
विश्व प्रशिद्ध सगरमाथा (खुम्बु) पदमार्ग भूकम्पपछि पनि उस्तै छ । सगरमाथाको सुन्दरतामा भूकम्पले कुनै दाग लगाउन सकेको छैन ।
अहिले मुख्य पर्यटकीय मौसम हो । यतिबेला सगरमाथा क्षेत्रका होटल तथा डाँडाकाँडा पर्यटकले भरिभराउ हुनुपथ्र्यो । तर, विनाशकारी भूकम्प र लगातारको बन्द हडतालका कारण पर्यटकको उपस्थिति न्यून देखिएको छ ।
अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत पनि पर्यटक सगरमाथा नआएको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । तर, भूकम्पपछि पनि सगरमाथा क्षेत्र सुरक्षित रहेको छ । पर्यटकको स्वागतका लागि यहाँका होटल तथा लजहरु तयार छन् ।
भूकम्पले भत्किएका होटलहरु पुर्नस्थापित भइसकेका छन् । बाटो तथा पुलहरु सुरक्षित नै रहेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत विभिन्न हिमाल तथा सुन्दर दृश्यहरुको अवलोकन गर्दै पदयात्रा गर्न पाइने हुँदा यो क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ ।
कसरी जाने ?
सगरमाथा क्षेत्रमा आफूलाई अनुकूल पर्ने गरी छोटो तथा लामो पदयात्रा गर्न सकिन्छ । सबैभन्दा छोटो पदयात्रा स्याङबोचेसम्म हुन सक्छ । अलि लामो पदयात्रा गर्न चाहेमा गोक्यो तथा ‘गोक्यो री’सम्मको यात्रा गर्न सकिन्छ । एभरेष्ट बेस क्याम्प तथा कलापत्थर सगरमाथा क्षेत्रको सबैभन्दा लामो पदमार्ग हो ।

स्याङबोचे र गोक्यो सगरमाथा बेसक्याम्प तथा कलापत्थर जाने बाटोमै पर्छ । छोटो अवधिको यात्रामा निस्केका बाटोबाटै फर्किन्छन् भने लामो यात्रा गर्नेहरु कालापत्थरसम्म पुग्छन् । काठमाडौंबाट कालापत्थर पुगेर फर्किन करिव १७ दिनको यात्रा गर्नुपर्छ ।
स्याङबोचेसम्मको पदयात्रा ६ दिनको हुनेछ । काठमाडौंबाट लुक्ला एक दिनमा पुग्न सकिन्छ । दोस्रो दिन नाम्चे हुँदै तेस्रो दिन स्याङबोचे पुग्न सकिन्छ । चौथो दिन मोञ्जो, पाँचौं दिन लुक्ला हुँदै छैठौं दिन काठमाडौ फर्किन सकिन्छ ।
गोक्योसम्मको पदयात्रा अलि लामो हुनेछ । काठमाडौंबाट हिँडेको छैठौं दिन गोक्यो र सातौं दिन ‘गोक्यो री’ पुगेर पुगिन्छ । गोक्यो स्याङबोचेबाट डोले, मचेर्मो हुँदै जानुपर्छ । गोक्यो रीबाट बिहान डोले वा फोर्चे, नाम्चे, लुक्ला हुँदै काठमाडौं फर्किन्छ ।
गोक्यो री करिब ५ हजार ३६८ मिटर उचाइमा पर्छ । यहाँबाट सगरमाथा लगायतका सेता गगनचुम्बी हिमालहरु अवलोकन गर्न पाइन्छ । यसका अलवा यहाँ पुग्दा बाटो निकै आकर्षक र मनमोहक दृश्यहरु भेटिन्छन् ।
यस्तो हुन्छ १७ दिनको यात्रा
सगरमाथा क्षेत्रको लामो पदमार्ग हो, बेसक्याम्प तथा कालापत्थर । प्रकृतिको मज्जा लिँदै नहतारिकन कालापत्थ पुगेर काठमाडौं फर्किन करिव १७ दिन लाग्छ । सगरमाथालाई सबैभन्दा नजिकबाट नियाल्न बेसक्याम्प वा कालापत्थर पुग्नैपर्छ ।

पहिलो दिन हामी काठमाडौंबाट लुक्ला हवाइ जहाजबाट पुग्छौं । चाँडै भयो भने त्यहाँबाट फाक्दिङ पुगेर रात बिताउन सकिन्छ । लुक्लाबाट फाक्दिङ तीन घण्टामा पुग्न सकिन्छ ।
दोस्रो दिन नाम्चे, तेस्रो दिन स्याङबोचे, चौथो दिन डोले, पाँचौं दिन मचेर्मो हुँदै छैठौं दिन गोक्यो पुगिन्छ । सातौं दिन गोक्यो री पुगिन्छ । आठौं दिन गोक्यो रीबाट थाकनाकमा रात बिताउन पुगिन्छ । नवौं दिन चोलापास वा जोङ्ला, दशौं दिन लोबोचे, एघारौं दिन गोरेखसेप हुँदै एभरेष्ट बेस क्याम्प पुगिन्छ ।
बेस क्याम्पको उचाई ५३ सय ८४ मिटर रहेको छ । यहाँबाट सगरमाथा नजिकै हेर्न पाइन्छ । सगरमाथा आरोहीको पनि यही विन्दूबाट आरोहण सुरु हुन्छ । कालापत्थर बेसक्याम्प भन्दा उचाइमा पर्छ । बेसक्याम्प पुगेको दिनमै गोरेखसेप फर्किएर बास बसी बाहर््रौं दिन बिहानै सूर्योदय हेर्न कालापत्थर पुगिन्छ । यहाँ पुगेपछि यात्रा सकिन्छ ।
सोही दिन कालापत्थरबाट गोरेखसेप फर्किएर दिउँसोको खाना खाई काठमाडौंतिरको बाटो तताउन सुरु हुन्छ । तेह्रौं दिन डिङबोचे/फेरिचे, चौधौं दिन तोङबोचे, पन्ध्रौं दिन नाम्चे, सोह्रौं दिन लुक्ला हुँदै सत्रौं दिन काठमाडौं आइपुगिन्छ ।
१७ दिनको यात्रामा विभिन्न ठाउँमा टी हाउस, होटल तथा लजहरु रहेका छन् । खान बस्नका लागि कुनै समस्या हुँदैन् । कतिपय ठाउँमा लज नभए वा भरीभराउ भएमा पाल टाँगेर बस्न सकिन्छ ।
यसरी १७ दिनको यात्रा गर्दा विदेशी पर्यटकले १२ सयदेखि १८ सय डलरसम्म खर्च गर्नुपर्ने हुन्छ । नेपालीको हकमा भने खर्च केही कम लाग्छ । छोटो पदमार्गमा आधा खर्चमै यात्रा गरेर फर्किन सकिन्छ ।























तस्वीरः महेन्द्रराज भुसाल/Sixth Sense Travel
प्रतिक्रिया 4