Comments Add Comment

गोर्खा सैनिकमाथिको विभेदविरुद्ध गेसोद्धारा आन्दोलन घोषणा

गोर्खा सैनिकप्रति बेलायत सरकार झन् अनुदार भएको जिकिर

११ चैत, काठमाडौं । गोरखा सैनिकमाथिको बेलायती विभेदविरुद्ध गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपाल र बेलायत दुवैतिर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

गेसोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

बेलायती रक्षामन्त्रीको हालैको नेपाल भ्रमणका क्रममा नेपाल र बेलायतबीच दुई पक्षीय सहमतिका आधारमा आफ्ना २१ मध्ये दुईवटामात्रै माग आंशिक पूरा भएको भन्दै गेसोले अब गोर्खाहरुको समेत सहभागितामा त्रिपक्षीय सहमति हुनुपर्ने अडान अघि सारेको छ ।

गेसो अध्यक्ष कृष्णकुमार राईले बेलायत सरकार गोर्खाहरुप्रति अझ बढी अनुदार र विभेदकारी रुपमा प्रस्तुत भएकाले आन्दोलनको विकल्प नरहेको बताए । गेसोको मागबमोजिम भूपू गोरखाको पेन्सन भारतीय रिजर्भ बैंकको साटो नेपाल राष्ट्र वैंकमा पठाउने र नेपालमै बेलायत सरहको स्तरीय स्वास्थ्य सुविधा दिनेबाहेक अन्य मुख्य माग पन्छाउन खोजेको राईले बताए ।

आन्दोलनका कार्यक्रम अन्तर्गत बेलायती प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, बेलायतका प्रधानमन्त्रीको कार्यालय अगाडि प्रदर्शन गर्ने, बेलायती सांसदहरुसँग माग सम्बोधनका लागि बहस गर्ने र बेलायतका प्रमुख शहरहरुमा सभाहरु गरिने राईले जानकारी दिए ।

जुन १ सम्म माग सम्बोधन नभए थप सशक्त आन्दोलनको घोषणा पत्र पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपालमा पनि प्रधानमन्त्री लगायत सरोकारवालामार्फत ध्यानाकर्षण गराउने कार्यक्रम गेसोले राखेको छ ।

गेसोले गोर्खालीलाई अधिकार सहितको दोहोरो नागरिकता, समान पेन्सन, गोर्खा फौजका सन्तानलाई विना शर्त र विनाशुल्क आवासीय भिसा, बिधवाहरुलाई आजिवन तलब, युद्धपीडितलाई क्षतिपूर्ति लगायतका २१ वटा माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment