Comments Add Comment

मानव बेचबिखनको अभियोगमा रुपन्देहीबाट महिला पक्राऊ

KI-Nepal,-Belahiya-Rupandeh

सलमान खान
१५ मंसिर, भैरहवा । रुपन्देहीको सीमानाका बेलहियाबाट मानव बेचबिखनको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । चितवनको शिवनगर गाविस २ की शोभा सुनार पक्राउ परेकी हुन् ।

चितवन र नवलपरासीका ३ जना किशोरीलाई राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर भारत लैजान लागेको अवस्थामा उनलाई बेलहिया नाकाबाट केआई नेपालले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको हो ।

२६ वर्षीया शोभाले नवलपरासी गैंडाकोटकी १७ वर्षीया सरीता सुनार, नवलपरासी कलुवाकी १८ वर्षीया गीता कुमाल र चितवन रत्ननगरकी १८ वर्षीया सुनिता मगरलाई भारत लैजान सीमा पार गराउने क्रममा उनीलाई नियन्त्रणमा लिइएको मानव बेचबिखनविरुद्ध कार्यरत केआई नेपाल रुपन्देहीकी ईन्चार्ज तारा सापकोटाले जानकारी दिइन् ।

‘परामर्शको सुरुमा बेचिन सक्ने आशंकामा किशोरीहरुलाई रोक्यौं,’ ईन्चार्ज सापकोटाले अनलाइनखबरसँग भनिन्, ‘शोभालाई थप केरकार गर्दै जाँदा किशोरीहरुलाई देहब्यापारमा लगाउने उद्देश्यले लैजान लागेको खुल्यो ।’

अनुसन्धान तथा सोधपुछ गर्दा आफूले किशोरीहरुलाई ऋषिकेशसम्म पुर्‍याउने र त्यती गरेबापत प्रति किशोरी २५ देखि ३० हजार रुपैयाँसम्म पाउने गरेको शोभाले प्रहरी बयानमा स्विकार गरेको इन्चार्ज सापकोटाले बताइन् ।

शोभाले ति किशोरीहरुलाई भारतको ऋषिकेश भन्ने धार्मिक स्थानमा लगेर राम्रो जागीर लगाइदिने आश्वासन दिएकी थिइन् । शोभा बिगत दुई बर्षदेखि भारतको ऋषिकेशमा बस्ने गरेकी छिन् ।

किशोरीहरुको जाहेरी पछि शोभालाई जिल्ला अदालत रुपन्देहीमा मानव बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment