Comments Add Comment

मधेसी मोर्चा र एमाओवादीवीच आकस्मिक वार्ता

prachanda-Upendra८ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादी र तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाका शीर्षनेताहरु बीच मंगलबार दिउँसो अकस्मात वार्ता भएको छ ।

राजधानीको एक निजी घरमा झण्डै दुई घण्टासम्म भएको वार्तामा मोर्चाले उठाएका मागहरुमा ठोस सहमति नभए पनि मुलुकको परिस्थितिबारे गम्भीर छलफल भएको नेताहरुले बताएका छन् ।

बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले एकमहिना समय दिएर राजनीतिक समिति बनाउने र सीमांकन मिलाउने प्रस्ताव गरेका थिए । तर, मधेसी मोर्चाका नेताहरुले सीमांकन हेरफेर नगरी सहमति हुन नसक्ने बताएका थिए । स्रोतले भन्यो-‘राजनीतिक मुद्दामा कुनै ठोस सहमति भएको छैन, मधेसी मोर्चा आफ्नो अडानमा कायमै छ ।’

बैठकमा तराई मधेसमा भइरहेको आन्दोलनको समीक्षा समेत भएको छ । एमाओवादी नेताहरुले मुलुकको अवस्था निकै जटिल भएको र तत्काल समस्या समाधान नगर्ने हो भने भौगोलिक अखण्डता र प्राप्त उपलब्धिहरु नै खतरामा पर्न सक्नेतर्फ मोर्चाको ध्यानाकर्षण गराएका छन् ।

स्रोतका अनुसार मधेसी मोर्चाका नेताहरु चाँडो सहमति खोज्ने पक्षमा देखिएका छन् । यसका लागि मोर्चा र एमाओवादी नेताहरुले प्रमुख विपक्षी दल कांग्रेससँग छलफलको तयारी गरेका छन् ।

प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरसँग भने-‘वार्ता सहमति नजिक-नजिक पुगेको छ र निकै सकारात्मक छ । सीमांकनसहितका विषयमा प्याकेजमा समाधान खोज्ने सहमति भएको छ ।’

खड्काका अनुसार अब कांग्रेस र एमालेसहितको बैठक बसेर सहमतिको प्रयास गर्ने समझदारी भएको छ । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने अनौपचारिक सम्वाद भएको बताए पनि थप खुलाउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment