा भयो भने पूर्वी तराईमा झन् ठूलो आन्दोलन हुन्छ ।’

महासचिव ईश्वर पोखरेल नेतृत्वको टोली पूर्वी तराईमा सक्रिय रहेका बेला माधव नेपाल नेतृत्वको अर्को टोली पश्चिम तराईमा पुगेको छ ।
नेपालले नेतृत्व गरेको टोलीमा उपाध्यक्ष युवराज ज्ञवालीसहित प्रकाश ज्वाला, बलदेव चौधरी, मेटमणी चौधरी, शान्ता चौधरीलगायत सहभागी छन् ।

Uml

थारु बाहुल्य क्षेत्र भएकाले नेता नेपालले आफ्नो टोलीमा थारु नेताहरुलाई पनि राखेका छन् । उता मधेसी बाहुल्य क्षेत्रमा पोखरेलले मधेसी मूलका नेताहरुलाई अघि सारेका छन् ।

शुक्रबार दाङको कार्यक्रममा सयौं थारु समुदायलाई अघि राखेर नेपालले संविधानको ब्याख्या गरे । संविधानको किताब देखाउँदै उनले भ्रममा नपर्न थारु समुदायलाई आग्रह गरेको एमाले नेतृ शान्ता चौधरीले अनलाइनखबरलाई बताइन् ।

दाङपछि नेपाल बाँके जिल्लाको कार्यक्रममा सहभागी हुन नेपालगञ्जतर्फ लागेका छन् । शनिवार नेपालगञ्जमा मधेसी तथा थारु समुदायलाई संविधानका बारेमा पारिएका भ्रम चिर्ने कार्यक्रम रहेको नेता नेपालले बताए ।

नेपालले अनलाइनखबरसँग भने- जनतालाई भ्रममा पारिएको रहेछ, तर धेरै भ्रममुक्त भइसके । हामी हाम्रा कार्यकर्ता र मधेसी तथा थारु जनतालाई संविधान ऐना जस्तै देखाएर फर्किन्छौं ।

संविधान जारी भएलगत्तै नेपाल आफ्नो गृहजिल्ला रौतहट पुगेर कार्यकर्ता भेला गरी फर्केका थिए । आन्दोलन चलेका बेला मधेस झर्ने उनी एमालेका पहिलो शीर्ष नेता हुन् ।

एमालेले शुरुमा पूर्व र पश्चिमबाट मधेसी तथा थारु समुदायलाई संविधानबारे सम्झाउने अभियान चलाउन लागेको एक नेताले अनलाइनखबरलाई बताए ।

उनले भने-शुरुमै आन्दोलनको केन्द्र भाग बनेका जनकपुर वीरगञ्ज जस्ता ठाउँमा कार्यक्रम लैजाँदा झडप हुन सक्ने भएकाले केन्द्रीय नेता जाने कार्यक्रम क्रमशः त्यहाँ हुनेछन् ।

यसबीचमा तराई मधेसका सबै जिल्ला कमिटीहरुले कमिटीहरुकौ बैठक भेला र प्रशिक्षणहरु आयोजना गरिसकेको पोलिटब्यूरो सदस्य सत्रुघन महतोले बताए ।

कार्यकर्ता भेलाका क्रममा सिराहाको धनगढीमा एमाले कार्यकर्ता र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । कार्यकर्तालाई प्रशिक्षित गरेर जनतामा जाने योजना रहेको उनले बताए ।

शनिबार उपमहासचिव घनश्याम भुसाल बारा जाँदैछन् । त्यहाँ पनि एमालेका कार्यकर्तालाई संविधानका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको जिल्ला अध्यक्ष त्रिलोकी चौधरीले बताए ।

शुरुमा आन्दोलन कम भएका जिल्लाहरुमा पसेर विस्तारै मध्य मधेसमा पस्ने योजना रहेको एमालेका मधेसी नेताहरु बताउँछन् । ‘हामी अब आफ्नो निर्वाचन क्षेत्रमा फर्किदैछौं, हामी गएपछि जनतालाई बुझाउँछौं’ पर्सा-२ का एमाले सांसद विचारी यादवले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment