+
+

ठेक्का लिएको ६ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र

रासस रासस
२०८१ जेठ ५ गते १६:२०

५ जेठ, खोटाङ । कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ । सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्नेगरी याक्थुङहाङ-साप-सिरुवा जेभीले विसं २०७५ असोज १ गते ठेक्का लिएको थियो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भ्याटसहित २१ करोड एक लाख ८८ हजार रुपैयाँङ्गा सम्पन्न गर्ने गरी १० दशमलव ९७४ किलोमिटर सडकखण्ड कालोपत्रको ठेक्का लगाएको थियो । मूल ठेकेदारसँग सम्झौता गरी यसअघि दुईवटा ठेकेदार कम्पनीले पेटी ठेक्का लिएर अलपत्र छाडेका थिए । हाल बाँकी काम गर्ने जिम्मा श्रीनिक बिल्डर्स प्रालिले लिएको छ ।

दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने उक्त सडक अहिले धमाधम कालोपत्र भइरहेको स्थानीयवासी सन्तोष पौडेलले जानकारी दिए । ढिलै भए पनि सडक कालोपत्र हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

सुरुमा राम्चे निर्माण सेवा कम्पनीका कल्याण दाहाललाई प्रतिनिधि राखेको ठेकेदार कम्पनीले दोस्रोपटक खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिका खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको थियो । दाहाल र राईले काम नगरेपछि अहिले श्रीनिक बिल्डर्स प्रालिका प्रोप्राइटर भैरव बस्नेतलाई जिम्मा दिइएको याक्थुङहाङ-साप-सिरुवा जेभीले जनाएको छ ।

कालोपत्र भइरहेको दिक्तेल-खानीडाँडा-आहाले सडक यही जेठ मसान्तमा सम्पन्न गरेर असार पहिलो साताभित्र प्राधिकरणलाई हस्तान्तरण गर्नेगरी काम भइरहेको प्रोप्राइटर बस्नेतले बताए । ‘अघिल्लो ठेकेदार कम्पनीले नाली, साइड ड्रेन, ग्राभेल, बेस तथा सब–बेसलगायत अधिकांश भौतिक संरचनाका काम सम्पन्न गरेको भनेर भुक्तानी लिएका रहेछन् । ती कामहरु अहिले पुनः गर्नुपर्‍यो । हामीले जिम्मा लिएको काम तोकिएको समयमा सम्पन्न गर्ने तयारी छ’, उनले भने ।

अहिले दक्ष जनशक्तिसहित ७० जना कामदार खटिएका र जेठ मसान्तभित्र सबै काम सकिने बस्नेतले बताए ।

अघिल्लो दुईवटा ठेकेदार कम्पनीका प्रतिनिधिले प्राधिकरणबाट १३ करोड ६९ लाख पाँच सय ३८ भुक्तानी लिइसकेका छन् । बाँकी कालोपत्र सम्पन्न गर्न श्रीनिक बिल्डर्स प्रालिले सात करोड २२ लाख तीन हजार चार सय ३५ मा पेटी ठेक्का लिएको हो ।

सडकको नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी ढलान, साइड ड्रेन, ग्राभेलसहित ६.२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा कालोपत्र हुनेछ । १८ महिनाभित्र सम्पन्न गर्ने भनिएको सो सडक विसं २०७५ मङ्सिर १ गते तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेका थिए ।

निर्माणमा ठेकेदारको चरम लापरबाही भएपछि प्राधिकरणले विसं २०७६ पुस ९ गते लिखितरुपमा पत्राचार गरी काम रोक्न निर्देशन दिएको थियो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग दश टिन बालुवा/गिट्टी घोलेर प्रयोग भइरहेको गुनासो आएपछि निर्माण रोकिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?