+
+

प्रधानमन्त्रीज्यू, ‘मिलिट्यान्सी’ शैली नदेखाउनोस् : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २२ गते १९:५४

Ramchandara

२२ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मधेसको समस्या समाधानका लागि सरकार संवेदनशील नभएको आरोप लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मिलिट्यान्सी शैली’ अपनाएको कांग्रेसको आरोप छ ।

साथै कांग्रेसले सबै समस्याको समाधान संसदबाटै खोज्न र संसदबाट नभाग्न सरकारलाई आग्रहसमेत गरेको छ । व्यवस्थापिका संसदको आइतबारको बैठकमा कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले संविधान संशोधन तथा प्राधिकरण पुनर्निमाणसम्वन्धी विधेयक तत्काल संसदमा ल्याउन सरकारलाई आग्रह गरे ।

मधेसको समस्या समाधानको प्रयासमा अघिल्लो सरकारले संशोधन गर्दा गरेपनि नयाँ सरकारले अघि नबढाएको पौडेलको आरोप छ । ‘समस्यामा सरकार संवेदनशील नभएको बुझिन्छ । यो विधेयक किन अल्मल्याउने काम भएको छ ?’ कांग्रेस नेता पौडेलले भने- ‘यसमा कुनै ढिलासुस्ती नगरी आओस् । समाधान गर्ने नियत राखेर अघि बढोस् ।’

कांग्रेस काबा सभापति पौडेलले सरकार र मधेसी मोर्चालाई सबै समस्याको समाधान संसदबाटै खोज्न आग्रह गरे । सरकारले छिट्टै संसदको अधिवेशन अन्त्य गर्ने सुनिएको भन्दै उनले भने-सरकार भाग्न सक्दैन ।’

आरोप प्रत्यारोपमा नउत्रन सरकारलाई सुझाव दिँदै उनले खुला छलफल र वार्ता र अतिरञ्जित नहुने आग्रह गरेका छन् । कोही पनि अतिरञ्जित नबनौं । यसले समस्या झन जटिल भएर जान्छ ।’

अघोषित नाकाबन्दीका कारण नाकामा अवरोध भएको र यसको सामना गर्न सबै एक हुनुपर्ने उनले बताए । ‘प्रतिस्पर्धा गर्नुपर्ने बेलामा राष्ट्रिय सहमतिको कुरा गर्ने । र, राष्ट्रिय सहमति गर्नुपर्ने प्रतिस्पर्धा गर्न खोजिएको छ’ कांग्रेस उपसभापति पौडेलले भने- ‘अघोषित नाकाबन्दीको राष्ट्रिय सहमतिका साथ सामना गर्न सरकारको तत्परता आवश्यक छ ।’

कांग्रेसले ओली सरकारले पूर्ववर्ती सरकारको निर्णयहरु उल्टाएको भन्दै आपत्ति जनाएको छ । ‘मन्त्री बहाली गर्न नपाउँदै टेबलमा आएको छ कसलाई हटाउने र राख्ने’ उनले भने- ‘पूर्ववर्ती सरकारले गरेको नियुक्ति हटाउने काम सुरु भएको छ । यो स्वस्थ प्रतिस्पर्धा होइन ।’

तत्कालीन प्रधानमन्त्रीले न्याय परिषद सदस्यमा गरेको नियुक्ति उल्टाइएकोमा आपत्ति जनाउँदै कांग्रेस उपसभापति पौडेलले भने- ‘३४ दिनमा फिर्ता लिने अधिकार कहाँबाट आयो ? अघिल्लो प्रमले गरेको नियुक्ति बीचमा फिर्ता लिने हो भने सदनमा आएर लिनुपर्छ ।’

उनले ‘मिलिट्यान्सी’ शैली नदेखाउन ओलीलाई आग्रह गरे । ‘सरकार सबै जनताको साझा हो’ उनले भने- ‘राष्ट्रको प्रधानमन्त्री हो कि एउटा पार्टीको ? म सबैको प्रधानमत्री हुँ भन्ने धारणा राख्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?