+
+

इन्धन नेपाल आएको समाचार देखाउँदै भारतीय राजदूतले भने-यो कहाँ गयो ?

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १ गते १९:३५

Ranjit ray

१ मंसिर, काठमाडौं । भारतको नाकाबन्दीका कारण इन्धन अभाव भएर स्कुल बन्द भएको भन्दै निजी विद्यालय सञ्चालकहरुले नेपालस्थित भारतीय दूतावास पुगेर राजदूतलाई ज्ञापनपत्र बुझाएका छन् ।

तर, भारतीय राजदूत रणजीत रायले भने नाकाबन्दी गरेको अस्वीकार मात्र गरेनन्, इन्धन आएको समाचार देखाउँदै यो कहाँ गयो भनेर प्रश्न गरेका छन् ।

निजी विद्यालय र कलेज सञ्चालकहरु मंगलबार ज्ञापनपत्र बोकेर लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । उनीहरुले नाकाबन्दीका कारण पढ्न पाउने बालअधिकार हनन् भएको भन्दै इन्धन र अत्यावश्यक बस्तु सहज रुपमा आपूर्ति गर्न भारतीय राजदूतसँग माग गरेका छन् ।

उनीहरुले ज्ञापनपत्रसँगै संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धीकोप्रति पनि राजदूत रायलाई बुझाएका छन् । स्कुल सञ्चालहरुले बाल मष्तिष्कमा समेत भारतकै कारण नेपाल अप्ठेरोमा परेको बुझाइ रहेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

‘हामीले तपाईं (भारत)को कारण अन्तराष्ट्रिय सन्धी, सम्झौता, कानून र बालबालिकाको पढ्न पाउने अधिकार हनन् भयो भन्यौं’ भेटमा सहभागी प्याब्सन ललितपुरका अध्यक्ष शिव कार्कीले अनलाइनखबरसँग भने-‘साना बालकहरुमा एन्टी इण्डियन सेन्टिमेन्ट बढेको छ । यसलाई छिटो अन्त्य गर्न भारतले अग्रसरता लिओस् भनेका छौं ।’

जवाफमा राजदूत रायले भने नेपालमा भारतविरोधी भावना बढिरहेकोप्रति आफू जानकार रहेको बताएका छन् । साथै उनले यो अवस्थाले भारत र नेपाल दुबै देशको हित नगर्ने धारणा राखे ।

राजदूत रायले भारतले नेपालमाथि नाकाबन्दी नगरेको बरु नेपालकै कारण समस्या आएको दोहोर्‍याएका छन् । ‘यो राजनीतिक इस्यू हो । यसलाई राजनीतिक रुपमै समाधान गर्नुपर्छ’ रायले-‘नेपालको संविधानको भारतले विरोध गरेको छैन । नेपालका दलहरुले असन्तुष्ट पक्षलाई सहमतिमा लिएर जानुपर्छ ।’

भारतले नाकाबन्दी गरेको र इन्धन आपूर्ति नभएको भनेर लगाइएका आरोपको राजदूत रायले खण्डनसमेत गरेका । उनले नेपालको एक अंग्रेजी दैनिक पत्रिकाले लेखेको समाचार देखाउँदै ‘हेर्नुस्, ३० हजार लिटर इन्धन नेपाल आएको छ । यो कहाँ गयो ? भनेर प्रश्न समेत गरेका छन् ।

भारतीय राजदूत रायले रक्सौल नाकामा मात्र अवरोध रहे पनि अरु सबै सीमा नाका खुल्ला रहेको उनले बताए ।

रक्सौल नाकामा मधेसी मोर्चाका नेता-कार्यकर्ताले अवरोध गरेको उनले बताए । ‘हामीले रि-रुटिङ गरेर सामान पनि पठाइरहेका छौं । अवरोध हामीबाट भएको छैन’ भारतीय राजदूत रायले भने-‘वीरगञ्ज नाका भएर हाम्रा गाडी चालकहरु नेपाल आउन मानिरहेका छैनन् । त्यहाँको अवरोध हटे हामीले सामान पठाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?