Comments Add Comment

अख्तियारमा छलफल : किन पाइँदैन काठमाडौंमा ग्यास ?

Gas Line (5)१३ मंसिर, काठमाडौं । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा समेत आइरहेका छन् । तैपनि उपत्यकाका सर्वसाधारणले अहिलेसम्म ग्यास पाउन सकेका छैनन् । आखिर किन नपाइएको होला काठमाडौंमा ग्यास ?

यसबारे आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा सरकारी अधिकारीहरुवीच छलफल भएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाको गुनासो छ, ग्यास डीपो आफैंले २०/२५ वटासम्म सिलिण्डरहरु नक्कली नाममा राख्ने गरेका छन् । यसले गर्दा सर्वसाधारण जनताले अहिलेसम्म ग्यास पाउन सकेका छैनन् ।

ग्यासमा हुने कालोबजारी नियन्त्रणका लागि ‘बिग हाउस’हरुमा छापा मार्नुपर्ने प्रजिअ कोइरालाको सुझाव छ ।

अहिले निजी क्षेत्रले पनि तेल किन्न पाइरहेकाले उनीहरुले त्यस्तो तेल नबेच्दा र आफैंले प्रयोग गर्दासम्म कारवाही गर्न सकिने प्रजिअ कोइरालाको भनाइ छ ।

५० लिटरभन्दा बढी तेल ल्याउन पाइन्न : एसएसपी थापा

काठमाडौंका प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले भने निजी प्रयोजनका लागि थानकोट र फर्पिङबाट ५० लिटरसम्म मात्रै तेल ल्याउने अनुमति दिइएको स्पष्ट पारे ।

तर, सरकारले तेल नदिएपछि आफूहरुले ५/६ सय लिटरसम्म किन्न पाउनुपर्ने जनस्तरबाट आवाज उठिरहेको थापाले जानकारी गराए ।

अख्तियारको छलफलमा थापाले भने- ‘यस्तो अवस्थालाई संयोजन गर्न सरकारी तहमा एउटा समन्वय समिति जरुरी भयो, नत्र विवाद हुने खतरा छ ।’

तेल धनी छैन र बेबारिसे अवस्थामा ल्याउन लागिएको पाइए त्यस्तालाई कारवाही हुने थापाले जानकारी दिए ।

सरकारी निकायवीच समन्वय भएन : प्रजिअ अर्याल

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले कालोबजारी नियन्त्रण हुन नसकेको स्वीकार गर्दै सरकारका निकायहरुवीच आपसमा तालमेल हुन नसक्दा कालोबजारी नियन्त्रणमा कठिनाइ भइहरहेको बताए ।

‘सरकारका निकायवीच आपसमा संयोजन र सूचनाको आदान-प्रदानमा हुन सकेको छैन,’ उनले भने ।

नाकाबन्दीको निहुँ बनाएर राजधानीमा कालोबजारी मौलाउँदै गएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरोकारवाला सरकारी निकायलाई बोलाएर आइतबार ध्यानाकर्षण गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment