Comments Add Comment

हामीलाई १५ वर्षमा सम्वृद्ध नेपाल चाहियो !

केशव दाहाल

नेपालमा संविधान बन्यो । तर, जुन हिसाबले आर्थिक सामाजिक विकास हुनुपर्ने नेपालीहरुले ००७ सालदेखि देखेको सपना किन पूरा हुन सकेन ?

Keshav-Dahal1पद्मरत्न तुलाधरले कामेको स्वरमा भन्नुभयो, हामी सबैले किन सात सालदेखि आन्दोलनमात्र गरिरह्यौं ? आखिर किन हामी सडकमा आइरहेका छौं । हामी तीनपुस्तादेखि आन्दोलन गरिरहेका छौं । मेरो बुबा आन्दोलनमा हुनुहुन्थ्यो । मैले आन्दोलन गरेँ । अहिले मेरो छोरा पनि आन्दोलन गरिरहेको छ । तर, अझैसम्म किन कणर्ालीमा खाद्यान्न अभाव छ ? किन एउटा बच्चा कपी तथा सीसाकलम नपाएर स्कुल जान पाउँदैन ?

मलाई लाग्छ, हामीले सात सालदेखि ०७२ सालसम्म आउँदा धेरै राजनीतिक परिवर्तनको कुरा गर्‍यौं तर, कहिल्यै आर्थिक, सामाजिक परिवर्तन हुन सकेन । हाम्रो सहर, हामी आफैं मान्छेहरु सारै पछाडि पर्‍यौं । हाम्रो आधारभूत आवश्यकता नै पूरा हुन सकेन ।

हामी विभिन्न अवसरमा बाहिर जान्छौ । बाहिरका मान्छेका कुरा सुन्छौं, विदेशका कुरा सुन्छौं । आजभन्दा ५० वर्ष अगाडि हामीजस्तै अवस्था रहेका मुलुकको आजको अवस्था हेर्छाैं, बुझ्छौं, देख्छौं र भन्नपर्ने हुन्छ, हामी किन पछाडि पर्‍यौं ? मलाई लाग्छ, हाम्रा अभियन्ता साथीहरुले सोच्ने मुख्य प्रश्न यही हो ।

यत्रो धेरै राजनीतिक परिवर्तन भए पनि किन हामी पछाडि पर्‍यौं ? किन हामी आर्थिकरुपमा समृद्ध हुन सकेनौं ? किन हामी सामाजिकरुपमा समृद्ध हुन सकेनौं ? किन अहिले पनि तिनै महिलाहरु, दलितहरु, जनजातिहरु सडकमा नारा लगाइरहेका छौं । मलाई लाग्छ, हाम्रो राजनीतिमा कहीँ न कहीँ त्रुटी थियो । कहीँ न कहीँ समस्या छ । त्यसैले गर्दा हामीले आशा गरेको कुरा पूरा हुन सकेन । त्यसैले त्यही समस्या समाधानका लागि, हाम्रो राजनीतिमा जे समस्या छ, त्यही समस्या समाधानका लागि हामीलाई नयाँ शक्तिको आवश्यकता भएको हो ।

राजनीतिमा भएको भाषा, संस्कार र ढाँचामा जे समस्या हामीले भोग्यौं, त्यो परिवर्तन गर्नका लागि, ती समस्याको अन्त्यका लागि हामीलाई नयाँ शक्तिको आवश्यकता भएको हो भन्ने मलाई लाग्छ ।

यो अलि ठूलो कुरा हो । यो ठूलो र ऐतिहासिक काम हो । हामी सानो काम गर्दैछैनौं । हामी कुनै पार्टीलाई रीस पोख्नका लागि यो काम गरिरहेका छैनौं । न हामी कुनै व्यक्तिको निजी अपेक्षाका लागि यो काम गरिरहेका छौं । हामीलाई १० वर्ष, १५ वर्षमा समृद्ध नेपाल चाहिएको छ । त्यसैले हामीले यो कुरा गरिरहेका छौं ।

त्यसो भए नयाँ शक्ति कसरी बन्न सक्छ ?

नयाँ शक्ति माओवादी पार्टीबाट आएकाहरुले मात्र बनाउने शक्ति होइन । नयाँ शक्ति सारा नेपालीले आफ्नो समृद्धिका लागि, आफ्ना सपनाहरु पूरा गर्नका लागि बनाउने हो । यहीमात्रै अन्तिम विकल्प हो भन्ने कुरा स्थापित भएमा मात्रै त्यो नयाँ शक्ति बन्छ । त्यो बाबुराम भट्टराईले बनाउने शक्ति होइन ।

मलाई खतरा लाग्यो । हामी सबै बाबुराम भट्टराईप्रति केन्दि्रत भइरहेका छौं । उहाँ महत्वपूर्ण व्यक्ति हो । मेरो पनि नेता हो । उहाँलाई मैले पनि धेरै पढेको छु । तर, हामी यस्तो महत्वपूर्ण अवस्थामा छौं कि हामी सबै मिल्यौ भने मात्रै नयाँ शक्ति बन्न सक्छ । बाबुराम भट्टराईले मात्रै नयाँ शक्तिको डिजाइन गर्ने, र हामी उहाँको पछिपछि हिँड्ने भयौं भने न हामी एक्टिभिष्ट बन्न सक्छौं, न हामी नयाँ शक्ति बनाउन सक्छौं । त्यसैले हामी अभियानकर्मीको भेलाबाट सबै मिलेर नयाँ शक्ति बनाउने भन्दै छौं ।

यसमा तीनवटा कुरा महत्वपूर्ण छन् जस्तो लाग्छ । एउटा हामी नयाँ शक्तिको कुरा गर्दैछौं भने नयाँ शक्तिको राजनीतिक दर्शन के हो ? परम्परागत मार्क्सवाद हो वा कांग्रेसले भनेजस्तै प्रजातन्त्र हो ? के होला ? मलाई लाग्छ, हाम्रा अभियन्ता साथीले यस विषयमा ठूलो बहस गर्न जरुरी छ ।

कम्युनिष्ट पार्टीभन्दा नयाँशक्ति हुन्छजस्तो लाग्दैन । किनभने हामीसँग दर्जनौं कम्युनिष्ट पार्टीहरु छन् । हामीले चलन चल्तीको प्रजातन्त्र र जनताले भोट हाल्न पाउने अधिकार भन्यौं भने त्यो पनि नयाँशक्ति भन्न मिल्दैन हामीसँग त्यस्ता पार्टीहरु पनि छन् । त्यसैले केहो नयाँशक्ति विचारको हिसाबले ?

मलाई लाग्छ-बाबुराम भट्टराई, केशव दाहाल वा खगेन्द्र संग्रौलाबाट मात्र हामीले त्यस्तो विचारको अपेक्षा गर्‍यौं भने त्यो पनि ठीक हुन्छ होलाजस्तो लाग्दैन । त्यसैले, यो बहसमा हामी सहभागी बनौं, हामी अभियन्ताहरुको यो काम हो ।

दोस्रो कुरा, मलाई लाग्छ- विचार त सुन्दर भयो तर नेताहरु, हाम्रो अन्तरपार्टी कल्चर र अन्तरपार्टी लोकतन्त्र ठीक हिसावले अघि बढ्न सकेन भने के होला ? तिनै मान्छेहरु मात्रै हाबी हुने कुरा भयो भने के होला ? पार्टी पानी जमेको कुवाजस्तो मात्रै भयो भने के होला ?

विचार सुन्दर हुँदाहुँदै पनि हामीले कल्पना गरेको नयाँशक्ति नदीजस्तै हुनुपर्छ, त्यो चलायमान हुनुपर्छ । हामीले अपेक्षा गरेको नयाँ शक्तिको अध्यक्ष दुई लाख कार्यकर्ताले प्रत्यक्ष मतदान गरेर चयन गर्‍यौं भने त्यो नयाँ शक्ति हुन सक्छ । संविधान लेखनको सन्दर्भमा हामीले के बहस गर्‍यौं ? कार्यकारी राष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट हुनुपर्छ भन्यौं । हाम्रो शक्तिमा त्यो अभ्यास किन हुन सक्दैन ? हामीले जे भन्यौं, त्यो गर्‍यौं भने त्यो पार्टी हाम्रो नयाँ शक्ति बन्न सक्नेछ ।

प्रत्याह्वान गर्ने विधि हामीले राख्यौं भने त्यो नयाँ शक्ति हुन सक्छ । अलि फरक हिसाबले सोच्यौं भने मात्र हामीले कल्पना गरेको नयाँशक्ति बनाउन सक्छौं । अन्यथा चलनचल्तीकै चीजहरुलाई हामीले स्थापित गर्‍यौं भने नयाँ पार्टी त बन्ला, तर नयाँशक्ति बन्न सक्दैन । फेरि हामीले दुःख पाउँछौं । फेरि मैले पनि दुःख पाउँछु । यो विषयमा हामीले सोचौं ।

महत्वपूर्ण कुरा, हाम्रो कार्यक्रमको कुरा छ । कसरी हामीले १० वर्ष १५ वर्षमा मुलुकलाई समृद्ध बनाउन सक्छौं ? समृद्धिको कुरा गर्दैछौं हामी । नयाँ शक्ति समृद्धिका लागि भन्दैछौं, यसको प्रोग्राम केहो ?

हामीले के गर्‍यौं भने साँच्चै सिसाकलम नपाएर स्कूल जान नपाउने बालबालिका स्कुल जान पाउँछन् । मेरी आमाले उपचार पाउनुभएको छैन, के गर्नुभयो भने उहाँले निःशुल्क उपचार पाउनुहुन्छ ? हाम्रा सडकहरु कसरी बन्न सक्छन् ? हाम्रो सहर कसरी बगैंचाजस्तो बन्न सक्छ ? यो विषयमा हामीले योजना बनायौं भने नयाँशक्ति बन्न सक्छ ।

अभियन्ता साथीहरु ! अभियन्ता भनेको कार्यकर्ता होइन । कार्यकर्ता भयो भने नेता हुन्छ । नेता र कार्यकर्ताको सम्बन्ध हामीले देखिरहेका छौं । नेताले आदेश दिन्छ, कार्यकर्ताले मान्छ । तर, एक्टिभिस्ट वा अभियन्ताको नेता हुँदैन । उ आफैं नेता हो । नेल्सन मण्डेलाले पनि आफूलाई एक्टिभिस्ट भनेका थिए । यो ठूलो कुरा हो ।

मलाई लाग्छ प्रदीप गिरी दाइ पनि अहिले आफूले आफूलाई एक्टिभिस्ट नै भन्न सक्नुहुन्छ, खग्रेन्द्र संग्रौला दाइ एक्टिभिस्ट नै हो । त्यसैले एक्टिभिस्ट नेता हुँदैन, उ आफ्नो विवेकले चल्छ । एक्टिभिस्ट कुनै व्यक्तिको विचारलाई पर्खेर बस्दैन, एक्टिभिस्टले आफैं विचार गर्छ ।

तपाई हामी नयाँ शक्ति कसरी बनाउन सक्छौं ? सबैको विवेकलाई एक ठाउँमा राखौं, तलबाट नयाँशक्ति निर्माणको अभियालाई सुरु गरौं । यो भयो भने साँच्चै नयाँशक्ति बन्छ । त्यो भयो भने नयाँशक्तिमा मेरो पनि ऐक्यवद्धता रहन्छ । मेरो तपाईहरु सबैलाई शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment