Comments Add Comment

दाजु गुमनाम, भाइ चर्चित !

सगरमाथाबाट ओर्लेका अर्जुन : चलचित्र छाडेर होटलतिर

११ चैत, काठमाडौं । केही समय अगाडिदेखि नै हामीले अभिनेता अर्जुन कार्कीलाई पछ्याइरहेका थियौं । बागबजारको एउटा कफी सपमा भेट्ने तय भयो ।

फुलेको लामो कपाल । झुस्स दाह्री । अर्जुन कार्की अहिले चलचित्रको काम छोडेर होटल व्यवसायतिर लागेका रहेछन् । झापाको दमकमा उनले होटल खोलेका छन् । अब इटहरीमा अर्को होटल सुरुवात गर्ने तयारीमा छन् उनी ।

भाइ विपीनको सफलतामा दंग !

धेरैलाई थाहा नभएको कुरा, अहिले चलचित्र क्षेत्रमा निकै रुचाइएका कलाकार विपीन कार्की अर्जुनका सहोदर भाइ हुन् ।

अहिले भाइको सफलतामा अर्जुन निकै खुसी छन् । उनी भन्छन्, ‘म आफैँ नै विपीनको फ्यान हुँ, उसको सफलतामा खुसी नहुने त कुरै भएन नि ।’

तर, भाइ विपीन कार्कीको सफलता देखेर दंग परिरहे पनि दाजु अर्जुनचाहिँ चलचित्र लाइन छाडेर होटल व्यवसायतिर लागेका छन् । उनले आफूलाई भाइको नामबाट चिनाउनुपर्ने अवस्था आएको छ । हामीले सोध्यौं, ‘चलचित्रमा काम गरिरहेको मान्छे, किन होटल व्यवसायतिर ?’

‘बजार’ चलचित्रको असफलतापछि अर्जुन तर्सिएका रहेछन् । सँगै रिलिज भएको लुट जस्तो चलचित्रको दबदबा बढेको ठानेपछि उनले चलचित्रमा काम गर्नै छाडिदिएको बताए ।

कार्कीले अनलाइनखबरसँग भने, ‘मेरो अन्तिम चलचित्र ‘बजार’ सँगै, एउटै मितिमा लुट रिलिज भएको थियो । लुटपछि चलचित्र क्षेत्रले नै नयाँ मोड लियो । त्यसपछि मलाई काम गर्ने मुड भएन र यतातिर लागें ।’

चलचित्र र होटल व्यवसायको कुरा गर्दागर्दै सुरु भयो सगरमाथा आरोहणको कथा ।

‘सगरमाथा चढ्दा झण्डै ज्यान गयो’

जब अर्जुनले चलचित्रमा काम गर्दिनँ भन्ने सोच राखे, त्योसँगै उनको दिमागमा अर्को सोच आयो– सगरमाथा चढ्ने ।

केही समय पहिलादेखि नै अर्जुनले सगरमाथा चढ्ने रहर पालेका थिए । उनले पशुपतिनाथको मन्दिरमा दर्शन गरेर आफ्नो यात्रा तय गरे । काठमाडौंबाट सगरमाथा बेस क्याम्पसम्म पुगे ।

अर्जुनसँग सगरमाथा चढ्दाको रमाइलो अनुभव रहेछ ।

सगरमाथा चढ्न जानेबेला श्रीमतीको पेटमा ८ महिनाको बच्चा थियो । जब अर्जुन तेस्रो बेसक्याम्पमा पुगे, उनले छोरो जन्मेको खबर सुने ।

‘माथि जाँदै गर्दा हामी एकठाउँमा ३ घण्टा बस्नुपर्ने हुन्थ्यो । तर, मौसम अनकुल नभएकाले एकै ठाउँमा ३० घण्टा बस्नुपर्‍यो’, अर्जुन सम्झन्छन्, ‘धेरै समय एकै ठाउँमा बस्नु परेपछि खुट्टाका आंैला गए ।’

सगरमाथाको चुचुरोमा पुगेपछि उनलाई केही नयाँ काम गर्ने इच्छा भयो । त्यहाँ उनले शीर्षासन गरे ।

अर्जुनले सगरमाथाको चुचुरोमा नेपाल कलाकार संघको झण्डा पनि पुर्‍याए । आफू बसेर काम गरेको क्षेत्रको माया भएको उनी सुनाउँछन् । भन्छन्, ‘मलाई यही क्षेत्रले नाम दिएको थियो । त्यसैले यसको सम्मानमा झण्डा त्यहाँ पुर्‍याएँ ।’

सगरमाथाको चुचुरोमा पुग्दा धेरै नयाँ कुराको अनुभव गर्न पाएको बताउँदै उनी भन्छन्, ‘माथि पुगेपछि त आकाश तल कराउँछ । बादल पनि आफूभन्दा तल छ । चन्द्रमा त आफ्नै नजिक छ जस्तो देखिन्छ । त्यो सब बिल्कुलै नयाँ अनुभव थियो ।’

पानी पोखिँदा स्टिक हुने, थुक्दा थुक नै आइसको डल्लो बन्ने उनले सुनाए ।

सगरमाथाको चुचुरोमा पुग्ने रहर पूरा भएपछि उनी तल फर्किने तयारीमा थिए । गाइड अगाडि लागे । अर्जुन उनलाई पछ्याउँदै झरे । जब अर्जुन ‘डेथ जोन’ मा आइपुगे, त्यहाँ उनको अक्सिजन सकियो । तनाव भयो । गाइड पनि अगाडि गइसकेकाले उनमा झनै डर सुरु भयो । छेउमा लासहरु देख्दा उनको मन ठीक ठाउँमा थिएन । सोचे, ‘अब म अब यहीँ मर्छु होला ।’

उनलाई होस थियो । अब लडेरै भए पनि गाइड भएको ठाउँसम्म पुग्छु भन्ने भयो । उनी गाम्राङ गुम्रुङ तल झरे । तर, गाइडलाई भेटेनन् ।

उनी सम्झन्छन्, ‘गाइडलाई नभेटेपछि सिथिल भएर हिउँमा लडिरहेको थिएँ । मलाई दुई/तीनजनाले नाघेर गए ।’

तर, चौथो व्यक्तिले अर्जुनलाई सहयोग गरे । उनले अर्जुनलाई अक्सिजन दिए । उनी भन्छन्, ‘बाँच्नका लागि कति संघर्ष र दुःख गर्नुपर्छ, मैले त्यहाँ थाहा पाएँ ।’

जब उनी बेसक्याम्पमा आइपुगे, ठूलो स्वास लिए र मनमनै भने, ‘सगरमाथा चढें र बाचेँ पनि ।’

चलचित्रको कथा

अर्जुनलाई चलचित्र क्षेत्रमा बाल्यकालदेखि नै रुचि थियो । तर, हिरो बन्छु भन्ने थिएन ।

सानैदेखि खेलमा रुचि राख्ने अर्जुन मार्सल आर्टका खेलाडी थिए । सानै उमेरबाट उनी मार्सल आर्ट सिकिरहेका थिए । एक दिन अभ्यास गर्नका लागि उनी भृकुटीमण्डपमा पुगे । त्यहाँ द्वन्द्व निर्देशक राम जनकसँग भयो ।

अर्जुनको अभ्यास हेरिरहेका राम जनकले छेउमा आएर सोधे, ‘तिमी त चलचित्रमा काम गर्नुपर्ने मान्छे रहेछौँ । काम गर्छौ त ?’ चलचित्रमा प्रवेश पाउने आधार खोजिरहेका उनले हुन्छ भनिदिए ।

के गर्नुपर्ने भन्नेमा अर्जुन अनभिज्ञ थिए । उनले पछि थाहा पाए कि उनले त स्टण्ट ब्वाइको काम गर्नुपर्ने रहेछ । उनले पहिलोपटक नवल खड्काको डमी भएर चलचित्र ‘तिम्रो लागि’ मा काम गरे ।

अर्जुनले १२ वर्षसम्म स्टण्ट ब्वाइ र फाइटर बनेर काम गरे । त्यो समय कालमा उनले राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, सुशील क्षेत्रीसम्मको डुप्लिकेट गरे ।

१२ वर्षसम्म फाइटर बनेर काम गर्दा उनले केही चलचित्रमा सहायक द्वन्द्व निर्देशक भएर काम गरिसकेका थिए । यस्तैमा, उनलाई निर्देशक मनोज पण्डितले हैसला दिए र आफ्नो चलचित्र ‘लक्ष्य’को द्वन्द्व निर्देशक बनाए ।

चलचित्रमा द्वन्द्व कलाकार भएर काम गरिरहँदा उनलाई हिरो बन भनेर सुझाउने धेरै थिए । तर, उनलाई आफू हिरो हुन्छु भन्ने अझै लागेको थिएन । उनलाई अरुले फुर्काउन भनेको जस्तो लाग्थ्यो ।

तर, ‘जंगली मान्छे’ मा उनलाई चलचित्रको हिरो बन्ने अफर आयो, उनले नाइँ भन्न सकेनन् । जंगली मान्छे सफल भयो । उक्त चलचित्र पश्चात् ‘पछाडि फर्केर हेर्नु नपरेको’ बताउँदै उनी बताउँछन् ।

अर्जुनले पाएको दोस्रो चलचित्र दिदीभाइ थियो । त्यसले पनि उनलाई थप चर्चामा ल्यायो । तेस्रो चलचित्र ‘हाम्रो मिलन कहिले हुन्छ’ ले पनि आफ्नो करिअरमा महत्वपूर्ण भूमिका खेलेको अर्जुन बताउँछन् ।

अझै ‘कमब्याक’ को रहर

बजार चलचित्रको असफलतापछि तर्सिएका अर्जुन अहिले भने कमब्याक हुने रहर गरिरहेका छन् ।

आफूले उर्जाशील समय खर्चिएको यस क्षेत्रमा उनलाई पुनः काम गर्ने इच्छा जागेको छ । उनी भन्छन्, ‘यस क्षेत्रलाई मैले धेरै नै मिस गरिरहेको छु । सायद म छिट्टै कमब्याक हुनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment